काठमाडौ । विपद् व्यवस्थापन, जलवायु परिवर्तन तथा जलवायु न्याय लगायत समसामयिक विषयमा आइतबार खुला तथा अन्तरक्रियात्मक छलफल आयोजना हुँदैछ । हालै भोटेकोशी बाढी लगायत विपद्का घटनाले नेपालजस्ता जलवायु जोखिममा रहेका मुलुकहरूले जलवायु परिवर्तनको असमान प्रभावबारे छलफल तथा संवाद कार्यक्रम आयोजना हुन लागेको हो ।
बिद्यासागर फाउन्डेसनअन्तर्गत सञ्चालन हुँदै आएको ‘खुल्ला बहस’ को आइतबारको संवादमा पूर्वउपसभामुख तथा प्रतिनिधि सभा सदस्य माननीय इन्दिरा राना मगर, प्रतिनिधि सभाका सदस्य क्षितिज थेबे प्यानलिस्टका रूपमा सहभागी हुनेछन् । यस बाहेक राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष तथा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका पूर्वप्रमुख कार्यकारी अधिकृत प्रा. डा. गोविन्दराज पोखरेल, सुरक्षा, भूराजनीति, र वैदेशिक मामिलाका विश्लेषक तथा नेपाली सेनाका अवकाश प्राप्त उपरथी डा पूर्ण सिलवाल र अधिवक्ता सन्जय अधिकारी पनि वक्ताका रुपमा रहने छन् ।
हालै संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भई विश्वस्तरमा उठिरहेका जलवायु न्यायका सवालहरूलाई प्रत्यक्ष रूपमा बुझेर फर्किएकी प्रतिनिधि सभा सदस्य इन्दिरा रानामगरले अन्तर्राष्ट्रिय तहमा नेपालको जलवायु न्यायसम्बन्धी सरोकार, चुनौती र सम्भावनाबारे अनुभव तथा दृष्टिकोण प्रस्तुत गर्नेछिन् । सहरी विकास बोर्डको बैठक हलमा आयोजना हुन लागेको संवादमा प्रतिनिधि सभा सदस्य क्षितिज थेबेले नेपालको विपद् व्यवस्थापन, जलवायु जोखिम र राज्यको तयारीका विषयमा दृष्टिकोण प्रस्तुत गर्नेछन् ।
‘जलवायु परिवर्तनमा नेपालको योगदान तुलनात्मक रूपमा न्यून भए पनि यसको असर, विशेषगरी बाढी, पहिरो, हिमाली जोखिम र पूर्वाधारमा पर्ने क्षति, नेपालले असमान रूपमा बेहोर्नुपरिरहेको छ ।’ बिद्यासागर फाउन्डेसनकि संस्थापक श्वेता घिमिरेले भनिन्, ‘अन्तर्राष्ट्रिय समुदायसमक्ष जलवायु न्याय, उत्तरदायित्व, स्रोतको न्यायोचित पहुँच तथा सहकार्यको आवश्यकता अझ बलियो रूपमा उठाउनुपर्ने देखिन्छ ।’ विपद् आइसकेपछि मात्र प्रतिक्रिया जनाउनुभन्दा जोखिमको पूर्वपहिचान, पूर्वसूचना, पूर्वतयारी र स्थानीय तहसम्म प्रभावकारी उद्धार प्रणाली विकास गर्नुपर्नेमा उनले जोड दिइन् ।
जलवायु न्यायको अन्तर्राष्ट्रिय मागसँगै नेपालले आफ्नै विपद् पूर्वतयारी, तत्काल उद्धार, राहत तथा पुनःस्र्थापना, जोखिम न्यूनीकरण र विपद्–प्रतिरोधी पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्न आवश्यक रहेको आयोजक बिद्यासागर फाउन्डेसनले जोड दिएको छ ।
आइतबारको संवादमा Early Warning र Early Detection System, नियमित विपद् अभ्यास (drills), स्थानीय समुदायको क्षमता अभिवृद्धि, विपद् प्रतिरोधी पूर्वाधार, प्रविधि तथा सीप हस्तान्तरण, र विशेषगरी सीमापार सहकार्य तथा प्रविधिको आदानप्रदानका सम्भावनाबारे छलफल गरिनेछ । जलवायु तथा विपद्का जोखिम कुनै राजनीतिक सीमाभित्र सीमित नहुने भएकाले साझा जोखिमका विरुद्ध क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सहकार्य अपरिहार्य रहेको आयोजकले जनाएको छ ।
आयोजकका अनुसार यस खुला संवादको मुख्य उद्देश्य केवल समस्या पहिचान गर्नु नभई जलवायु परिवर्तनका प्रभाव न्यूनीकरण, विपद् व्यवस्थापनलाई थप प्रभावकारी बनाउने, प्रभावित नागरिकको तत्काल उद्धार तथा पुनःस्र्थापना सुनिश्चित गर्ने, विपद्–प्रतिरोधी पूर्वाधार निर्माण गर्ने र अन्तर्राष्ट्रिय स्तरमा जलवायु न्यायका लागि नेपालको आवाजलाई थप सशक्त बनाउने उपायहरूबारे ठोस निष्कर्ष निकाल्नु हो ।
बिध्यासागर फाउन्डेसनको ‘खुल्ला बहस’ ले नीति निर्माता, विज्ञ, सरोकारवाला र नागरिकबीच प्रत्यक्ष संवादमार्फत यस्ता महत्वपूर्ण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषयमा विचार आदानप्रदान र नीतिगत बहसलाई निरन्तरता दिने उद्देश्य राखेको छ ।
फ्रन्टलाइननेपाल डट कम नेपालको समसामयिक समाचार, मनोरञ्जन, साहित्य र समाजका विविध आवाजहरू निष्पक्ष र पूर्वाग्रराहित रुपमा प्रस्तुत गर्ने डिजिटल संचार माध्यम हो । हामी सत्य, सन्तुलन र संवेदनासहितका कथाहरू पाठकमाझ ल्याउने प्रतिबद्धता व्यक्त गर्दछौं ।
















