खीर खाने दिन : स्रष्टा भेटघाटमा प्रधानमन्त्री


  • फ्रन्टलाइन नेपाल
  • मङ्लबार, साउन १५, २०८१

  • काठमाडौँ, १५ साउन : कृषिप्रधान नेपाली संस्कृतिअनुरूप साउन १५ को खीर खाने दिनका अवसरमा आज प्रधानमन्त्री केपी शर्मा ओलीले करिब डेढ घन्टा स्रष्टा कलाकारसँग व्यतित गर्नुभयो । नेकपा (एमाले) को साहित्य, कला तथा संस्कृति विभागद्वारा सो पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा आयोजित स्रष्टा भेटघाट कार्यक्रममा प्रधानमन्त्री ओलीले आफ्ना भूमिगतकालीन एक साथीको कृति लोकार्पण पनि गर्नुभयो ।

    प्रधानमन्त्री ओलीले साहित्यिक र प्राज्ञिक व्यक्तित्व तथा कलाकारसँग खीर खाने कार्यक्रमहित हरेक साउन १५ गतेको भेटघाटको विगतका क्रमलाई निरन्तरता दिइएकामा खुसी व्यक्त गर्नुभयो । कार्यक्रममा प्रधानमन्त्री ओलीले कवि नरेश शाक्यका कृतिहरू ‘एउटा नदीका आत्मकथ्य (कविता) र ‘जीवन अनेक घुम्तीहरूमा’ (संस्मरण) को लोकार्पण गर्नुभएको थियो । कवि शाक्य आफ्ना पुराना मित्र र जागरणका चेतयुक्त व्यक्तित्व भएकाले उहाँका रचनाबाट नयाँ पुस्ताले त्यस प्रकारको चेतना र जागरणको सन्देश पाउनसक्ने बताउनुभयो ।

    आफूले भूमिगतकालमा कालीचरण नामबाट फुटकर रुपमा कविता लेखेको तर जहाँ लेख्यो त्यहीँ छोडेर हिँड्नुपर्ने भएका कारण ती कविताहरू हाल सङ्कलनमा नरहेको सुनाउनुभयो । “पञ्चायतकालमा हामी अनेक खालको सङ्घर्षमय जीवनमा थियौँ । सचेत मानव भएर बाँच्न गाह्रो हुने अर्थात् भेँडोभन्दा माथिको चेतना हुन नपाइने खालको अवस्था थियो,” प्रधानमन्त्री ओलीले भन्नुभयो, “कवि नरेश शाक्य झापाली विचार समूहमा हामी निकट थियौँ । शाक्यले विकराल अवस्थाबाट गुज्रँदै सङ्घर्षमय जीवनमा होमिनुभयो । त्रासदीपूर्ण वातावरणको बीचमा हामीले जनतालाई जगाउनुपरेको थियो । आज मुलुकका नयाँ परिस्थितिको विकास भएको छ ।

    अब विगतका दुःख बिर्सनुस्, तपाईँका थुप्रै साथीहरू दायाँबायाँ छन् । एक्लो महसुस गर्नु पर्दैन । हामी साथमा छौँ ।” एमालेका अध्यक्ष रहनुभएका प्रधानमन्त्री ओलीले भन्नुभयो, “शाक्यजी साहसिकरूपमा अघि बढेर साहित्य रचना गर्नुस् । तपाईंको स्वास्थ्यका बारेमा पनि हामी जिम्मा लिन्छौँ । लेखिएका कृतिहरू प्रकाशनको जिम्मेवारी मेरो भयो । मेरा समकालीन साथीहरू भुवरीमा परेको म देख्न सक्दिनँ । त्यसैले आत्मविश्वासका साथ काम गर्नुस् ।” समाजमा उन्नत चेतनाको विकास, परिवर्तनको आकाङ्क्षा निर्माणका लागि लक्ष्मीप्रसाद देवकोटा, सिद्धिचरण श्रेष्ठ, रामेश, रायन, मञ्जुल, श्याम तमोट, जेबी टुहुरे आदिका रचना र गायनहरू सार्थक रहेको उल्लेख गर्नुभयो ।

    कार्यक्रममा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले शाक्यका संस्मरणले परिवर्तनका लागि भएका सङ्घर्षको अभिलेखीकरण गरेको बताउनुभयो । सो विभागका प्रमुख रघुजी पन्तले कवि नरेश शाक्यका कवितामा भावको उच्च रुप पाइने बताउनुभयो । नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति गङ्गाप्रसाद उप्रेतीले भूमिकालमा सङ्घर्षपूर्ण जीवन भोगेर कवि शाक्यले साहित्य र सामाजिक क्षेत्रमा योगदान दिएको बताउनुभयो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा अपडेट