
थाइल्याण्ड । गैरआवासीय नेपाली संघ (एनआरएनए) थाइल्याण्डले आउँदो जुलाई २८ तारिखमा आयोजित गर्ने भनिएको १२ औं महाधिवेशन भ्रामक कार्यक्रम भन्दै टिप्पणी गरेको छ ।
‘हालसम्म एनआरएनए थाइल्याण्डको वैधानिक तथा सबैलाई मान्य महाधिवेशन ११ औं महाधिवेशन नै हो जुन हामीले नियमानुसार र आइसिसी (क्ष्ऋऋ) को निर्देशनअनुसार तयारी गरिरहेका छौं ।’ गैरआवासीय नेपाली संघ (एनआरएनए) थाइल्याण्डले जारी गरेको प्रेस विज्ञप्तीमा भनिएको छ,
‘हामीले संस्थागत एकता र सहकार्यको भावना राख्दै भर्चुअल, भौतिक (फिजिकल), वार्तालाप जस्ता सबै माध्यमबाट संवाद र सहकार्यको प्रयास गर्यौं । तर, विडम्बनापूर्वक केही व्यक्तिहरूले आफूलाई “संस्थापक” भनी दाबी गर्दै एकलौटी रूपमा अधिवेशन गर्न अडान राख्नुभयो, जुन दुःखद छ ।’
बैंककस्थित नेपाली राजदूतावाससँगको समन्वयको प्रयास पनि असफल रहेको र त्यही कारणले आज यो अवस्थाको सिर्जना भएको विज्ञप्तीमा उल्लेख गरिएको छ । यो सँगै एनआरएनए थाइल्याण्ड संवाद र सहकार्यका लागि तयार भएको बताउँदै आइसिसी (क्ष्ऋऋ) ले अधिवेशन गर्न आफूलाई मान्यता दिईसकेको बताएको छ ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) थाइल्याण्डले कुनैपनि एकलौटी निर्णय वा भ्रमपूर्ण कार्यक्रम आफूलाई स्वीकार्य नभएको बताएको छ । ‘हामी थाइल्याण्डमा बसोबास गर्ने सम्पूर्ण नेपाली गोर्खाली समुदायलाई आग्रह गर्दछौं कि सत्य सूचना र वैधानिक प्रक्रियाको आधारमा निर्णय गर्नुहोस् र संस्थाको एकता र गरिमालाई जोगाउन हामी सबैले सहकार्य गरौं ।’ विज्ञप्तीमा उल्लेख गरिएको छ ।