विराटनगर, १३ साउनः कोशी प्रदेश सरकारले सुनसरीको देवानगञ्जमा भएको घटनाका मृतकका परिवारलाई रु दुई लाख प्रदान गर्ने घोषणा गरेको छ ।
सरकारले घर, पसल अन्य आगजानी भएका परिवार तथा घाइतेलाई प्रतिपरिवार रु ५० हजारका दरले राहत उपलब्ध गराउने निर्णय गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार विक्रम लुइँटेलले जानकारी दिनुभयो ।
कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज आयोजना गर्नुभएको सर्वपक्षीय बैठकले उक्त निर्णय गरेको हो ।
गत आइतबार राति भएको घटनापछि उत्पन्न परिस्थितिलाई ध्यान दिँदै बैठकले सामाजिक सद्भाव, शान्ति सुरक्षा कायम गर्ने सन्दर्भमा आठ बुँदे निर्णय पनि गरेको छ ।
बैठकले घटनामा मृत्यु भएका ओमप्रकाश मेहताप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
सामाजिक सद्भाव र साम्प्रदायिक एकता कायम गर्न राजनीतिक, सामाजिक तथा प्रशासनिक पक्षले समन्वयात्मक पहल गर्ने, पालिका तहमा सर्वदलीय तथा सर्वपक्षीय बैठक आयोजना गरी समाजिक सद्भावका कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको छ ।
यस्तै, सामुदायिक तहमा मेलमिलाप र सद्भाव कायम गर्न स्थानीय प्रशासनसँग समन्वय गरी सद्भाव यात्रा, सबै धार्मिक समुदायका सङ्घ–संस्थाले संयुक्त अपिल गर्ने तथा समन्वय र सहजीकरणमा भूमिका खेल्ने तथा सीमाक्षेत्रबाट हुन सक्ने अवाञ्छित गतिविधिप्रति सुरक्षा सतर्कता अपनाउने निर्णय गरेको थियो ।
बैठकले घाइतेको उपचार र मृतकका परिवारलाई राहत उपलब्ध गराउन सङ्घीय सरकारसँग अनुरोध गर्ने निर्णय पनि गरेको छ ।
यसैगरी, घटना प्रभावित जिल्ला तथा आसपासका क्षेत्रमा यस्ता घटना दोहोरिन नदिन सुरक्षा व्यवस्थापन प्रभावकारी बनाउन सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई आवश्यक समन्वय गर्न आग्रह गरिएको छ ।
बैठकमा मुख्यमन्त्री कार्कीले सम्पूर्णले सामाजिक सद्भाव कायम गर्नका लागि भूमिका खेल्नुपर्ने बताउनुभएको थियो ।
सर्वपक्षीय बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदेश अध्यक्ष चन्द्रबहादुर राई, नेपाली कांग्रेसका प्रदेश सभापति उद्धव थापा, नेकपा (एमाले)का प्रदेश अध्यक्ष घनश्याम खतिवडालगायत विभिन्न राजनीतिक दलका प्रतिनिधि एवं प्रदेश तरका सुरक्षा निकायका प्रमुख र उच्चपदस्थ कर्मचारीको सहभागिता थियो ।
फ्रन्टलाइननेपाल डट कम नेपालको समसामयिक समाचार, मनोरञ्जन, साहित्य र समाजका विविध आवाजहरू निष्पक्ष र पूर्वाग्रराहित रुपमा प्रस्तुत गर्ने डिजिटल संचार माध्यम हो । हामी सत्य, सन्तुलन र संवेदनासहितका कथाहरू पाठकमाझ ल्याउने प्रतिबद्धता व्यक्त गर्दछौं ।
















