ब्याक टू लाइफद्वारा स्वास्थ्य सेवा कार्यालय मुगुलाई कोभिड १९ उपचार तथा व्यवस्थापन आवश्यक स्वास्थ्य सामाग्री हस्तान्तरण


  • फ्रन्टलाइन नेपाल
  • आइतवार, अशोज १०, २०७८

  • मुगु,११ अशोज । एक बिशेष समारोहबीच अन्तरराष्ट्रिय गैह्र सरकारी संस्था ब्याक टू लाइफले गमगढीस्थित स्वास्थ्य सेवा कार्यालय, मुगुलाई कोभिड १९ उपचार तथा व्यवस्थापनका लागि आवश्यक स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । १ थान पोर्टेबल एक्सरे मेसिन, १० थान बेन सर्किट्स, १ थान पोर्टेबल युएसजी मेसिन, १ थान इन्फ्युजन पम्प. १ थान सिरिन्ज पम्प, ५ थान प्यासेन्ट मोनिटर स्थानीय परियोजना साझेदार संस्था मानव अधिकार तथा वातावरण विकास केन्द्र (हेरेन्डेक नेपाल) मार्फत वितरण गरिएको हो ।

    उक्त कार्यक्रममा बोल्दै ब्याक टू लाइफका कार्यक्रम निर्देशक डिकेन्द्र ढकालले मुगु जस्तो अतिविपन्न तथा भौगोलिक कठिनाई भएको क्षेत्रको स्वास्थ्य, शिक्षा तथा समुदायमा परिवर्तन ल्याउने उद्देश्यले संचालित यस संस्थाको कार्यक्रमहरूमा बिगत १२ बर्ष देखि समन्वयकारी भूमिका खेल्ने सबैमा धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख पूर्ण बहादुर रोकाया, प्रमुख जिल्ला अधिकारी चन्द्र बहादुर शिवाकोटी, जिल्ला अस्पताल मुगुका प्रमुख ज्ञान सिंह बुढालाई ब्याक टू लाइफका कार्यक्रम निर्देशक डिकेन्द्र ढकाल, प्रशासनिक निर्देशक अच्युत पौडेल र हेरेन्डेक नेपालका अध्यक्ष राजु कार्कीले स्वास्थ्य सामाग्रीहरू हस्तान्तरण गरेका हुन् ।

    जिल्ला अस्पताल मुगुका प्रमुख ज्ञान सिंह बुढाले ब्याक टू लाइफले यसको साझेदार संस्था हेरेन्डेक नेपाल मार्फत गरेको स्वास्थ्य सामाग्री सहयोग मुगुका सर्वसाधारणको स्वास्थ्यका लागि अत्यन्तै महत्वपूर्ण भएको र योजना अनुरुपको बुस्टर सहितको अक्सिजन प्लान्ट पनि चाँडै प्राप्त हुनेमा आशा व्यक्त गरे । त्यसैगरी प्रमुख आतिथीको आशनमा आसिन प्रमुख पूर्ण बहादुर रोकायाले संस्थालाई धन्यवाद दिनुका साथै सहयोग प्राप्त गर्ने स्वास्थ्य सेवा कार्यालय, मुगु ले प्राप्त गरेका सामाग्रीहरू मुगुको सर्वसाधारणको उपचारमा उपयोग हुने अपेक्षा व्यक्त गरे ।

    जर्मन संस्था ब्याक टू लाइफले साझेदार संस्था हेरेन्डेक नेपाल मार्फत मुगु जिल्लामा स्वास्थ्य क्षेत्रमा प्रसुती गृहहरू, स्वास्थ्य शिविर, विद्यालय स्वास्थ्य कार्यक्रम, आकस्मिक उपचार सहयोगलगायतका कार्यक्रम गर्दै आएको छ । साथै ग्रामिण क्षेत्रका बालाबालिकाको शिक्षा, विशेष क्षमता भएका बालबालिकाको संरक्षण र प्रवर्धन तथा समुदायको जीवनस्तर उकास्नका लागि बिभिन्न उपलब्धिमुलक कार्यहरू पनि गर्दै आएको छ ।

    कार्यक्रमको समापन गर्दै हेरेन्डेक नेपालका अध्यक्ष तथा समाजसेवी राजु कार्कीले मुगुको समुदायका लागि गरेको योगदानका लागि ब्याक टू लाइफलाई धन्यवाद ज्ञापन गर्नुका साथै मुगुको समाजमा आवश्यक परेको सहयोगमा आफ्नो संस्था हेरेन्डेक नेपाल सधैँ अग्रपंक्तिमा रही काम गर्ने प्रतिबद्धता व्यक्त गरे । उक्त कार्यक्रमको संचालन हेरेन्डेक नेपालका कार्यक्रम प्रवन्धक नमराज रावतले गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा अपडेट