
काठमाडौँ, २८ फागुन: गृहमन्त्री रमेश लेखकले मुलुकमा व्यावसायिक वातावरण निर्माणका लागि सरकारले अध्यादेश ल्याएको बताउनुभएको छ । ट्रेकिङ एजेन्सीज् एशोसियसन अफ नेपाल (टान)ले आज साँझ यहाँ आयोजना गरेको संयुक्त ल्होसार कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।
‘मुलुकमा व्यावसायिक वातावरण निर्माणका लागि सरकारले भर्खर केही अध्यादेश जारी गरेको छ, अध्यादेशहरू सङ्घीय संसद्बाट स्वीकृत भइसकेका छन् । आज मात्र ती अध्यादेशलाई प्रतिस्थापन गर्ने गरेर केही विधेयक अगाडि बढाएका छौँ’, गृहमन्त्री लेखकले भन्नुभयो, ‘सरकार निजी क्षेत्रसँग मिलेर उत्मशीलताको विकास र व्यावसायिक वातावरण निर्माण गर्ने कुरामा अगाडि बढेको छ । त्यसमा अध्यादेशका प्रावधानले सकारात्मक सहयोग गर्नेछन् ।’
निजी क्षेत्रले पर्यटन प्रवर्द्धन र आर्थिक वृद्धिका लागि अगाडि बढ्दा उत्पन्न हुने समस्या समाधान गर्न सरकार तयार रहेकोे भन्दै उहाँले व्यवसायलाई सरल, सहज, पर्यटनमैत्री बनाउन सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । गृहमन्त्री लेखकले मुलुकको पर्यटन विकासका लागि टानले गरेको योगदानको प्रशंसा गर्दै पर्यटन व्यवसायीको लगानीलाई सुरक्षित गर्न सरकार तयार रहेको उल्लेख गर्नुभयो । टानले विदेशी पर्यटकलाई नेपालमा आकर्षित गर्नका लागि राम्रो काम गरेको उहाँको भनाइ थियो । “हामीसँग प्राकृतिक सम्पदा छ, प्राकृतिक सुन्दरता छ, भाषिक सभ्यता र संस्कृतिका महत्वपूर्ण धरोहर छन् । टानले विदेशी पर्यटकलाई आकर्षित गर्न राम्रो काम गरेको छ, नेपाल सरकार निजी क्षेत्रसँग मिलेर थप काम गर्न चाहन्छ”, गृहमन्त्री लेखकले भन्नुभयो ।
रक्षामन्त्री मानवीर राईले नेपाल पर्यटकका लागि उत्कृष्ट गन्तव्य भएको बताउनुभयो । उहाँले नेपाल आउने पर्यटकको बसाइँ लम्बाउन सके नेपालले यसै क्षेत्रबाट ठूलो लाभ लिने उल्लेख गर्नुभयो । टानका अध्यक्ष सागर पाण्डेले पर्वतीय पर्यटनका क्रममा स्वदेशी तथा विदेशी पर्यटकले भोग्नुपरेका समस्याबारे सरकारको ध्यानाकर्षण गर्नुभयो । उहाँले हवाई टिकटमा लगाइएको भ्याटका कारण विदेशी पर्यटकलाई नेपाल घुम्न आउन समस्या भएको भन्दै भ्याट हटाउन सरकारसँग माग गर्नुभएको थियो । यस अवसरमा विभिन्न जातजातीका सांस्कृतिक नृत्यहरू प्रस्तुत गरिएका थिए ।