काठमाडौं । नेपालको उद्योग, वाणिज्य तथा आपूर्ति क्षेत्र अहिले केवल प्रशासनिक व्यवस्थापनको विषय रहेन, उत्पादन क्षमता, औद्योगिक प्रतिस्पर्धा, लगानी, व्यापार सन्तुलन, आपूर्ति सुरक्षा, बजार अनुशासन र स्वदेशी अर्थतन्त्रको पुनर्संरचनासँग प्रत्यक्ष जोडिएको रणनीतिक क्षेत्र बनेको छ ।
यसै महत्वपूर्ण मन्त्रालयको नेतृत्वमा आएका ई. दीपककुमार साहको पृष्ठभूमि भने परम्परागत राजनीतिकभन्दा फरक र लामो प्राविधिक तथा आयोजना व्यवस्थापन अनुभवमा आधारित छ ।
सुनसरी जिल्लाको क्षेत्र नम्बर ४ बाट प्रतिनिधित्व गर्ने साहले त्रिभुवन विश्वविद्यालयअन्तर्गत पुल्चोक क्याम्पसबाट सन् १९९९ मा मेकानिकल इन्जिनियरिङमा स्नातक र नेपाल खुला विश्वविद्यालयबाट सन् २०२५ मा Natural Resource Development मा स्नातकोत्तर, दुवै प्रथम श्रेणीमा हासिल गरेका छन् ।
२५ वर्षभन्दा बढीको व्यावसायिक अनुभव बोकेका साहको कार्यक्षेत्र जलविद्युत्, पूर्वाधार विकास, ठेक्का व्यवस्थापन, लागत अनुमान, गुणस्तर परीक्षण तथा वातावरणीय अडिटजस्ता प्राविधिक र व्यवस्थापकीय क्षेत्रमा फैलिएको छ ।
भूकम्पपछिको पुनःनिर्माण तथा पूर्वाधार विकासमा नेतृत्वदायी भूमिका निर्वाह गरेको अनुभवले उहाँलाई आयोजना कसरी डिजाइन हुन्छ भन्ने मात्र होइन, त्यसको लागत, गुणस्तर, कार्यान्वयन र परिणामका व्यावहारिक चुनौतीसँग समेत परिचित गराएको छ ।
प्राविधिक क्षेत्रमा उत्कृष्ट कार्यसम्पादनका लागि Star Performance Award तथा छ पटक Award of Excellence प्राप्त गरेको विवरण छ । उहाँका CO₂ Fire Extinguishing System, Hydraulic System Maintenance र Bridge Crane Safety सम्बन्धी प्राविधिक प्रकाशनले पनि उहाँको प्राविधिक अभिरुचि र व्यावसायिक विशेषज्ञताको परिचय दिन्छन् ।
साहको अर्को महत्वपूर्ण पक्ष भनेको प्राविधिक ज्ञानलाई नेतृत्व र संस्थागत क्षमता विकाससँग जोड्ने अनुभव हो । मधेश क्षेत्रमा नेतृत्व विकास तथा क्षमता निर्माणका गतिविधिमा सहजकर्ताका रूपमा सक्रिय रहँदै आउनुभएका उहाँको अनुभव केवल मेसिन, आयोजना र पूर्वाधारमा सीमित छैन, मानिस, संस्था र प्रणालीको क्षमता अभिवृद्धिसँग पनि जोडिएको छ ।
यही कारणले उहाँको नयाँ जिम्मेवारीलाई एउटा इन्जिनियरले मन्त्रालय सम्हालेको सामान्य घटनाका रूपमा मात्र हेर्नुभन्दा प्राविधिक सोच, व्यवस्थापकीय अनुभव र नीतिगत नेतृत्वलाई नेपालको औद्योगिक अर्थतन्त्रसँग जोड्ने अवसरका रुपमा हेर्न सकिन्छ ।
