नेपालका पहिला राष्ट्रपति डाक्टर रामवरण यादवका पुत्र हुन्, प्रा.डा. चन्द्रमोहन यादव । हुन त उनको आफ्नै पहिचान छ । उनी पेशाले चिकित्सक (रेडियोलोजिस्ट) तथा प्राध्यापक हुन् । वि.सं. २०७० को संविधानसभा निर्वाचनमा धनुषा–५ बाट निर्वाचित प्रा.डा. यादव, ०८२ को चुनावपछि धनुषा ४ का प्रतिनिधि सभा बनेर संसद् प्रवेश गरेका छन् । उनले नेपाली कांग्रेसको १५ औं महाधिबेसनमा उप–सभापति पदमा उम्मेदवारी दिएका छन् । प्रा.डा. यादवसँग गरिएको कुराकानी :
१५ औं महाधिवेसनमा उप–सभापतिमा उम्मेदवारी दिनुभएको छ । तपाईंको उम्मेदवारी किन ?
मैले उप–सभापतिको पदमा, खुलातर्फ उम्मेदवारी दिएको छु । दुई–चारवटा कुरा भन्न धेरै जरुरी छ । ०३६ को जनमत संग्रहदेखि नेपाली कांग्रेसको राजनीतिमा प्रत्यक्ष, अप्रत्यक्ष रुपमै लागि रहेको छु । यही नेपाली कांग्रेसमा दुई–दुई पुस्ताको लगानी पनि भयो ।
नेपाली कांग्रेसमा यत्रो लामो यात्रा तय गर्नु, यसको सिद्धान्त, यसको त्याग, बलिदान, त्यो सबैको कहिँ न कहिँ हाम्रो योगदान छ । अब मैले किन उप–सभापतिको पदमा उम्मेदवारी दिएको भन्दाखेरि जेन्जी आन्दोलनपछि युवा पुस्ताको एउटा उभार आएको छ । म युवा पुस्तासँग काम गर्न शारीरिक रुपले र मानसिक रुपले फिट् हुन सक्छु । म सक्षम छु । उप–सभापति भनेको पार्टीको उच्च पद भयो ।त्यसमा प्रतिस्पर्धा गर्नुको मतलब हो, सिधै नीति, निर्माण तहमा मेरो विचारको प्रवेश हुन्छ ।
अहिले पार्टी र राष्ट्र दुवै कठिन अवस्थाबाट गुज्रिरहेको छ । म डाक्टर पृष्ठभूमिबाट आएको व्यक्ति हो । सत्य र निष्ठाको संस्कार स्थापना गर्न मेरो सधैँ प्रयास हुन्छ । इमानदारीता र सत्य–निष्ठाको बाटो समातेर पनि राजनीति गर्न सकिन्छ भन्ने मूल्य–मान्यता म स्थापना गर्न चाहन्छु ।
लामो राजनीतिक विरासत बोकेको परिवारबाट यहाँले प्रतिनिधित्व गर्नुहुन्छ । यहाँको पिताजी नेपालका पहिलो राष्ट्रपति हुनुहुन्छ । तपाईंले आफूलाई पहिलो राष्ट्रपतिका छोराको रुपमा चिनाउन चाहनुहुन्छ, वा आफ्नै नामले चिनिन चाहनुहुन्छ ? कुनमा बढी खुसी लाग्छ ?
पारिवारिक इतिहासको आफ्नो ठाउँमा महत्व छ । यो राष्ट्रले हाम्रो परिवारलाई एउटा मौका दियो, इज्जत दियो । सारा राष्ट्रप्रति हाम्रो सम्मान छ, त्यो आफ्नो ठाउँमा छँदैछ । पिताजीले दिनु भएको योगदान र उहाँको नामबाट मलाई पनि फाइदा हुन्छ ।
त्यो आफ्नो ठाउँमा छ । तर, पिताजीको नाउँ या परिवार, पारिवारिक विरासत छ, त्यो मात्रै लिएर अचेलको युगमा राजनीति सम्भव छैन ।
मेरो परिवारलाई देशले सम्मान दिएको छ, त्यसप्रति ठूलो गहिरो सम्मान छ, त्यो आफ्नो ठाउँमा छ । तर, मेरो व्यक्तिगत इमानदारीता, पार्टीको इतिहासलाई सम्मान गर्ने मेरो बानी छ । मेरो मिहिनेत, मेरो कर्मठता, यि सबै लिएर म हिँड्न चाहन्छु । मेरो प्रतिस्पर्धा अरु व्यक्तिसँग म ठान्दिन । मेरो प्रतिस्पर्धा मैले आफैँसँग गर्ने हो ।
अचेलको युगमा सधैँ परिवारको विरासत या या पिताजीको नाउँ लिएर राजनीति सम्भव छैन ।
मैले आफूमा विश्वास गर्छु । आफ्नो विचार, कर्मठता, मेरो इमानदारीता मेरो शक्ति हो । त्यसलाई आधार बनाएर नेपाली कांग्रेसको राजनीतिमा यात्रा तय गरेको छु । आउँदो समयमा त्यही कुराहरूलाई आधार बनाएर मैले अगाडि बढ्ने हो ।
यो महाधिवेशनमा माहोल कस्तो पाउनुभयो ? पहिला भन्दा के फरक छ ?
