मुलुकको विकासका लागि एकता जरूरी छ : उपसभामुख मगर


  • फ्रन्टलाइन नेपाल
  • बुधबार, भदौ ५, २०८१

  • रामपुर (पाल्पा), ५ भदौ : प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानामगरले मुलुकको विकासका लागि एकता जरूरी रहेको बताउनुभएको छ । पाल्पाको रामपुरमा आज नेपाल आदिवासी जनजाति महासङ्घ नगरपालिका समन्वय परिषद् रामपुरले आयोजना गरेको भेटघाट तथा स्वागत कार्यक्रममा उहाँले मुलुक, समाज, समुदायको हितमा एकीकृत भएर अगाडि बढ्न सबैलाई आग्रह गर्नुभयो ।

    उपसभामुख रानामगरले नेपालमा राजनीतिक प्रतिस्पर्धा स्वस्थ नरहेको बताउनुहुँदै देश विकासका लागि अरूलाई लडाएर आफू स्थापित हुने प्रवृत्ति निरुत्साहित गर्न आवश्यक रहेको धारणा राख्नुभयो । आदिवासी जनजाति समुदाय कला र संस्कृतिमा अगाडि रहेकाले अब हरेक क्षेत्रको नेतृत्व तहमा अगाडि आउनुपर्नेमा उहाँले जोड दिनुभयो । उपसभामुख रानामगरले नेपाली उत्पादनको प्रयोग बढाएर आदिवासी जनजातीका मौलिक उत्पादन प्रवर्द्धन गर्ने नीति अवलम्बन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

    “नेपाली उत्पादनलाई नियमन गरेर प्रयोग गर्नसके आदिवासी जनजाति समुदायको जीविकोपार्जन र समृद्धिमा मद्दत पुग्नेछ”, उहाँले भन्नुभयो, “स्थानीय उत्पादनलाई परीक्षण गरेर कति खाने, त्यो नियमन गरियो भने आदिवासी जनजातिको जनजीवनलाई माथि पुग्नेछ ।” उपसभामुख रानामगरलाई आदिवासी जनजाति समुदाय तथा स्थानीयले विभिन्न मागसहितको ध्यानाकर्षण पत्रसमेत बुझाएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा अपडेट