भक्तपुर, २२ साउन । मध्यपुर थिमि नगरपालिकाले चारवर्षको अन्तरालमा आन्तरिक राजस्व संकलनतर्फ ९३.३९ प्रतिशतले बृद्धि गरेको छ । शुक्रबार क्रियाशिल पत्रकार मञ्च भक्तपुरले मध्यपुरथिमिमा आयोजना गरेको मध्यपुरथिमि नगरपालिकाको चारवर्षे विकास र उपलब्धिबारे सञ्चारकर्मीहरुसँग अन्तरक्रिया गर्दै नगर प्रमुख सुरेन्द्र श्रेष्ठले कुनै करमा बृद्धि नगरी तीन गुणा राजस्व संकलनमा बृद्धि गर्न सफल भएको बताए ।
नगर प्रमुख श्रेष्ठले नगरपालिकाले आर्थिक वर्ष २०८२÷८३ मा ५२ करोड ५६ लाख १ हजार ४ सय २७ रुपैयाँ आन्तरिक राजस्व संकलन गरेको बताउँदै अघिल्लो आर्थिक वर्ष २०८१÷८२ मा संकलन भएको २७ करोड १७ लाख ५८ हजार ५८५ रुपैयाँ अर्थात १९.९३ प्रतिशतको तुलनामा गत असार मसान्तसम्म ९३.३९ प्रतिशतले बृद्धि गरेको बताए ।
श्रेष्ठले आर्थिक वर्ष २०७८÷७९ मा १८ करोड ४५ लाख ९४ हजार ६६७ रुपैयाँ, आर्थिक वर्ष २०७९÷८० मा २४ करोड १३ लाख ३८ हजार ७४८ अथात ३०.७४ प्रतिशतले बृद्धि, आर्थिक वर्ष २०८०÷८१ मा ३० करोड ०४ लाख ४४ हजार ५६५ अर्थात २४.३९ प्रतिशत राजस्व संकलन गरेको बताए ।
आवासीय घरबहाल कर १० प्रतिशतबाट ५ प्रतिशतमा घटाएको बताउँदै वर्षौंदेखि कर नतिरि बसेका ठूला व्यवसायीहरुसँग कर संकलन गर्न सफल भएको, करको दायरामा नआएका व्यवसायहरुलाई करको दायरामा ल्याएको, करको दायरा बिस्तार गर्दै करको नीतिमा सुधार ल्याउँदा फड्को मारेको बताए ।
नगर प्रमुख श्रेष्ठले संघीय सरकारले चालू आर्थिक वषएमा पूर्वाधार विकासतर्फ जम्मा ५५ लाख रुपैयाँको बजट मात्रै पठाएको बताउँदै नगरपालिकासँग ६२ करोड मौज्दात रहेको र आफ्नै आन्तरिक श्रोतबाट ३६ करोडको लागतमा नगरपालिकाको आफ्नै सुबिधा सम्पन्न भवन निर्माण सुरु गरेको बताए ।
‘हाम्रो चार वर्षे कार्यकालमा सुशासन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, पर्यटन तथा राजस्व व्यवस्थापनलगायतका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेका छौं, सीमित स्रोत–साधनका बाबजुद पारदर्शिता, जवाफदेहिता र सहभागितामूलक विकासलाई प्राथमिकतामा राखेर काम गरेका छौं ।’ नगर प्रमुख श्रेष्ठले भने ।
सामुदायिक विद्यालयको गुणस्तर सुधार, स्थानीय पाठ्यक्रम कार्यान्वयन, शिक्षक व्यवस्थापन, कक्षा १ देखि १० सम्म ४ हजार ८ सय १४ जनालाई र कक्षा ११ र १२ तफ २ सय ४ जनालाई छात्रवृत्ति वितरण गरिएको, केन्द्रीकृत भान्छाघरमार्फत कक्षा ५ सम्म करिब २ हजार ७ सय विद्यार्थीलाई दिवा खाजा उपलब्ध गराइएको जानकारी दिए ।
नगरपालिकाले स्वास्थ्यतर्फ ज्येष्ठ नागरिक, दलित, एकल महिला र अपाङ्गता भएका व्यक्तिका लागि निःशुल्क स्वास्थ्य बीमा, रेबिज तथा निमोनिया खोप, क्यान्सर परीक्षण, होमियोप्याथिक सेवा र ज्येष्ठ नागरिक स्वास्थ्य कार्यक्रम सञ्चालन गरिएको बताउदै उनले नेपाल–कोरिया मैत्री नगरपालिका अस्पतालमा डायलासिस, सिटी स्क्यान, ब्लड बैंक, आमा सुरक्षा कार्यक्रम, शल्यक्रिया तथा अन्य विशेषज्ञ सेवा विस्तार गर्दै दैनिक १२ सय विरामीलाई सेवा दिइरहेको बताए ।
कार्यक्रममा नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठले चालू आ.ब.का लागि नगरपालिकाले २ अर्ब ७१ करोडको बजेट कार्यान्वयनमा ल्याईसकेको बताउँदै शिक्षा, स्वास्थ्य र पूर्वाधारको क्षेत्रमा बजेट खर्च गरिने बताए । नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरिया मैत्री नगर अस्पतालले दैनिक १२ सय विरामीलाई सेवा दिइरहेको र निर्माण सम्पन्न हुन लागेको सुबिधा सम्पन्न नयाँ भवनमा बिशिष्टिकृत सेवा सञ्चालन गरिने, बिमा रकम नपाउँदा पनि नगरपालिकाले ७७ वटै जिल्लाबाट सेवा लिन आएका विरामीलाई सेवा प्रवाह गरिरहेको बताए ।
नगरपालिकाका प्रशासकीय प्रमुख भोजराज घिमिरेले विगत चार वर्षको बजेट कार्यान्वयनमा निकै ठूलो उपलब्धि हासिल गरेको बताउँदै जनप्रतिनिधिको अन्तिम कार्यकालको रुपमा रहेको यस वर्ष पनि जनताको चाहना र आवश्यकता अनुसार महत्वपूर्ण उपलब्धि आउने गरि काम गर्ने बताए ।
कार्यक्रमका सभापति एवं क्रियासिल पत्रकार मञ्चका अध्यक्ष रमेश गिरीले स्थानीय तहको विकासलाई जनप्रतिनिधिले जनतासँग जोडेर लैजानु पर्ने र सञ्चार माध्यमसँग स्थानीय तह एकाकार भएर जानुपर्ने बताए । कार्यक्रमका संयोजक पुष्करराज बुढाथोकीले स्थानीय तह स्थानीयवासीका लागि नजिकको सिंहदरबार भएको औल्याउँदै जनताको सहज पहुँच र स्थानीइ आवश्यकतालाई जनप्रतिनिधिले महत्व दिनुपर्ने बताए ।
फ्रन्टलाइननेपाल डट कम नेपालको समसामयिक समाचार, मनोरञ्जन, साहित्य र समाजका विविध आवाजहरू निष्पक्ष र पूर्वाग्रराहित रुपमा प्रस्तुत गर्ने डिजिटल संचार माध्यम हो । हामी सत्य, सन्तुलन र संवेदनासहितका कथाहरू पाठकमाझ ल्याउने प्रतिबद्धता व्यक्त गर्दछौं ।
















