काठमाडौं । रसुवाको भोटेकोशी तथा ल्हेन्दे खोलामा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारहरुका लागि हेल्प नेपाल नेटवर्कले विभिन्न चरणमा आकस्मिक उद्धार तथा राहत सामग्रीहरु वितरण गरेको छ । रसुवाको गोसाइँकुण्ड गाउँपालिकाबाट विस्थापित भई हाल ललितपुरको गोदावरीमा बसोबास गरिरहेका १७ बाढी पीडित परिवारहरुलाई हेल्प नेपाल नेटवर्कले विशेष राहत प्याकेज उपलब्ध गराएको छ ।
भान्छा र खाद्यान्नका लागि १७ थान ग्याँस चुलो, प्रतिपरिवार २५ केजी चामल, १ केजी दाल, १ प्याकेट नुन, १ लिटर खानेतेल, र पर्याप्त मात्रामा चिउरा, दालमोठ, फुरनदाना, जुस तथा १६ कार्टुन बिस्कुट उपलब्ध गराएको छ । यस्तै साना बच्चाहरूका लागि पोषिलो लिटो, स्वास्थ्य र औषधि समेत प्रदान गरिएको संस्थाले जनाएको छ ।
‘१७ सेट विशेष हाइजिन किट् र अत्यावश्यक औषधिहरु उपलब्ध गराएका छौं ।’ हेल्प नेपाल नेटवर्कका ग्लोबल नेटवर्क दिला खरेलले भने ‘विस्थापितहरुको पीर, मर्का बुझेर उहाँहरुको घाउमा मल्हम लगाउन प्रयास गरेका छौं ।’ विशेष हाइजिन किट्मा मन्जन, ब्रस, सेनेटरी प्याड, नेल कटर, वाटरगार्ड, बिटाडिन, कटन रोल, स्यानिटाइजर, ट्वाइलेट पेपर वितरण गरिएको उनले बताए ।
हेल्प नेपालले रसुवाको उत्तरगया गाउँपालिकाका बाढी प्रभावित परिवारहरुलाई बाढी लगत्तै खाद्यान्न र स्वास्थ्य तथा सरसफाइ किट उपलब्ध गराएको थियो । यस्तै वालवालिका तथा वयस्कहरुका लागि कपडा र टर्चलाइट् उपलब्ध गराएको थियो ।
बाढी विस्थापितलाई सहयोगार्थ अभियानलाई थप प्रभावकारी बनाउन हेल्प नेपाल नेटवर्कको युके च्याप्टरले बाढी प्रभावित समुदायको सहयोगार्थ आर्थिक कोष संकलनका लागि ‘च्यारिटी सोलिडारिटी वाक’ समेत आयोजना गरेको थियो ।


फ्रन्टलाइननेपाल डट कम नेपालको समसामयिक समाचार, मनोरञ्जन, साहित्य र समाजका विविध आवाजहरू निष्पक्ष र पूर्वाग्रराहित रुपमा प्रस्तुत गर्ने डिजिटल संचार माध्यम हो । हामी सत्य, सन्तुलन र संवेदनासहितका कथाहरू पाठकमाझ ल्याउने प्रतिबद्धता व्यक्त गर्दछौं ।
















