‘ट्राभल मार्ट’को ४७औँ संस्करण थाइल्याण्डमा, नेपालसहित २५ देशका प्रतिनिधि सहभागी


  • फ्रन्टलाइन नेपाल
  • बुधबार, भदौ १२, २०८१

  • बैंकक (थाइल्याण्ड), १२ भदौः प्यासिफिक एशिया ट्राभल एशोसिएसन (पाटा) ‘ट्राभल मार्ट’को ४७औँ संस्करण थाइल्याण्डको राजधानी बैंककमा सुरु भएको छ । पाटा मुख्यालय आयोजक रहेको ‘पाटा ट्राभल मार्ट–२०२४’ मा नेपालबाट ३५ जनासहित विश्वभरीबाट नौ सयभन्दा बढी प्रतिनिधिको सहभागिता जनाएका छन् । बैंककको क्वीन सिरिकिट नेशनल कन्भेन्सन सेन्टरमा भइरहेको मार्टमा दुई सय ६६ बिक्रेता र एक सय ९१ क्रेताको सहभागिता छ ।

    मार्टको उद्घाटन बैंकक महानगरका गभर्नर चाडचार्ट सिटीपुन्ट, पाटा अन्तर्राष्ट्रियका अध्यक्ष पिटर सिमनलगायत टुरिजम अथोरिटी अफ थाइल्याण्डका प्रतिनिधिले संयुक्त रूपमा उद्घाटन गर्नुभएको थियो । त्यस अवसरमा गभर्नर सिटीपुन्टले पर्यटन क्षेत्रको विकासका लागि अन्तरदेशीय सहकार्य आवश्यक रहेको र त्यसका लागि थाइल्याण्डले नेतृत्वदायी भूमिका खेल्ने बताउनुभयो । यस मेलाले विश्वभरका पर्यटन व्यवसायीलाई एकै ठाउँमा जम्मा हुने अवसर दिलाएको उहाँको भनाइ छ । टुरिजम अथोरिटी अफ थाइल्याण्डका अध्यक्ष नातारिया तावेभोङ्गले थाइल्याण्ड पर्यटनका लागि सुरक्षित गन्तव्य रहेको भन्दै पर्यटन क्षेत्रमा बढ्दो विदेशी लगानीले यहाँको अर्थतन्त्र थप मजबुत हुने उल्लेख गर्नुभयो ।

    कार्यक्रममा पाटा अन्तर्राष्ट्रियका अध्यक्ष सिमनले मेलाले विश्वका पर्यटन व्यवसायीलाई एकै थलोमा जम्मा गरेर व्यवसाय प्रवर्द्धनका लागि उपयुक्त मञ्च प्रदान गरेको बताउनुभयो । यसका साथै नेपालको प्रतिनिधित्व गरेर त्यहाँ पुग्नुभएका पाटा नेपालका महासचिव नरेन्द्रदेव भट्टले पर्यटनसम्बन्धी मेलामा व्यवसायीबीचको जमघटले नेपालको पर्यटन प्रवरद्धनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “मेलामा व्यावसायिक सम्बन्धको नवीकरण र नयाँ व्यवसायीसँगको मित्रता गर्ने सबैभन्दा उपयुक्त थलोका रूपमा मार्टलाई लिने गरिन्छ ।

    यसबाट पर्यटन व्यवसायीले व्यवसाय वृद्धि गर्ने अवसर प्राप्त गर्नुका साथै देशको पर्यटन क्षेत्रको प्रवर्द्धन र अर्थतन्त्रमा योगदान पुर्याउन सहयोग पुग्ने विश्वास गर्न सकिन्छ ।” कोभिड महामारीपछिको पर्यटन पुनर्उत्थानका लागि दक्षिण एशियाकै उत्कृष्ट पर्यटकीय गन्तव्य बैंककमा आयोजना भएको मार्टमा नेपाली पर्यटन व्यवसायीको उल्लेख्य सहभागिताले पर्यटन क्षेत्रलाई थप चलायमान बनाउन सहयोग पुग्ने गडेस्टिनागो टुर्स एन्ड ट्राभलका प्रबन्ध निर्देशक एवं पाटा कार्यसमिति सदस्य हिम्मत पुरीले बताउनुभयो ।

    कार्यक्रममा नेपालका तर्फबाट पाटा नेपाल च्याप्टर र नेपाल वायुसेवा निगमको सहकार्य तथा समन्वयमा १८ निजी क्षेत्र (टुर अपरेटर, एयरलाइन्स, ट्राभल र होटल) का व्यवसायीको सहभागिता छ । नेपालबाट कार्यक्रममा सहभागी प्रतिनिधिले नेपालको पर्यटन प्रवर्द्धनका लागि गन्तव्यको प्रचारप्रसारका साथै पर्यटकीय गन्तव्यस्थलको प्याकेज बिक्री गर्ने छन् । पाटा नेपाल च्याप्टरका प्रमुख कार्यकारी अधिकृत सुरेशसिंह बुडालले नेपालको पर्यटन प्रवर्द्धनका लागि पाटा नेपालको समन्वय तथा व्यवस्थापनमा नेपालका १८ वटा सदस्य संस्था तथा निजी क्षेत्रका पर्यटन व्यवसायीको सहभागिताले नेपालको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

