
काठमाडौं । नेपाल–इटाली वाणिज्य तथा उद्योग संघले ११ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । यो सभाले लगानी प्रवद्र्धन, पर्यटन क्षेत्रको विस्तार र नेपाल तथा इटालीबीच व्यापारिक सम्बन्ध सुदृढ गर्ने प्रतिबद्धता गरेको छ । उक्त कार्यक्रमको मुख्य अतिथि (विशिष्ट मानार्थ सदस्य) माननीय संरक्षक श्री राजेश काजी श्रेष्ठ रहेका थिए । कार्यक्रममा संघका अध्यक्ष सञ्जय अग्रवाल, नेपालका लागि इटालीका मानार्थ वाणिज्य दूत श्रीमती प्रतिमा पाण्डे, संघका वरिष्ठ उपाध्यक्ष अरनिको राजभण्डारी, उपाध्यक्ष रुपक राजवंशी, उपाध्यक्ष मनोज कुमार ज्ञवाली लगायतको उपस्थिति रहेको थियो ।
संघका महासचिव मनोज श्रेष्ठ भाडेलले नेपालको सांस्कृतिक, ऐतिहासिक तथा भौतिक सम्पदाको पुनःनिर्माणमा इटालीको दीर्घकालीन सहयोगको महत्वबारे प्रकाश पारेका थिए । नेपालको सम्पदा संरक्षणमा इटालीको योगदान महत्वपूर्ण रहँदै आएको उनले बताए । नेपाल–इटाली आर्थिक सम्बन्धमा योगदान पु¥याउने व्यक्तित्वहरू तथा संस्थालाई सम्मान प्रदान गरिएको थियो । माननीय संरक्षक राजेशकाजी श्रेष्ठ र मानार्थ वाणिज्य दूत श्रीमती प्रतिमा पाण्डेलाई विशिष्ट सम्मानस्वरूप कदरपत्र प्रदान गरिएको थियो । साथै श्री अशंक शमसेर जंगबहादुर राणालाई २०२४ का ‘वर्षको उत्कृष्ट सदस्य’ को रूपमा सम्मानित गरिएको थियो ।
संघका अध्यक्ष संजय अग्रवालले आफ्नो धारणा मन्तव्यमा नेपाल–इटालीबीचको राजनीतिकि तथा आर्थिक सम्बन्धबारे चर्चा गरेका थिए । उनले नेपाल–इटालीबीच ६ दशकभन्दा बढीको व्यापारिक सहकार्यलाई सन्तुलित र दिगो रूपमा विस्तार गरिने लक्ष्यमा संघको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे । इटालीले नेपालको आर्थिक विकासमा महत्वपूर्ण भूमिका खेल्दै आएको उनले स्मरण गरे । सन् १९९० मा लोकतन्त्रको स्थापनापछि र २०१५ को भूकम्पपछि इटाली सरकारले नेपाललाई पु¥याएको सहयोगको प्रशंसा गरे ।