
सुशीला ढकाल
हरेक वर्ष मार्च २२ मा मनाइने विश्व पानी दिवस यस वर्ष पनि “शान्तिको लागि पानी” भन्ने नाराका साथ मनाइँदै छ ।
यस नाराले मूलतः सहयोग बढाउन र द्वन्द्व रोक्न पानीको भूमिकालाई चासोको विषय मानेको छ । साथै यस नाराले ताजा पानीको महत्व र दिगो पानी व्यवस्थापनको पक्षमा पनि जोड दिएको छ ।
नेपाल प्रचुर मात्रामा जलस्रोतले सम्पन्न देश भएता पनि सुलभ पानी पहुँचका चुनौतीहरू भने सामना गरिरहनु परेको छ । यसर्थ यस नारा नेपालमा सामाजिक सद्भाव कायम राख्न र आर्थिक विकासलाई टेवा दिन जलस्रोतको न्यायोचित वितरण र दिगो जलस्रोत व्यवस्थापनका पक्षसँग सम्बन्धित छ ।
यस दिवसले विश्वभर पानीको गुणस्तर, वितरण र जलवायु परिवर्तनका असरहरू सम्बन्धी समस्याहरूलाई सम्बोधन गर्न तत्काल आवश्यक पर्ने कुरामा जोड दिँदै आएको छ । नेपाल जलस्रोतमा धनी देश मानिन्छ । तर, वर्तमान पानीको अवस्था हेर्ने हो भने सुरक्षित पिउने पानीको पहुँच सीमित छ । अव्यवस्थित सहरीकरण र अपर्याप्त ढल प्रणाली व्यवस्थापनका कारण विशेषगरी सहरी क्षेत्रका खोला, नदीहरू अत्यधिक प्रदूषित भएका छन्, जसले पानीको गुणस्तरमा ह्रास ल्याई जनस्वास्थ्यमा पानीजन्य रोगको ठूलो जोखिम खडा गरेको छ ।
नेपालले जलवायु परिवर्तन, मौसमी पानीको उपलब्धतामा परिवर्तन, सुख्खा मौसममा खडेरी र मनसुनमा बढ्दो बाढीको उच्च जोखिम बहन गर्दै आईरहेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्क हेर्ने हो भने गत असोज १० गतेदेखि १३ गतेसम्म भएको अतिवृष्टिका कारण आएको पहिरो, बाढी तथा डुबानबाट ४६ अर्बभन्दा बढी भौतिक क्षति र २५० जना भन्दा बढीको मानवीय क्षति व्यहोर्नुप¥यो ।

यसरी विविध प्रकारका जलवायु परिवर्तनका असरहरूले गर्दा दिनानुदिन सुरक्षित पिउने पानी सुनिश्चित गर्नु र पानीजन्य रोगहरू कम गर्नु नेपालको ठूलो चुनौति बन्दै गइरहेको छ । यस विश्व पानी दिवसमा व्यक्तिगत तवरबाट मात्र पनि साना तर प्रभावकारी कार्यहरू गर्न सकेमा जलवायु परिवर्तन प्रभावहरू कम गर्न सकिनेछ ।
जल संरक्षणका लागि हरेक व्यक्तिले आफ्नो व्यक्तिगत रूपमा पानी जिम्मेवारीपूर्वक प्रयोग गर्ने, चुहावट हुन नदिने, धाराहरू प्रयोगपछि सधैँ बन्द गर्ने, स्थानीय जलस्रोतहरूको संरक्षण गर्ने, खोला-नदी र तालहरूमा फोहोर नफाल्ने, सरसफाई अभियानमा सहभागी हुने, इको (मैत्री उत्पादनहरू जस्तैः प्लास्टिकको झोलाको सट्टा कागज वा कपडाको झोला प्रयोग, प्लास्टिकका कप चम्चा र प्लेटको सट्टा स्टिल, बाँस वा काठका चम्चा, कप र प्लेटको प्रयोगलाई प्राथमिकता दिने । यसरी पुनः प्रयोग वा पुनः चक्रण गर्न सकिने सामग्रीको उत्पादन र प्रयोगले गर्दा प्लास्टिक प्रदूषण कम हुन गई पानी र हावालाई स्वच्छ राख्नुका साथै स्रोतहरूको दीर्घकालीन संरक्षणमा समेत मद्दत पुग्नेछ ।
त्यस्तै जल प्रदूषण कम गर्न बायोडिग्रेडेबल सामग्रीहरूको प्रयोग बढाउने, जस्तै : काठ, बाँस, कागज, माटोको भाँडा जस्ता वातावरणलाई प्रदूषित हुनबाट जोगाउँने खालका वस्तुहरू । यस्ता बायोडिग्रेडेबल सामग्रीहरू प्राकृतिक रूपमा ब्याक्टेरिया, फङ्गस वा अन्य सूक्ष्म जीवाणुहरूबाट विघटन हुन सक्ने पदार्थहरू भएकाले वातावरणमा कुनै हानिकारक अवशेष नछोड्ने हुँदा प्रदूषण नियन्त्रण गर्न महत्वपूर्ण हुन्छन् । जसले गर्दा पर्यावरण पनि जोगिने र जीवनशैली पनि स्वस्थ हुन जान्छ ।
पानी एक अत्यावश्यकीय स्रोत हो । प्राणी जगतलाई निरन्तरता दिनुका साथै पारिस्थितिक प्रणालीलाई कायम राख्न पानी अपरीहार्य छ । आजको यस विश्व पानी दिवसमा प्रत्येक नेपालीका लागि सुरक्षित र सुलभ पानीमा पहुँच सुनिश्चित गर्न दिर्घकालीन रूपमा पानी व्यवस्थापनका अभ्यासहरूप्रति हामी सबैले प्रतिबद्धता गरौं । व्यक्तिगत तवरबाट प्रयास गर्दै समुदाय र सरकारको सामूहिक पहलको सुनिश्चित गरी हामी नेपालमा पानी संरक्षण-सुरक्षित गर्दै शान्तिपूर्ण भविष्य निर्माण गर्न सक्नेछौँ । पानीले हामी सबैलाई जोडेको छ । आगामी पुस्ताको लागि यसलाई जोगाउन आजैबाट हामी सबैले जिम्मेवारीपूर्वक कार्य गरौं ।