एउटै मञ्चमा ११ वटा मौलिक तीज गीत विमोचन


  • फ्रन्टलाइन नेपाल
  • आइतवार, साउन २७, २०८१

  • काठमाडौँ । नेपाली नारीहरूको महान् चाड हरितालिका तिजको अवसर पारेर ११ वटा मौलिक तिज गीत एकसाथ सार्वजनिक गरिएको छ । आइतबार राष्ट्रिय नाँचघर जमलमा आयोजित कार्यक्रममा राष्ट्रिय सांस्कृतिक संस्थानका महाप्रबन्धक किरण बाबु पुन, राष्ट्रिय लोक सञ्चारकर्मी नेपालका अध्यक्ष चन्द्रमणी गौतम, सांस्कृतिक अध्ययन तथा खोज अनुसन्धान परिषद्का अध्यक्ष बम बहादुर कार्की,राष्ट्रिय लोक सञ्चारकर्मी नेपालका संस्थापक अध्यक्ष गोविन्द गिरीलगायतले सामूहिक विमोचन गरे ।

    राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको आयोजना रहेको कार्यक्रमका महाप्रबन्धक पुनले मौलिकपनले भरिएका गीत सामूहिक रूपमा विमोचन गर्न पाउँदा खुसी लागेको बताए । साथै सांस्कृतिक पर्व तीज भन्ने बित्तिकै नारीहरू जोडिने भएकाले नारीहरूको भाव गीतमा अटाउनुपर्ने धारणा राखे । उनले सस्तो लोकप्रियता तर्फ नलाग्न सम्पूर्ण कलाकर्मीहरूलाई आग्रह गरे ।

    ‘यो एक सांस्कृतिक पर्व हो । यसलाई नयाँ पुस्तासम्म पुर्याउनका लागि चुनौती छ । अहिले सांस्कृतिक संस्थानले त्यो कुरालाई विशेष ध्यान दिएको छ । त्यसका लागि संस्थानबाट  विभिन्न कार्यक्रमहरू राखिएको छ,’ पुनले भने, ‘संगीत सेन्सरको कुरामा नियमन निकायको रूपमा सांस्कृतिक संस्थानले अधिकार पाएमा त्यसमा काम गर्ने छ । त्यसका लागी हामीले सरकार समक्ष पत्र पनि पठाइसकेका छौँ ।’

    कार्यक्रममा सार्वजनिक ११ वटा मौलिक तीज गीतमा शान्तिश्री परियारको स्वरमा काली पसम की, सूर्य खड्का र सुनिता बुढा क्षेत्रीको स्वरमा सीताका माइती, शर्मिला गुरुङ र कमला पोखरेलको स्वरमा बाबाको आँगनी, राधिका ढकाल, शारदा रसाइली र कोपिला तामाङ वाइवाको स्वरमा सारी लरक्कै, शान्ता जिसी र प्रेम सापकोटा सोनुको स्वरमा फेरी आयो तीज, खुमन अधिकारी र कल्पना पराजुलीको स्वरमा कालो कपाल पारेर फरर, उमा श्रेष्ठको स्वरमा मैदानैमा ताल, सुनिता बुढा क्षेत्रीको स्वरमा चेलीलाई माइती,  सरस्वती लामिछानेको स्वरमा सैनाले दिएको ऐना, अनिता चलाउने र खेम सेन्चुरीको स्वरमा म राम्रो कि उ राम्रो भन्देऊ र शान्तिश्री परियारको स्वरमा यसपालीको तीज रमाइलो रहेका छन् ।

    कार्यक्रममा विशिष्ट अतिथि तथा वरिष्ठ गायक सांस्कृतिक अध्ययन तथा खोज अनुसन्धान परिषद्का अध्यक्ष बम बहादुर कार्कीले पछिल्लो समय गीतमा विकृति आएको बारे निकै सुनिरहेको तर विकृति गीतमा मात्रै हैन संस्कृतिमै रहेको भन्दै आफूहरूले अध्ययन गरिरहेको बताए । 

    यस्तै वरिष्ठ गायिका तारा थापाले आजभन्दा ५३ वर्ष अगाडि गाएको गीतलाई स्मरण गर्दै अहिले आइरहेका गीतमाथि विमर्श गरिन् । यस्तै वरिष्ठ गायिका शर्मिला गुरुङले पछिल्लो समय तीज गीतका नाममा जथाभाबी प्रकारका गीत सार्वजनिक भइरहेकोमा दुःख व्यक्त  गरिन् । 

    यस्तै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानकी अध्यक्ष रीता थापा मगरले मौलिक गीतहरूलाई उद्धार गर्ने काम राष्ट्रिय लोक सञ्चारकर्मीले गरेको बताइन् । कलाकारसँगै सञ्चारकर्मीले यसरी नै आफ्नो कर्म नभुल्न अनुरोध गरिन् ।  

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा अपडेट