
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आपतकालीन उद्दारमा ड्रोनको प्रयोग गर्ने भएको छ । यसका लागि प्राधिकरणले नेपाल मानव रहित विमान संघ (उडान) सँग मंगलबार समझदारी पत्रमा हस्ताक्षर गरेको हो ।
समझदारीअनुसार विपद् व्यवस्थापनका पूर्वतयारीदेखि, उद्दारको तत्काल प्रतिक्रिया, राहत तथा पुनःस्थापनामा उडानले प्राधिकरणलाई आफ्नो प्रविधि, जनशक्ति तथा ड्रोन उपलब्ध गराएर आवश्यक सहयोग प्रदान गर्नेछ ।
हस्ताक्षर कार्यक्रममा बोल्दै गृहमन्त्री रमेश लेखकले प्राकृतिक तथा मानव निर्मित विपद्का घटनामा तुरुन्त प्रतिक्रिया जनाउन प्रविधि प्रयोगको आवश्यकता रहेको बताए । यसको लागि सरकार मात्र नभएर उडान जस्ता गैरसरकारी संस्थासँगको सहकार्य महत्वपूर्ण हुने बताए ।
यस्तै उडानका महासचिव प्रवीन भट्टराईले आपतकालीन अवस्थामा रियल टाइम डेटा सङ्कलन, क्षति मूल्याङ्कन तथा पहुँच विहीन क्षेत्रहरूमा सहायता पुर्याउन ड्रोन प्रविधि उपलब्ध गराउने प्रतिबद्धता जनाए । यसका लागि ड्रोन तथा ड्रोन चालक नि:शुल्क उपलब्ध गराउने उनले बताए ।