    पाटाले सन् १९७८ मा सुरू भएको मार्टको पहिलो संस्करणदेखि नै नेपाली पर्यटन क्षेत्रको प्रवर्द्धन तथा पर्यटन व्यवसायी संस्थाका लागि व्यापार सम्बन्ध विस्तार गराउन निरन्तर सहभागिता जनाउँदै आएको छ । केजिएच ग्रुपका बजार व्यवस्थापक अमित धितालले यस्ता मार्टको माध्यमबाट बढीभन्दा बढी विदेशी पर्यटकलाई नेपालमा आकर्षण गर्न र यसलाई विश्वकै पर्यटकीय गन्तव्य बनाउन सरकारी र निजी क्षेत्रको सहकार्य प्रभावकारी बनाइनुपर्नेमा जोड दिनुभयो । विश्वभरका पर्यटन व्यवसायीबीचमा नेपालका गन्तव्य तथा नेपालले पर्यटन विकासका लागि गरिरहेको कामको विषयसमेतमा कार्यक्रममा छलफल हुनेछ । अन्तर्राष्ट्रियस्तरमा हुने यस्तो मेलाले नेपालको पर्यटन विकासमा सहयोग पुग्ने सिद्धार्थ हस्पिटालिटीका बजार व्यवस्थापक नृपेस श्रेष्ठले बताउनुभयो ।

    “यो नेपालको प्रवर्द्धन नै हो, देश प्रवर्द्धन भएपछि नै पर्यटन प्रवर्द्धन हुन्छ, त्यसैले मार्टले पर्यटकीयउपजको बजारीकरणमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास छ ।” नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)का वरिष्ठ अधिकृत इन्दिरा सञ्जेलले कुनै पनि देशको पर्यटन प्रवर्द्धन विकासका लागि वायुसेवाको भूमिका अग्रणी रहने बताउनुभयो । नेपालको राष्ट्रिय ध्वजावाहकको पर्यटन मेलामा भएको सहभागीताले देशको गन्तव्य प्रवर्द्धनमा महत्वपूर्ण सहयोग पुग्ने बताउनुभयो । राजधानी बैंकक प्रमुख व्यापारिक केन्द्र पनि हो । विश्वका नागरिकको पहिलो रोजाइमध्ये थाइल्याण्ड पर्छ । यहाँका फुकेट, पताया, क्राबी, चीयाङ्माईलगायतका क्षेत्र प्रमुख पर्यटकीय गन्तव्य हुन् । टुरिजम अथोरिटी अफ थाइल्याण्डकानुसार सन् २०२३ मा दुई करोड ८१ लाख विदेशी पर्यटकले यहाँको भ्रमण गरेका छन् । सन् २०२४ को छ महिनामा यसबाट ८२ दशमलव दुई अर्ब थाइभाट आर्जन भएको छ । यस अवधिमा एक करोड ७५ लाख पर्यटकले थाइल्याण्डको भ्रमण गरेका थिए । यो वर्ष अनुमानित तीन करोड ५० लाख पर्यटक पुर्याउने थाई सरकारको लक्ष्य छ ।

    नेपालको प्रमुख स्रोत बजारमध्ये थाइल्याण्ड पनि हो । नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेकानुसार सन् २०२३ मा नेपालबाट थाइल्याण्डमा वार्षिक २३ हजार पर्यटक पुगेका र थाइल्याण्डबाट २५ हजार छ सय ७८ पर्यटकले नेपाल भ्रमण गरेका थिए । सन् २०२४ को छ महिनामा थाइल्याण्डबाट १७ हजार छ सय एक पर्यटक नेपाल घुम्न आएका छन् ।

    नेपाल पर्यटन बोर्डको एसटीएलआरपीलाई तेस्रो पटक पाटा गोल्ड अवार्ड

    नेपाल पर्यटन बोर्ड तथा संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडीपी)सँगको सहकार्यमा सञ्चालित जीविकोपार्जन पुनर्उत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी)ले लगातार तेस्रो पटक पाटा गोल्ड अवार्ड प्राप्त गरेको छ । बैंककमा आज आयोजित पाटा गोल्ड अवार्ड विशेष समारोहमा परियोजनालाई अवार्ड प्रदान गरिएको हो ।

    एसटीएलआरतर्फबाट परियोजनाका निमित्त राष्ट्रिय परियोजना व्यवस्थापक धर्मराज दवाडीले अवार्ड ग्रहण गर्नुभयो । परियोजनाले निरन्तर पाटा अवार्ड प्राप्त गर्नुले परियोजनाले गरिरहेका कामले पर्यटन क्षेत्रमा राम्रो योगदान गरेको र त्यसको मूल्याङ्कनस्वरुप प्राप्त अवार्डले थप कार्य गर्न प्रोत्साहन मिलेको दवाडीले बताउनुभयो । परियोजनाले समुदायमा आधारित पर्यटन क्षेत्रमा काम गरेको भन्दै सन् २०२४ का लागि पाटा गोल्ड अवार्ड प्राप्त गरेको हो ।

    यसअघि सन् २०२२ र २०२३ मा पनि एसटीएलआरपी परियोजनाले गोल्ड अवार्ड प्राप्त गरेको थियो । यस परियोजनाले पर्यटनका माध्यमबाट महिला सशक्तीकरणमा गरेको पहलकदमी, दिगोपना तथा सामाजिक उत्तरदायित्व, पर्यटकीय गन्तव्य निर्माण र पर्यटन रोजगारी सिर्जनामा काम गरेकाले उक्त अवार्ड प्राप्त गरेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा अपडेट