
नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपालको पोखरामा जारी १० औं महाधिवेशनमा नयाँ नेतृत्व छनौटका लागि आज चुनाव हुँदैछ । अध्यक्षका दावेदारमध्येका एक सुमन पुरीको प्यानलबाट प्रकाश गौतमले उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । सुरुदेखी नै चुनावको पक्षमा आवाज उठाउदै आएका गौतमसँग गरिएको कुराकानी :
तपाईंले उपाध्यक्ष पदमा उम्मेदवारी दिनु भएको छ । तपाईंलाइ नै किन जिताउने ?
२०६४ देखी म राष्ट्रिय युवा संघ नेपालमा आवद्ध भएँ । युवा संघको वडा कमिटिदेखी काठमाडौं महानगर वडा नम्बर १० बाट समेत जोडिए । सातौं महाधिबेसन लहान भएको थियो, त्यसमा पनि म प्रतिनिधि थिए । ०६९ मा बुटवलमा भएको महाधिबेसनमा म निर्वाचित केन्द्रीय सदस्य हो । बिचको कालखण्डमा भुकम्पका कारण समयमै अधिबेसन हुन सकेन । त्यसबिच म बागमति प्रदेशको संस्थापक अध्यक्ष भएर पनि काम गरें ।
मलाई के लाग्छ भने आज हामी राष्ट्रिय युवा संघ नेपाल जुन अवस्थामा आई पुगेका छौं, लामो इतिहास पार गरेर आएका हौं । हिजो वाईसिएलका विकृती, बिसंगति तोड्न युथ फोर्स गठन गर्यौं । यी लगायत तमाम अवरोधहरुलाई तोड्दै यहाँसम्म आई पुग्यौं ।
मुख्य कुरा युवालाई कसरी उत्पादनमा जोड्न सकिन्छ, भन्नेमा मेरो ध्यान छ । आजका युवालाई उत्पादनमा जोड्नैपर्छ । नत्र युवा पलायन अझ बढ्छ । युवालाई उद्यमशिलतामा जोड्नैपर्छ । स्वदेशमा रोजगारीको वातावरण सिर्जना गर्नुपर्छ । युवालाई व्यवसायी बनाउने र राष्ट्रिय पुँजी निमार्ण गर्ने हाम्रो एजेन्डा हो ।
तपाईंले उठाएका एजेन्डाहरू कसरी कार्यान्वयन गर्नुहुन्छ ?
म आफू भौतिक रुपमा मुलुकका ६५ जिल्ला पुगेर त्यहाँको बस्तुस्थितीको अध्ययन गरें । लामो अनुभव हासिल गरेको छु । पेशा, व्यवसाय गर्ने तमाम युवाहरु मैले भेटेको छु । अन्य उम्मेदवार भन्दा यस विषयमा मलाई बढी अनुभव छ । यसअघि पनि मैले संगठनको उपाध्यक्ष पदमा बसेर काम गरिसकेको छु । यो विषयलाई प्रभावकारी ढंगमा म उठाउन सक्छु जस्तो लाग्छ । मैले सिकेका कुरा युवाहरुमाझ प्रयोग गर्न सक्छु भन्ने म दावी गर्छु ।
तपाईंको पार्टीमा आन्तरिक लोकतन्त्र कमजोर भयो भनिन्छ नि ?
हाम्रो संगठनमा आफ्नो विधान छ । हामीमाथि इन्चार्ज हुनुहुन्छ । पार्टीमा बिभिन्न लेयर छ । संगठनमा कुनै गुट छैन । नेताहरुको नजरमा हामी सबै बराबर छौं ।
चुनावमा सर्वसम्मत हुने चर्चा चलेको थियो । अत्यमा किन हुन सकेन ?
पार्टी अध्यक्ष तथा सम्माननीय प्रधानमन्त्री ज्यूले सकेसम्म सर्वसम्मत गर्नुहोस् नत्र स्वच्छ प्रतिष्पर्धा गर्नुस् भन्नु भएको छ । चुनाव हुदा सबै प्रतिष्पर्धीहरुबिच हार्दिकता बढाएको छ । संगठनलाई चलायमान बनाएको छ । यो त राम्रो पक्ष हो नि ।
उपाध्यक्ष पदमा जित्नेमा कत्तिको विश्वस्त हुनुहुन्छ ?
म आशावादी छु । संगठनमा लामो समयदेखीको योगदान, त्रियाशिलता र मैले अंगालेको युवा लक्षित विचारले गर्दा मलाई साथीहरुले विश्वास गर्नु हुन्छ भन्ने पूर्ण विश्वास छ ।