
काठमाडौं, चैत ७ – जलवायु परिवर्तनका असरहरू दिनप्रतिदिन गहिरिँदै गइरहेका बेला यी प्रभावहरूको वैज्ञानिक जानकारीलाई आम जनसमुदायसम्म पुर्याउन सञ्चार क्षेत्रको भूमिकालाई थप प्रभावकारी बनाउनुपर्ने विज्ञहरूले बताएका छन्।
बिहीबार काठमाडौँको ठमेलमा ‘अन्तर्राष्ट्रिय हिमनदी संरक्षण वर्ष २०२५’ तथा ‘राष्ट्रिय हिमनदी, पानी तथा मौसम विज्ञान र समाजको सम्बन्ध: `हिमनदी, जलस्रोत र जलवायु प्रभावको सञ्चार´ विषयक कार्यशालामा सहभागी विज्ञहरूले जलवायु परिवर्तनका चुनौतीलाई बुझ्न र समाधानका उपाय खोज्न सञ्चार माध्यमको महत्वपूर्ण भूमिका हुने बताएका हुन्।
नेपालका हिमाली क्षेत्रमा जलवायु परिवर्तनको असर तीव्र रूपमा देखिन थालेको वैज्ञानिक अध्ययनहरूले देखाएका छन्। नेपालस्थित हिमनदीहरू हरेक वर्ष औसत २० देखि ४० मिटरसम्म पग्लिरहेको विभिन्न अनुसन्धानहरूले देखाएका छन्। जलवायु परिवर्तनकै कारण हिमाली क्षेत्रमा पानीको स्रोत सुक्दै गइरहेको छ भने बाढी, पहिरो तथा अन्य प्राकृतिक प्रकोपहरू दोहोरिने क्रम बढ्दै गएको छ।
कार्यशालामा सहभागी वैज्ञानिक तथा जलवायु विज्ञहरूले हिमनदी पग्लिनुका असरहरूबारे विस्तृत जानकारी दिएका थिए। वातावरणविद्हरूका अनुसार जलवायु परिवर्तनका असरहरू विशेष गरी हिमाली तथा पहाडी क्षेत्रका जनजीवनमा प्रत्यक्ष रूपमा परेको छ। हिउँ पग्लेर आउने पानीको स्रोत घट्दै जाँदा कृषि प्रणाली, खानेपानीको उपलब्धता, जैविक विविधता तथा मानव स्वास्थ्यमा गम्भीर असर परिरहेको छ।
कार्यशालामा वैज्ञानिक तथा सञ्चारकर्मीहरूबीचको समन्वय कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा व्यापक छलफल गरिएको थियो। वैज्ञानिकहरूका अनुसार अनुसन्धान तथा तथ्यांकलाई सरल भाषामा अनुवाद गरी जनतासमक्ष पुर्याउने कार्यमा सञ्चार माध्यमको महत्त्वपूर्ण भूमिका रहन्छ।
कार्यशालामा बोल्दै वातावरणविद् तथा जलवायु परिवर्तन विज्ञहरूले पत्रकारिताले वातावरणसम्बन्धी समाचारलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए। विज्ञहरूले जलवायु परिवर्तन सम्बन्धी समाचारहरूको गुणस्तर वृद्धि गर्न अनुसन्धानमूलक पत्रकारिता आवश्यक रहेको बताए। “सञ्चारकर्मीहरूले तथ्यमा आधारित, विस्तृत अध्ययनसहितका समाचारहरू तयार गर्न वैज्ञानिकहरूसँग सहकार्य गर्नुपर्छ,” उनीहरुको भनाइ थियो।
क्रायोस्फियर बारे स्पष्ट पार्दै काठमाडौं विश्वविद्यालयका प्रध्यापक प्रा. डा. रिजन बी. कायस्थले हिमनदीहरू जलचक्रमा महत्वपूर्ण रहेको र जलवायु परिवर्तनले तीव्र रूपमा तिनको पग्लिने दर बढाएको बताए । यस्तै के यू कै प्रोफेसर डा. मोहन पी. चन्दले हिमनदी, हिमताल, पर्माफ्रोस्ट, तथा जलवायु परिवर्तनका प्रभावहरूबारे वैज्ञानिक जानकारी प्रस्तुत गर्दै यी विषयलाई सरल भाषामा कसरी सम्प्रेषण गर्न सकिन्छ भन्नेमा जोड दिए।
यस्तै ICIMODको तर्फबाट शरद पी. जोशीले नेपाल र छिमेकी हिमाली क्षेत्रमा भइरहेका अनुसन्धान तथा जलवायु परिवर्तन न्यूनीकरणका प्रयासहरूको संक्षिप्त विवरण प्रस्तुत गरे। जहाँ मिडिया एक्सन नेपाल/टिबिलिसी स्टेट युनिभर्सिटी, जर्जियाको तर्फबाट बोल्दै लक्ष्मण दत्त पन्तले जलवायु पत्रकारिता र गलत सूचनाको प्रतिरोध बारे आफ्नो धारण राखे उनले जलवायु परिवर्तनसम्बन्धी समाचार तयार गर्दा गलत सूचनाको पहिचान र त्यसको प्रतिकार कसरी गर्न सकिन्छ भन्नेमा विशेष ध्यान दिनुपर्ने बताए।
अनुभव र ज्ञान साझेदारी सत्रमा युनेस्को प्रतिनिधि सिजल पोखरेल जलवायु परिवर्तन तथा वैज्ञानिक अध्ययनबारे सञ्चार गर्ने प्रभावकारी विधिहरूबारे अनुभव बाँडेकि थिइन् ।
कार्यक्रममा नेपालका प्रमुख सञ्चारमाध्यमका सम्पादक, पत्रकार, वातावरणविद् तथा सरकारी तथा गैरसरकारी क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। छलफलका क्रममा सहभागी सञ्चारकर्मीहरूले वातावरण तथा जलवायु परिवर्तनसम्बन्धी समाचारहरूलाई अझ प्रभावकारी बनाउने उपायहरूबारे आफ्ना धारणा राखेका थिए।
कार्यशालामा सहभागी भएका सञ्चारकर्मीहरूले जलवायु परिवर्तनसम्बन्धी समाचार तयार गर्दा वैज्ञानिकहरूसँग प्रत्यक्ष संवाद बढाउने, अनुसन्धानमूलक रिपोर्टिङलाई प्राथमिकता दिने, स्थानीय समुदायका कथाहरूलाई उजागर गर्ने तथा अन्तर्राष्ट्रिय अध्ययन तथा तथ्यांकहरूसँग तुलना गर्दै समाचारहरूलाई विश्वसनीय बनाउने सुझाव दिएका थिए।
कार्यशालाले विज्ञान, जलस्रोत तथा जलवायु परिवर्तनसम्बन्धी समाचारहरूलाई तथ्यपरक, सरल र प्रभावकारी रूपमा प्रस्तुत गर्न सञ्चारकर्मी र वैज्ञानिक समुदायबीच समन्वय बढाउनुपर्नेमा जोड दिएको छ। नेपाल जस्तो हिमाली राष्ट्रका लागि जलवायु परिवर्तन गम्भीर चुनौती बन्दै गएकाले यसको समाधान खोज्न वैज्ञानिक अनुसन्धान तथा सञ्चार क्षेत्रबीच सहकार्य अपरिहार्य रहेको कार्यशालाले निष्कर्ष निकालेको छ।