अपर अरुण जलविद्युत् आयोजना शीघ्र अगाडि बढाउन प्रधानमन्त्रीलाई ज्ञापनपत्र


  • फ्रन्टलाइन नेपाल
  • शनिबार, साउन १२, २०८१

  • काठमाडौँ, १२ साउनः प्रधानमन्त्री केपी शर्मा ओलीलाई अपर अरुण जलविद्युत् आयोजना आदिवासी जनजाति सल्लाहकार परिषद्ले आयोजनाको काम शीघ्र अगाडि बढाउन विभिन्न तीनबुँदे माग राख्दै ज्ञापनपत्र बुझाएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय कार्यालय च्यासलमा आज परिषद्का अध्यक्ष लादर भोटेलगायतको टोलले प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाएको हो ।

    सम्पूर्ण तयारी पूरा भई कार्यान्वयनको चरणमा प्रवेश गरेको आयोजना सङ्खुवासभा, भोटखोलावासीको भविष्यसँग जोडिएकाले आयोजनालाई शीघ्र निर्माणमा लैजान र स्थानीयवासीको माग अधिकतम सम्बोधन गर्न परिषद्ले सरकारको ध्यानाकर्षण गराइएको छ । आयोजनाको कार्यान्वयनका सन्दर्भमा अनेकन आशङ्का पैदा भएको भन्दै परिषद्ले तत्काल सार्थक प्रयास थाल्न आग्रह गर्नुका साथै आयोजनाको निर्माण नेपाल सरकारले नै गर्नु उपयुक्त हुने सुझावसमेत दिएको छ ।

    प्रभावित समुदायको पूर्वाधार, आर्थिक, सामाजिक, सांस्कृतिक तथा क्षमता विकासमा ध्यान दिन र सहज कार्यान्वयनका लागि आफूहरूको उत्तिकै साथ एवं सहयोग रहने ज्ञापनपत्रमा उल्लेख गरिएको परिषद्का अध्यक्ष लादर भोटेले जानकारी दिनुभयो । कूल एक हजार ६३ मेगावाट क्षमताको सो आयोजनामा विश्व बैङ्कले लगानीको प्रतिबद्धता जनाएको छ ।

    ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्रीले स्थानीयवासीको माग सम्बोधन गर्दै आयोजनाको सहज कार्यान्वयनका लागि सरकारले सार्थक पहल गर्ने बताउनुभएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा अपडेट