हिउँपहिराले थुनिएको बोक्सी खोला बग्न थाल्यो


  • फ्रन्टलाइन नेपाल
  • शुक्रबार, भदौ ७, २०८१

  • म्याग्दी, ७ भदौ : धौलागिरि हिमशृङ्खलाको मानापाथी हिमालबाट खसेको हिमपहिराले थुनिएको मुस्ताङको बोक्सी खोला बग्न थालेको छ । मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित मुलखर्क भन्ने ठाउँमा हिमपहिरोले थुनिएको बाक्सीखोला तीन घण्टापछि बग्न थालेको थासाङ गाउँपालिकाका अध्यक्ष प्रदीप गौचनले जानकारी दिनुभयो ।

    “आज दिउँसो करिब १ः३० बजेतिर खसेको पहिरो थुप्रिएर बोक्सी खोला थुनिदा दुई तिहाई पानीको मात्रा घटेको थियो,” उहाँले भन्नुभयो “दिउँसो ४ः३० बजेपछि खोलामा पानीको मात्रा बढेको छ । हाल तटीय क्षेत्रमा सतर्कता अपनाउन भनेका छौँ ।” खोचमा थुप्रिएको हिउँलाई खोलाको पानीले पगालेर बग्न थालेको अध्यक्ष गौचनले बताउनुभयो ।

    बोक्सी खोला हिमपहिरो खसेको ठाउँभन्दा करिब १५ किलोमिटर तल आएर कालीगण्डकी नदीमा मिसिन्छ । आसपासमा बस्ती नभए पनि बेनी–जोमसोम सडक बोक्सी खोलामा पर्दछ । गाउँपालिका अध्यक्ष गौचन, मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्त, प्रहरी नायब उपरीक्षक भोजराज पाण्डे, सशस्त्र प्रहरी, नेपाली सेनाका अधिकारी, जनप्रतिनिधि र स्थानीयवासीसहित सुरक्षाकर्मीको टोलीले पहिरो खसेको ठाउँको निरीक्षणसमेत गर्नुभएको थियो ।

    प्रमुख जिल्ला अधिकारी पन्तले तलाउ नदेखिएकाले जोखिम कम हुने अनुमान गरे पनि हिउँ पूरै नपग्लीदाँसम्म तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको बताउनुभयो । यसअघि विस २०७८ कात्तिक २८ र फागुन २१ गते थासाङ गाउँपालिका–२ कोवाङमा टुकुचे हिमालबाट आएको हिमपहिराले एक सय ५० भन्दा बढी चौरीगाई मरेका थिए । पछिल्लो पहिराबाट मानवीय र पशुधनको क्षति भने नभएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा अपडेट