भक्तपुर, १२ असारः सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त घोषणा अभियान सुरु भएको छ । आज सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले सूर्यविनायक-७ गुण्डुलाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरी प्रमाणपत्र प्रदान गर्दै पूरै नगरलाई बालमैत्री स्थानीय शासनयुक्त घोषणा गर्ने अभियान आजदेखि सुरु भएको जानकारी दिनुभयो ।
सरकारले तयार पारेको बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका, २०७८ ले तय गरेको ५१ सूचक पूरा गरेसँगै नगरपालिकाले यहाँका प्रत्येक वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा अभियान आजदेखि सुरु गरेको नगरप्रमुख थापाले बताउनुभयो । यही साताभित्र नगरपालिकाको १० वटै वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा अभियान पूरा गर्ने जनाउँदै उहाँले नगरपालिकाले प्रत्येक वडामा बालसञ्जाल गठन गरी ५१ वटा सूचक पूरा गरेको उल्लेख गर्नुभयो ।
नगरप्रमुख थापाले सूर्यविनायकका सबै वडा घोषणा सम्पन्न गरी बागमती प्रदेशको अनुगमन एवं निरीक्षण सम्पन्न गरेपछि आगामी भदौभित्र नगरपालिकालाई पनि बालमैत्री स्थानीय शासनयुक्त पालिका घोषणा गर्ने बताउनुभयो ।
नगरपालिकाका सामाजिक विकास समितिका संयोजक एवं वडा नं ७ का वडाध्यक्ष रवीन्द्र सापकोटाले आज वडा नं ७ गुण्डुलाई बालमैत्री स्थानीय शासनयुक्त घोषणा गरिएको बताउँदै बालबालिकाद्वारा विभिन्न प्रस्तुतिसमेत प्रस्तुत गरेका उल्लेख गर्नुभयो ।
उक्त शासन अभियान घोषणा गर्नका लागि आवश्यक सूचकहरूमध्ये बालविवाह, बालश्रम, हिंसा पूर्ण रूपमा निषेधित हुनुपर्ने, सबै बालबालिकाको जन्मदर्ता, विद्यालय भर्ना र गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच सुनिश्चित हुनुपर्ने प्रावधान सबै वडाले पूरा गर्नुपर्ने उहाँले जानकारी दिनुभयो ।
‘बाल बचाउ’ शीर्षकमा पूरा गर्नुपर्ने १४ वटा सूचकमा गर्भवतीले सातपटक स्वास्थ्य जाँच गराएको हुनुपर्ने, धनुष्टङ्कार (टिटानस)विरुद्धको खोप र आइरन चक्की खाएको हुनुपर्ने, दक्ष स्वास्थ्यकर्मीबाट सुरक्षित सुत्केरी गराएको हुनुपर्ने, बालबालिकालाई पूर्णखोप लगाएको हुनुपर्नेलगायत रहेका उहाँले जानकारी दिनुभयो ।
‘बाल संरक्षण’का १० वटा सूचकमध्ये बालविवाह पूर्ण रूपमा निषेध हुनुपर्ने, बालश्रममुक्त वडा हुनुपर्ने, बालबालिकाविरुद्ध हुने शारीरिक, मानसिक वा यौनजन्य हिंसा र दुव्र्यवहार पूर्ण रूपमा रोकिएको हुनुपर्ने, सडक बालबालिका वा बेवारिसे अवस्थामा रहेका बालबालिकाको संरक्षण र पुनःस्थापना भएको हुनुपर्नेलगायत प्रावधान तोकिएको नगरका प्रवक्तासमेत रहनुभएका सापकोटाले बताउनुभयो ।
बाल विकासकाबारेमा छ वटा सूचक जन्मिएका सबै बालबालिकाको जन्मदर्ता हुनुपर्ने, विद्यालय जाने उमेरका सबै बालबालिको विद्यालय भर्ना हुनुपर्ने, विद्यालय र समुदायमा बालमैत्री तथा लैङ्गिकमैत्री (छात्राका लागि छुट्टै) शौचालय र स्वच्छ खानेपानीको व्यवस्था हुनुपर्ने, टोल, विद्यालय र वडास्तरमा बाल क्लब तथा बाल सञ्जाल गठन भई सक्रिय हुनुपर्ने, स्थानीय तहको योजना तर्जुमा प्रक्रियामा बालबालिकाको अर्थपूर्ण सहभागिता हुनुपर्ने व्यवस्थासमेत सबै वडाले पूरा गरेको उहाँले बताउनुभयो ।
बालबालिकाका क्षेत्रमा लक्षित बजेट व्यबस्था हुनुपर्ने, सबै कार्यालय बालमैत्री र अपाङ्गतामैत्री हुनुपर्ने, विपद् व्यवस्थापन योजनामा बालबालिकाको सुरक्षा र आवश्यकतालाई प्राथमिकता दिइएको छ । कार्यक्रममा जिल्ला समन्वय समितिका कार्यवाहक सभापति सुजाता बाडे, वडा नं २ का वडाध्यक्ष प्रदीप कार्कीले नगरपालिकाले सरकारको अभियानलाई पूरा गरेको बताउनुभयो ।
कार्यक्रममा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा अभियानमा सहयोग पुर्याउने वडा बाल सञ्जाल नगर बाल सञ्जाल, विद्यालय, स्वास्थ संस्था स्वयंसेविका, खानेपानी समिति, रेडक्रस, सहकारी संस्था, सांस्कृतिक समूहहरूलाई कार्यक्रममा कदरपत्र प्रदान गरिएको थियो ।
सूचकमध्ये अधिकांशमा ९५ देखि १०० प्रतिशतसम्मको प्रगति हासिल गरेकाले सूर्यविनायकका १० वटा वडालाई औपचारिक रूपमा ‘बालमैत्री स्थानीय शासनयुक्त वडा’ घोषणा गरेको हो । सूर्यविनायक नगरपालिकाले विगत वर्षदेखि हालसम्म प्रत्येक वडालाई रु १० लाखका दरले रु एक करोड र नगरपालिका रु ७० लाख गरी कुल एक करोड ७० लाख बजेटको व्यवस्था गरी घोषणा अभियान सुरु गरेको हो ।
फ्रन्टलाइननेपाल डट कम नेपालको समसामयिक समाचार, मनोरञ्जन, साहित्य र समाजका विविध आवाजहरू निष्पक्ष र पूर्वाग्रराहित रुपमा प्रस्तुत गर्ने डिजिटल संचार माध्यम हो । हामी सत्य, सन्तुलन र संवेदनासहितका कथाहरू पाठकमाझ ल्याउने प्रतिबद्धता व्यक्त गर्दछौं ।














