भोजपुर । इलाका प्रहरी कार्यालय दिङ्ला, भोजपुरका कार्यालय प्रमुख प्रहरी निरीक्षक (इन्स्पेक्टर) नवराज खड्का २०८३ भदौको ‘उत्कृष्ट प्रहरी’ (Police of the Month) घोषित भएका छन् ।
विभागीय मूल्य–मान्यता, आदेश तथा निर्देशनको पालना गर्दै उच्च मनोबल र व्यावसायिकताका साथ पदीय जिम्मेवारी निर्वाह गरेको मूल्याङ्कन गर्दै जिल्ला प्रहरी कार्यालय भोजपुरले खड्कालाई भदौ महिनाको उत्कृष्ट प्रहरी घोषणा गरेको हो ।
गत भदौ ११ को राती साल्पासिलिछो गाउँपालिका–५ स्थित भदौरे मेलामा ३९ वर्षीय भानुभक्त राईलाई कुटपिट गरी घटनास्थलमै हत्या गरिएको घटनामा इन्स्पेक्टर खड्काले तत्काल प्रहरी टोली परिचालन गरी अनुसन्धान तथा पक्राउ कार्यलाई प्रभावकारी बनाएका थिए । उक्त घटनामा संलग्न रहेको आरोपमा ११ जनालाई पक्राउ गरी कानुनी दायरामा ल्याउन उनले महत्वपूर्ण भूमिका निर्वाह गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
यस्तै, खड्काले कार्यालयको भौतिक तथा व्यवस्थापकीय सुधारमा समेत पहल गरेका छन् । भदौ महिनामा नयाँ सवारी पार्किङ ग्यारेज निर्माण, किचन ढलान, कार्यालय अगाडिको भाग ढलानलगायतका भौतिक संरचना व्यवस्थापन गर्नुका साथै कार्यालय परिसरको सौन्दर्यीकरणमा समेत योगदान दिएका छन् ।
स्रोत–साधन व्यवस्थापनतर्फ विपद् उद्धार सामग्रीको व्यवस्थापन तथा बहुउद्देश्यीय हलका लागि वाल फ्यानको व्यवस्था लगायतका कार्यसमेत गरेको मूल्याङ्कनमा उल्लेख छ । प्रहरी निरीक्षक खड्का नेपाल प्रहरीभित्र बौद्धिक, काबिल तथा जिम्मेवार अधिकृतका रूपमा परिचित छन् । कार्यसम्पादनमा व्यावसायिकता, निर्णय क्षमतामा परिपक्वता तथा जिम्मेवारीप्रति प्रतिबद्धताका कारण उनी सहकर्मी तथा मातहत प्रहरी कर्मचारीमाझ समेत प्रभावकारी अधिकृतका रुपमा चिनिन्छन् ।
प्रहरी सेवामा आफ्नो ज्ञान, अनुभव र सीपलाई व्यवहारमा उतार्दै संगठनको उद्देश्य प्राप्तिमा सक्रिय रहँदै आएका खड्काले अपराध अनुसन्धान, शान्ति–सुरक्षा व्यवस्थापन तथा कार्यालयको आन्तरिक व्यवस्थापनमा समेत विशेष ध्यान दिँदै आएका छन् । तत्काल निर्णय लिनुपर्ने परिस्थितिमा संयमित ढङ्गले नेतृत्व प्रदान गर्ने, प्रहरी टोलीलाई प्रभावकारी रूपमा परिचालन गर्ने तथा उपलब्ध स्रोत–साधनको उचित व्यवस्थापन गर्ने उनको कार्यशैली रहेको छ ।
अपराध नियन्त्रणसँगै प्रहरी कार्यालयको भौतिक तथा प्रशासनिक सुधारमा समेत ध्यान दिँदै परिणाममुखी प्रहरी सेवा प्रवाहलाई प्राथमिकतामा राख्ने अधिकृतका रुपमा खड्काको पहिचान बनेको छ । विभागीय नीति तथा निर्देशनअनुसार अनुशासित र व्यावसायिक ढङ्गले जिम्मेवारी निर्वाह गर्दै संगठनको लक्ष्य तथा उद्देश्य प्राप्तिमा योगदान पु¥याएवापत इन्स्पेक्टर खड्कालाई उत्कृष्ट प्रहरी छनोट गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय भोजपुरका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) ज्ञानबहादुर खड्काले उनलाई उत्कृष्ट प्रहरी छनोट भएकोमा बधाई तथा शुभकामना दिएका छन् ।
फ्रन्टलाइननेपाल डट कम नेपालको समसामयिक समाचार, मनोरञ्जन, साहित्य र समाजका विविध आवाजहरू निष्पक्ष र पूर्वाग्रराहित रुपमा प्रस्तुत गर्ने डिजिटल संचार माध्यम हो । हामी सत्य, सन्तुलन र संवेदनासहितका कथाहरू पाठकमाझ ल्याउने प्रतिबद्धता व्यक्त गर्दछौं ।
















