
कोन्ज्योसोम, ललितपुर – २ असार । स्वास्थ्यकर्मी युवा सञ्जालको आयोजनामा र नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत राष्ट्रिय युवा परिषद्को आर्थिक तथा प्राविधिक सहयोगमा “विद्यार्थीहरूको मानसिक स्वास्थ्य प्रवर्धनका लागि शिक्षक तालिम कार्यक्रम” कोन्ज्योसोम गाउँपालिका वडा नं. १, चौघरेस्थित श्री वनस्पति आधारभूत विद्यालयमा सम्पन्न भएको छ।
असार १ र २ गते आयोजित दुईदिने उक्त तालिममा विभिन्न विद्यालयमा कार्यरत २० जना शिक्षकहरूको सहभागिता रहेको थियो। तालिमको उद्देश्य शिक्षकहरूलाई विद्यार्थीको मानसिक स्वास्थ्य अवस्थाबारे सचेत गराउँदै आवश्यक प्राथमिक चिन्ह पहिचान, सहानुभूतिपूर्ण व्यवहार, र उपयुक्त हस्तक्षेपका उपायहरूबारे दक्ष बनाउनु थियो। कार्यक्रमको अध्यक्षता स्वास्थ्यकर्मी युवा सञ्जालकी अध्यक्ष अस्मिता पाठकले गर्नुभएको थियो। अध्यक्ष पाठकले मानसिक स्वास्थ्यको संवेदनशीलता प्रति शिक्षकको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै भन्नुभयो, “शिक्षकहरू मानसिक स्वास्थ्यको पहिलो पहरेदार हुन्।
‘उनीहरूलाई यस विषयमा सजग र संवेदनशील बनाउनु अहिलेको आवश्यकता हो।’ कार्यक्रमका प्रमुख अतिथि कोन्ज्योसोम गाउँपालिका अध्यक्ष कृष्णमान लामाले विद्यालयमा शैक्षिक गुणस्तरसँगै विद्यार्थीको मानसिक समृद्धि अनिवार्य भएको बताउनुभयो । “शिक्षा प्रणालीले अब शारीरिक मात्रै होइन, मानसिक स्वास्थ्यलाई पनि उत्तिकै प्राथमिकता दिनुपर्छ। गाउँपालिकाले यस्तो कार्यक्रमलाई निरन्तर सहयोग पुर्याउनेछ र निति तथा कार्यक्रममा पनि यस विषयको सम्बोधन गरिनेछ।” उहाँले जानकारी दिनुभयो ।
त्यसैगरी कार्यक्रमका विशिष्ट अतिथि राष्ट्रिय युवा परिषद्का प्रमुख प्रशासनिक अधिकृत गेहनाथ गौतमले यस्ता कार्यक्रमले शिक्षा क्षेत्रलाई सकारात्मक दिशातर्फ उन्मुख गराउने विश्वास व्यक्त गर्नुभयो। शिक्षकको व्यवहार परिवर्तनमार्फत सम्पूर्ण शैक्षिक वातावरणमै सकारात्मक प्रभाव पार्न सकिने गौतमले भन्नुभयो। तालिमको सहजीकरण क्लिनिकल साइकोलोजिस्ट डेसिस अर्यालले गर्नुभएको थियो।
अर्यालले तनाव व्यवस्थापन, व्यवहारिक संकेतहरू पहिचान गर्ने तरिका, संवादकला, र आवश्यकताअनुसार विद्यार्थीलाई मानसिक स्वास्थ्य सेवातर्फ रेफर गर्ने सीपमा सहभागी शिक्षकहरूलाई प्रशिक्षण दिनुभएको थियो। कार्यक्रम समापनमा सहभागी शिक्षकहरूले तालिम अत्यन्त प्रभावकारी रहेको प्रतिक्रिया दिँदै यस्ता कार्यक्रमहरू निरन्तर सञ्चालन हुनुपर्ने माग राखेका थिए।