
काठमाडौँ । जापानमा बस्ने नेपाली युवाहरुले पुस्तक बेचेर क्यान्सर पीडितलाई सहयोग गरेका छन् । लामो समयदेखी ब्लड क्यान्सरबाट पीडित कवि नवराज न्यौपानेलाई जापान बस्ने युवाहरुले पुस्तक बेचेरै आर्थिक सहयोग प्रदान गरेका छन् । क्यान्सर पीडित कवि नवराज न्यौपानेलाई पुस्तक बिक्रिबापत १ लाख ५० हजार रुपैंयाँ आर्थिक सहयोग प्रदान गरिएको हो ।
कवि नवराजले लेखेको कविता संग्रह ‘सपनाका लहरहरु–४’ बेचेर जापान बस्ने युवाहरुले सहयोग रकम जुटाएका हुन् । ‘न्यौपानेकै अर्को कविता संग्रह ‘सपनाका लहरहरु–५ पनि हामीले बिक्रि गरेर आर्थिक सहयोग जुटाईरहेका छौं ।’ यस अभियानमा जोडिएका प्रज्जवल आचार्यले भने, ‘जापानका बिभिन्न स्थानहरुमा हामी पुुस्तक बेचेर सहयोग गरिरहेका छौं ।’ जापानमा प्रज्जवलसँगै विकास मोक्तान, मनिलाल पासिन लगायतका युवाहरुले पुस्तक बेचेर आर्थिक सहयोग गर्ने यो अभियानमा साथ दिईरहेका छन् ।
ब्लड क्यान्सर पीडित नवराज न्यौपानेले ‘सपनाका लहरहरु–१’ देखी भाग ५ सम्म कविता संग्रह प्रकाशित गरेका छन् । २०४५ कात्र्तिक १९ मा जन्मिएका सिन्धुपाल्चोकमा जन्मिएका नवराजले कवि, गीतकारका रुपमा पहिचान बनाएका छन् । उनका गीतहरुमध्ये ‘बिरामी म’ र ‘यात्रा’ अनुप्रस्थले, ‘अप्ठेरो’, ‘अघि बढी’, ‘संगीन छाया’, ‘अन्त कतै’ द बृजले गाएका छन् । ‘क्यान्सर फाइटर’ नवराजले ‘सपनाका लहरहरु–३ सम्म अस्पतालको बेडमै लेखेका हुन् । वैदेशिक रोजगारीको सिलसिलामा कुवेतमा छँदा बोनम्यारो (रक्त) क्यान्सर भएका नवराजलाई डाक्टरले ८ महिना मात्र बाँच्छ भनेर पठाएका थिए । तीन वर्ष बितिसक्दा पनि हाल उनी ब्लड क्यान्सरसँग संघर्षरत छन् ।