‘ललितपुर क्लाइम्बिङ फेस्टिभल’ को छैटौं संस्करणमा भव्य रूपमा सम्पन्न


  • फ्रन्टलाइन नेपाल
  • मङ्लबार, जेष्ठ १४, २०८२

  • ललितपुर । पत्रकार कल्पना महर्जनले नेपालर चीन दुवै मोहडाबाट सगरमाथा आरोहण गरेको अवसरमा हुँदै आएको ‘ललितपुर क्लाइम्बिङ फेस्टिभल’ को छैटौं संस्करणमा भव्य रूपमा सम्पन्न भएको छ । महर्जनले सन् २०१८ मे २३ मा दक्षिण (नेपाल) र सन् २०१९ मे २३ उत्तर (चीन) बाट सफलतापूर्वक आरोहण गरेको ऐतिहासिक यात्राको स्मरणमा बागमती प्रदेशको झम्सिखेलस्थित एसेण्ड क्लाम्बिङ सेन्टरमा यो फेस्टिभल आयोजना भएको हो ।

    नेपाल स्पोर्ट क्लाइम्बिङ संघ (एनसीएसए) र काठमाडौं उपत्यका विशेष समिति (केभिएसए) को संयोजनमा तथा माउण्टेन एडभेन्चर स्पोर्ट्स एकेडेमीको सहकार्यमा ‘मे २३ केएमइएस छैठौं भर्टिकल च्यालेन्ज कप २०२५’ प्रतियोगिता आयोजना गरिएको हो । युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले क्लाइम्बिङ वाल चढ्दै प्रतियोगिताको औपचारिक उद्घाटन गरेका थिए । साथै उनले आफैँ क्लाइम्बिङ वाल चढ्दै उपस्थित बाल खेलाडीहरूसँग उत्साह बाँडे ।

    मन्त्री चौधरीले सरकारले क्लाइम्बिङ खेललाई योजनाबद्ध रूपमा राष्ट्रिय नीति र पूर्वाधारमा समेट्ने प्रतिबद्धता व्यक्त गरे । प्रतियोगिता स्पीड क्लाइम्बिङ विधामा आयोजना गरिएको थियो, जसमा ४ देखि १८ वर्ष उमेर समूहका ६५ जना खेलाडीहरूले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिता आईएफएसीको नियमअनुसार, दुईवटा स्पीड रुटमार्फत नकआउट फारम्याटमा आयोजना गरिएको थियो ।

    मुख्य रुटसेटर निरज कार्कीले सेटअप गरेका रुटहरूमा खेलाडीहरूले उत्साहपूर्वक प्रतिस्पर्धा गरे। महिलातर्फ १३ वर्षीय सन्सिला तामाङ पहिलो भइन् भने १५ वर्षीय केकशा खान दोस्रो र १५ वर्षीय पुजा दनुवार तेस्रो भइन् । यस्तै पुरुषतर्फ १७ वर्षीय सबिन बञ्जन पहिलो, १५ वर्षीय दीपेन्द्र दनुवार दोस्रो र १६ वर्षका रतन कडायत तेस्रो भए । फेस्टिभलमा एक मात्र पारा खेलाडी सिशन महर्जनले समेत सहभागिता जनाएका थिए ।

    यस्तै ४ वर्षी युवराज्ञी महर्जन सबैभन्दा कान्छी सहभागि थिए । यसैगरी प्रतियोगिताबाट उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई राष्ट्रिय खेलाडीको रुपमा मान्यता दिँदै एनसीएसएद्वारा राष्ट्रिय खेलाडीको प्रमाणपत्र प्रदान गरिएको थियो। पुरुष राष्ट्रिय खेलाडीहरूमा सबिन बञ्जन (१७), दिपेन्द्र दनुवार (१५), रतन कडायत (१६), दिपेश दनुवार, अरुण दनुवार, आशिष मगर, कृष्ण कुमार, सोम तामाङ, अमित कार्की, जेसस खत्री, एशियन रायमाझी,शीतल जीसी ,धनञ्जय राज रेंजर गुरुङ छन् ।

    यस्तै महिला राष्ट्रिय खेलाडीहरूमा सन्सीला तामाङ (१३), केकशा खान (१५), पूजा दनुवार (१५), इन्दु दनुवार, मरियम ठोकर, प्रतिमा बस्नेत, बिनिशा नगरकोटी, प्रीति शाह, तृष्णा केसी, दीपाशा दनुवार, बियान्का महर्जन, प्रविशा पोखरेल छन् । यसैगरी विशेष क्षमता भएका सिशन महर्जनलाई राष्ट्रिय पारा खेलाडीको रुपमा प्रमाणपत्र प्रदान गरियो । कार्यक्रममा विभिन्न अन्तर्राष्ट्रिय खेल अधिकारी तथा खेलाडीहरूको शुभकामना सन्देश पठाएका थिए ।

    आईसीएससीका कार्यकारी बोर्ड सदस्य, ओसिया प्रतिनिधि स्टेफान डेविड, आईएफएससीका एसिया प्रतिनिधि लि गुओवेई, आइएफसएसी एसियाका उपाध्यक्ष यासमिन गाहतानी, क्लाइम्बिङ सामाग्री उत्पादन कम्पनी ट्राङ्गोका अध्यक्ष क्रिस क्लिनके, इपी क्लाइम्बिङका प्रमुख जोएन्ने कारिली, क्यानडाको राष्ट्रिय खेलाडी म्याडिसन रिचर्डसन< अमेरिकन ओलम्पियन खेलाडी जेसी ग्रपर, ओलम्पिक २०२० र २०२४ को सिल्भर मेडिलस्ट ब्रुकी राबोउटोउ र नाथनिएल कोलमनले शुभकामना पठाएका थिए ।

    फेस्टिभललाई माउण्टेन एडभेन्चर स्पोर्ट्स एकेडेमी, बागमती प्रदेश खेलकुद विकास परिषद,यार्सारुम्स डट कम, होटल साब्रिना, होटल पाबेरा बुटिक होटल, यार्सा सिलाजित, कागबेनी सिलाजित, भिजित नेपाल, तोरीको तेल, मुसा मसला, वाङ्चु पिक, अन्जान चार्टर्ड एकाउन्ट्यान्ट एण्ड एसोसिएट्स र मेडिकल पार्टनरमा पाटन एकेडेमी अफ हेल्थ साइन्स, भेन्यू पार्टनर असेण्ड क्लाइम्बिङ सेन्टर, खेलाडी बीमा एनएलजी इन्सुरेन्स रहेका थिए ।

    सगरमाथाको दुबै दिशाबाट सफल आरोहण गरेर बाल विवाहविरुद्धको सन्देश फैलाएकी कल्पना महार्जनको अभियानलाई सम्मान गर्न सुरु गरिएको यो पर्वतारोहण उत्सवले हरेक वर्ष सामाजिक सन्देशसहित बाल क्लाइम्बिङ विकासमा टेवा पुर्‍याउँदै आएको छ । यो वर्षको छैठौं संस्करणले भविष्यका च्याम्पियनहरूलाई थप प्रेरणा दिएको आयोजकले बताएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा अपडेट