तर, अब उहाँको वास्तविक परीक्षा विगतको अनुभवले होइन, परिणामले देखाउँनेछ । नेपालमा उद्योगको उत्पादन लागत, लगानीको वातावरण, कमजोर औद्योगिक पूर्वाधार, आयातमा उच्च निर्भरता, व्यापार घाटा, अस्थिर आपूर्ति, बजार मूल्यको उतारचढाव र उपभोक्ता हितका प्रश्न एक अर्कासँग गाँसिएका छन् । यस्तो अवस्थामा नयाँ उद्योग मन्त्रीका लागि चुनौती केवल मन्त्रालयको दैनिक प्रशासन सञ्चालन गर्नु होइन, उत्पादन बढाउने, उद्योगलाई प्रतिस्पर्धी बनाउने, आपूर्ति प्रणालीलाई पूर्वानुमानयोग्य बनाउने, निजी क्षेत्रको विश्वास बढाउने, बजारलाई अनुशासित गर्ने र स्वदेशी उत्पादनलाई अर्थतन्त्रको बलियो आधार बनाउने हो ।
विशेषगरी हालै देखिएको आपूर्ति संकटको पृष्ठभूमिमा उहाँको प्रारम्भिक कार्यसम्पादनलाई जनताले अझ नजिकबाट हेर्ने छन् । आपूर्ति व्यवस्थापनमा पूर्व तयारी कति छ, संकट आउनुअघि प्रणालीले जोखिम पहिचान गर्छ कि गर्दैन, राज्यको भण्डारण तथा वितरण संयन्त्र कति प्रभावकारी छ, बजारमा कृत्रिम अभाव र मूल्यवृद्धि कसरी नियन्त्रण हुन्छ र संकटको समयमा निर्णय कति छिटो र तथ्यमा आधारित हुन्छन् यी विषय उहाँको नेतृत्वको तत्कालीन परीक्षण बन्नेछन् ।
दीर्घकालीन रूपमा भने साहले आफ्नो प्राविधिक पृष्ठभूमिलाई औद्योगिक नीति, उत्पादन र उत्पादकत्व वृद्धि, प्रविधि हस्तान्तरण, ऊर्जा–उद्योग सम्बन्ध, गुणस्तर मापदण्ड, लगानी सहजीकरण, निर्यात प्रवद्र्धन र आपूर्ति शृंखला सुधारमा रुपान्तरण गर्न सकेमा उहाँको नियुक्तिले फरक अर्थ लिन सक्छ ।
इन्जिनियरिङले समस्या पहिचान, लागत, दक्षता र प्रणालीको भाषा बुझाउँछ, मन्त्रालयको नेतृत्वले त्यसलाई नीति, संस्था, बजार र परिणाममा रूपान्तरण गर्नुपर्ने हुन्छ ।
ई. दीपककुमार साहको अगाडिको प्रश्न छ, ‘उहाँ इन्जिनियर हुनुहुन्छ कि मन्त्री ?’ भन्ने होइन, उहाँले इन्जिनियरको प्रणालीगत सोचलाई मन्त्रीको नीतिगत नेतृत्वमा कति प्रभावकारी ढंगले रूपान्तरण गर्न सक्नु हुन्छ भन्ने हो । नेपालको उद्योग, वाणिज्य र आपूर्ति क्षेत्रमा अहिले भाषणभन्दा प्रणाली सुधार, घोषणाभन्दा कार्यान्वयन र प्रतिक्रियाभन्दा पूर्वतयारी आवश्यक छ । नयाँ मन्त्रीका लागि यो अवसर पनि हो । र, यही सबैभन्दा ठूलो चुनौति पनि ।
फ्रन्टलाइननेपाल डट कम नेपालको समसामयिक समाचार, मनोरञ्जन, साहित्य र समाजका विविध आवाजहरू निष्पक्ष र पूर्वाग्रराहित रुपमा प्रस्तुत गर्ने डिजिटल संचार माध्यम हो । हामी सत्य, सन्तुलन र संवेदनासहितका कथाहरू पाठकमाझ ल्याउने प्रतिबद्धता व्यक्त गर्दछौं ।
















