काठमाडौं । मंलबारदेखि विश्व विराट ज्ञान आश्रमले श्रीमद्भागवत महापुराण महायज्ञ सुरु गरेको छ । सोमबार उद्घाटन भएको सप्ताहव्यापी महायज्ञ ३१ गतेसम्म चल्ने विश्व विराट आश्रमका सङ्गठन प्रमुख उद्धवकुमार घिमिरेले जानकारी दिए ।
विराट महायज्ञका प्रमुख कथावाचक दिनबन्धु पोखरेलले एक करोड गीता दान गर्ने तथा ज्ञानाश्रम निर्माण गर्ने पवित्र उद्देश्य सहित महायज्ञ सञ्चालन भईरहेको बताए । वासुकीचौर गोरक्षपीठ भुवनेश्वरी मन्दिरको प्राङ्गणमा राष्ट्र राष्ट्रियता तथा वैदिक सनातन धर्मका निमित्त योगदानको अपेक्षासहित उक्त कार्यक्रम सञ्चालन भईरहेको प्रमुख घिमिरेले बताए ।
महायज्ञमा प्रमुख वाचकका रूपमा विश्वविख्यात कथावाचक वाचन प्रवीण पण्डित दिनबन्धु पोखरेलले कथा वाचन गरिरहेका छन् भने पण्डित विपिनकृष्ण भट्टराईले श्रीमद्भागवत महापुराण पारायण गरिरहेका छन् । महायज्ञको पहिलो दिन कलश यात्रा निकाली तीन किलोमिटर चक्रपथ परिक्रमा सहित महायज्ञको शुभारम्भ गरिएको घिमिरेको भनाइ छ ।
वैदिक सनातन धर्मको संरक्षण र प्रचारप्रसार गर्ने हेतुले विराट गुरुकुल स्थापनार्थ महायज्ञले राम्रो सहयोग पु¥याउने प्रमुख घिमिरेले बताए । यस अनुष्ठानका माध्यमबाट शास्त्र अध्ययन र आध्यात्मिक अनुसन्धान एवं महायज्ञले समस्त लोक कल्याणका लागि बिगुल फुक्ने र भक्तजनहरूलाई प्रेरणा दिने आँकलन गर्न थालिएको छ ।
महायज्ञमा भारतबाट समेत विशिष्ट सन्तजनहरूको आगमन जारी छ । सङ्गठन प्रमुख घिमिरेले नेपाल पुरातनकालदेखि नै सभ्यता र वैदिक ऋषिमुनीहरूको तपस्थल भएको र विभिन्न कालखण्डमा वैदिक सनातन धर्मको रक्षार्थ समस्त धर्मानुरागी सज्जनवृन्दहरू एवं सन्तजनहरूको योगदान रहेको बताए ।
धर्मको मर्म उजागरका लागि विभिन्न कालखण्डमा समेत महायज्ञ सञ्चालन हुँदै आएको घिमिरेले स्मरण गरे । विशेष अनुष्ठानका माध्यममार्फत ज्ञानको उजागरका लागि पनि महायज्ञ सञ्चालन गर्न लागिएको उनको भनाइ छ ।