काठमाडौँ, ३१ असारः नेपाल पर्यटन बोर्डको सञ्चालक समितिमा खुला प्रतिस्पर्धामार्फत मङ्गलबार पाँच जना सदस्य नियुक्त भएका छन् ।नियुक्त हुने सदस्यमा खुमबहादुर सुवेदी, सन्तोष पोखरेल, श्रीजना केसी, पेम्बा शेर्पा र डा शोभिता श्रेष्ठ ढकाल हुनुहुन्छ । पर्यटन ऐन र प्रचलित कानुनी व्यवस्थाअनुसार गठन गरिएको बोर्ड सदस्य छनोट समितिले खुला आवेदनबाट प्राप्त निवेदनको मूल्याङ्कन गरी उहाँहरुलाई नियुक्त गरिएको हो ।
बोर्ड सदस्यका लागि देशभरबाट एक हजार १०० वटा आवेदन परेको थियो । आवेदकको योग्यता, अनुभव, पर्यटन क्षेत्रमा गरेको योगदान, नेतृत्व क्षमता र समग्र दक्षताका आधारमा छनोट गरिएको बोर्डले जनाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार पर्यटन क्षेत्रको नीति निर्माण, गन्तव्य प्रवद्र्धन, लगानी आकर्षण र सार्वजनिक–निजी साझेदारीलाई मजबुत बनाउन खुला र पारदर्शी प्रक्रियाबाट सदस्य चयन गरिएको हो ।
बोर्डले नवनियुक्त सदस्यको अनुभव र नेतृत्वले नेपालको पर्यटन क्षेत्रको दिगो विकास, अन्तरराष्ट्रिय प्रवद्र्धन र निजी क्षेत्रसँगको सहकार्य विस्तारमा सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ ।
फ्रन्टलाइननेपाल डट कम नेपालको समसामयिक समाचार, मनोरञ्जन, साहित्य र समाजका विविध आवाजहरू निष्पक्ष र पूर्वाग्रराहित रुपमा प्रस्तुत गर्ने डिजिटल संचार माध्यम हो । हामी सत्य, सन्तुलन र संवेदनासहितका कथाहरू पाठकमाझ ल्याउने प्रतिबद्धता व्यक्त गर्दछौं ।
















