सुम्निमाको नयाँ म्युजिक भिडियो


  • फ्रन्टलाइन नेपाल
  • शनिबार, साउन २६, २०८१

  • काठमाडौं। युवक र युवती एकअर्कालाई साँचो माया गर्छन्। उमेर उस्तै भए पनि भावनात्मक रूपमा युवक पाको, स्थिर र गहिरो छ भने युवती अलि आलोकाँचो। युवक मायाको अर्थ आफैलाई असल बनाउनु हो भनेर सम्झाउँछ। तर त्यसलाई आत्मसात् गर्न नसक्दा ‘ब्रेकअप’ हुन्छ । युवतीलाई पछि मात्र महसुस हुन्छ—  माया कुनै परिकथा होइन। पप्पी-लभ पनि होइन। मायामा इमानदारी जरुरी हुन्छ।

    खुसी र उदासी दुवैखाले रङ र स्वादको सम्मिश्रण रहेको पप–रक शैलीको म्युजिक भिडियो हो, ‘झरी’। गायिका एवं मोडल सुम्निमाले क. तमोटका सुन्दर शब्दलाई भावपूर्ण संगीत र अब्बल अभिनयद्वारा सिँगारेकी छन्।  भिडियोमा मूलरूपमा तीनवटा मनोदशा देखाइएको छ— नोस्टाल्जिया, रोमान्स र आशा।

    साउने झरीमा पाँच–छ घण्टा रुझेर भिडियो बनाएको सुम्निमाले सुनाइन्। ‘घरभित्र बसेर झ्यालबाहिर यसो हात निकालेर सायद झरीको मर्म बुझाउन सकिँदैन,’ उनले भनिन्, ‘यस  म्युजिक भिडियोमा मैले पाँच–छ घण्टा सर्वाङ्ग भिजेर, मेकअप बिर्सेर कलात्मक प्रस्तुति दिने कोसिस गरेकी छु।’ झरीमा एंगल र लाइट मिलाउन भने मुस्किल परेको उनको अनुभव छ।

    भैंसेपाटी, धुलिखेललगायत विभिन्न रमणीय स्थलमा सुटिङ गरिएको यस रोमान्टिक भिडियोमा मुख्य भूमिका सुम्निमाकै छ। संगीतमा उनले अनिल शाहीसँग सहकार्य गरेकी छन्। गायिका सुम्निमाको युट्युब च्यानलबाट सार्वजनिक गरिएको म्युजिक भिडियोका निर्देशक अभिषेक साम्पाङ राई हुन्। यसअघि उनले ‘मन्नत’ र ‘तारा’ नामका म्युजिक भिडियो दर्शकमाझ ल्याइसकेकी छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा अपडेट