पहिलाको महाधिवेशन भन्दा फरक छ । खास गरेर युवाहरुको बलियो उपस्थिीति छ । माहोल बिल्कुलै फरक देखिएको छ । एउटा विषम परिस्थितिबाट राष्ट्र र पार्टी दुवै गुज्रिरहेको अवस्था छ, यस्तो बेलामा महाधिवेशनको अर्थ अझै गहिरो हुन जान्छ । खास गरेर नेपाली कांग्रेसका जति कार्यकर्ताहरू हुनुहुन्छ, उहाँहरुमा ठूलो उत्साह छ ।
जित्छु भन्ने कत्तिको लागि राख्नुभएको छ सभापति ?
मैले सबै ठाउँमा चिनाई राख्नु पर्ने अवस्था मैले देखिनँ । सबैले मेरो कुरा राम्रोसँग लिनुभएको छ । धेरै ध्यानपूर्वक सुन्नुभएको छ । त्यसले मलाई मनमा आशा जगाएको छ । प्रतिफल राम्रै होला भन्ने मलाई विश्वास छ ।
तपाईंले जित्नुभयो भने पार्टीमा कसरी अगाडि बढ्नुहुन्छ ? पार्टीभित्र नेपाली जनताका मुद्दाहरुलाई कसरी उठाउनुहुन्छ ?
हामी पार्टी भन्दा माथि उठ्नुपर्छ । चारैतिर अहिले अविश्वासको वातावरण छ, आपसी अविश्वास छ । कसरी आपसी अविश्वास कम गर्ने ? मेरो सबभन्दा ठूलो प्रयास हुनेछ ।
हाम्रो पार्टीको हराएको जो साख छ, त्यसलाई हामीले फर्काउन सक्नुपर्छ । जुन सपना बिपीले देखेका थिए, गणेशमान जी, कृष्ण प्रसाद भट्टराई, गिरिजा प्रसाद कोइराला, सुशील कोइराला, सुवर्ण शमशेरले देख्नु भएको थियो, आज उहाँहरुको सपनालाई सम्मान गर्न सकिरहेको अवस्था छैन जस्तो लाग्छ । नेपाली कांग्रेसको संगठनात्मक विभिन्न पक्षहरु छन्, त्यसमा मैले आफ्नो इमानदारीता, लगनशीलता दिएर काम गर्ने ठूलो प्रयास हुनेछ ।
देशभरिबाट कांग्रेसको १५ औं महाधिवेशनमा आउनुभएका प्रतिनिधि, नेता कार्यकर्ताहरुलाई तपाईंको सन्देश के छ ?
अहिले सबैजना एकदम सुसुचित हुनुहुन्छ । यसपाली युवाहरुको प्रबल हस्तक्षेप देखिएको छ । उहाँहरुको सुझाव छ, नेपाली कांग्रेस एउटा राष्टिय« पार्टी हो, राजनीतिमा प्रमुख भूमिका राख्दछ, राष्ट्र राजनीतिमा एउटा सबैभन्दा बलियो इतिहास भएको पार्टी हो । विभिन्न समुदायबाट, वर्गबाट उम्मेदवारी आएको छ, यही बेला सोचेर, सम्झेर मत दिनुहोला । पहिलेदेखि नेपाली कांग्रेसभित्र गुट–गुटका कुरा आइराखेका हुन्थ्यो, लामो चिट समाइन्थ्यो र त्यसैको आधारमा मतदान गर्ने चलन थियो ।
मलाई लाग्छ, उहाँहरुले चाहनुभयो भने, त्यो चलनलाई त्याग्न सक्नुहुन्छ । यो ठूलो मौका हो । जस–जसले यही व्यक्तिलाई भोट दिनुपर्छ भनेर यो चिट दिन्छ, त्यसलाई उहाँहरुले यसपाली तिरस्कार गर्नैपर्छ । यो ठूलो मौका हो । यो नेतृत्व बनाउने एउटा ठूलो अवसर हो । नेपाली कांग्रेसको नेतृत्वको राष्ट्रिय राजनीतिमै ठूलो प्रभाव हुन्छ । त्यसैले सोचेर, सम्झेर मतदानको उपयोग गर्नुहुन्छ होला भन्ने आग्रह छ ।
फ्रन्टलाइननेपाल डट कम नेपालको समसामयिक समाचार, मनोरञ्जन, साहित्य र समाजका विविध आवाजहरू निष्पक्ष र पूर्वाग्रराहित रुपमा प्रस्तुत गर्ने डिजिटल संचार माध्यम हो । हामी सत्य, सन्तुलन र संवेदनासहितका कथाहरू पाठकमाझ ल्याउने प्रतिबद्धता व्यक्त गर्दछौं ।
















