काठमाडौँ । काठमाडौँको भृकुटीमण्डपमा पाँच दिनसम्म जारी दक्षिण एसियाली दोस्रो अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी–२०८१ मा तीन लाख भन्दा बढीले अवलोकन गरेका छन् । समापन कार्यक्रममा बोल्दै प्रतिनिधि सभाका सभामुख घिमिरे पठन संस्कृतिको विकासमा यस्ता मेला महोत्सवले महत्त्वपूर्ण योगदान दिने बताए ।
अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनीमा आउँदा आफूले कल्पना गरेको भन्दा निकै भव्य र सभ्य भएको सभामुख घिमिरेले बताए । यस्ता मेला महोत्सवलाई राज्यले सहयोग गर्नुपर्ने बताए । समापन कार्यक्रममा वरिष्ठ हास्य कलाकार हरिबशं आचार्यले राज्यले यस्ता कार्यक्रमहरूको अपनत्व लिनु पर्नेमा व्यवसायीले अपनत्व लिएको बताउँदै ब्यबसायीहरुलाई धन्यवाद व्यक्त गरे । राज्यले यस्ता कार्यक्रमहरूको अगुवाइ लिन सकेमा देशको गति लिने बताए ।
नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घ र करेन्ट मिडिया एन्ड रिसर्च सेन्टरको संयुक्त आयोजनामा काठमाडौँको भृकुटीमण्डपमा भएको अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी–२०८१ को आयोजना गरिएको हो । यस अवसरमा नेपालमा पहिलो पटक राइट टेबल म्याच मेकीङ कार्यक्रम भएको छ । यस कार्यक्रम अन्तर्गत ११ वटा लेखक तथा प्रकाशकहरूबिच सम्झौता भएको नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घ अध्यक्ष शिव सागरले बताए ।
प्रदर्शनीमा १३ देशका एक सय पचास भन्दा बढी प्रकाशक, लेखक, निर्यात तथा विभिन्न शैक्षिक सामग्री उत्पादकहरू सहभागिता रहेको थियो ।