काठमाडौँ । भारत र चीनसहित चार देशका लागि प्रस्तावित राजदूतको संसदीय सुनुवाइ असोज २६ गते बिहान हुने भएको छ।
सरकारले असोज २ गते १३ देशका लागि राजदूत प्रस्ताव गरेको थियो। उनीहरूका विषयमा संसदीय सुनुवाइ गर्न संघीय संसद्को संयुक्त संसदीय सुनुवाइ समितिमा पठाएको थियो।
समितिले सबै प्रस्तावित राजदूतबारे उजुरी आह्वान गरेको थियो। उनीहरूविरुद्ध परेका उजुरी अध्ययनपछि समितिले सोमबारबाट सुनुवाइ सुरु गर्न लागेको हो।
पहिलो चरणमा चार देशका लागि प्रस्तावित राजदूतलाई बोलाइएको संसदीय सुनुवाइ समितिका सहसचिव लक्ष्मीप्रसाद गौतमले जानकारी दिएका छन्।
पहिलो चरणमा संसदीय सुनुवाइमा भारतका लागि प्रस्तावित राजदूत डा. निश्चल नाथ पाण्डे, चीनका लागि प्रस्तावित राजदूत कल्याणराज शर्मा, अमेरिकाका लागि प्रस्तावित राजदूत चिरनजंग थापा र बेलायतका लागि प्रस्तावित राजदूत गौरवशमशेर जबरालाई बोलाइएको छ।
उनीहरूको संसदीय सुनुवाइ सोमबार बिहान सवा ९ बजे हुनेछ। सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको सभाकक्षको भवन नं. १ को कोठा नं. ४११ मा संसदीय सुनुवाइ हुने जनाइएको छ।
यसअघि समितिले उजुरीकर्तासँग छलफल गर्नेछ। यसका लागि चारै प्रस्तावित राजदूतविरुद्ध उजुरीकर्तालाई पनि बोलाइएको गौतमले जानकारी दिए।
फ्रन्टलाइननेपाल डट कम नेपालको समसामयिक समाचार, मनोरञ्जन, साहित्य र समाजका विविध आवाजहरू निष्पक्ष र पूर्वाग्रराहित रुपमा प्रस्तुत गर्ने डिजिटल संचार माध्यम हो । हामी सत्य, सन्तुलन र संवेदनासहितका कथाहरू पाठकमाझ ल्याउने प्रतिबद्धता व्यक्त गर्दछौं ।
















