पहाड र मधेसको दसैँमा केही फरक छ । पहाडमा पारिवारिक फेस्टिभल, इभेन्टका रूपमा लिइन्छ । मधेसमा सामाजिक इभेन्टका रूपमा लिइन्छ । नौ दिनसम्म भगवतीको उपासना गर्ने चलन हुन्छ । प्राय: मान्छे व्रत बसेर भगवतीको स्तुति रुद्रीपाठ गर्ने चलन हुन्छ ।
घटस्थापनामा राखेको जयन्ती जात्राको दिन काटेर भगवतीलाई अर्पण गर्ने घरको ठूलो मान्छेले सानोलाई लगाइदिएर आशीर्वाद दिने चलन छ । दसैँ सरसफाइ, भाइचारा, आर्थिक, धार्मिक क्रियाकलाप, उपसनासँग जोडिएको छ । यो सामाजिक पर्वको रूपमा मधेसमा लिने गरिन्छ । दसैँ मेरा लागि परिवारलाई समय दिने, इष्टमित्र भेट्ने, धेरैभन्दा धेरै गाउँ समाजको मान्छेलाई भेट्ने, पार्टीका नेता कार्यकर्ता भेट्ने, शुभकामना आदानप्रदान गर्ने अवसर हो ।
अन्य दलका साथीहरूसँग पनि भेट हुने, भएको रिसराग र दूरी घटाउने अवसर पनि हो । सर्वपक्षीय, सर्वदलीय र सामाजिक समस्याहरूको बारेमा पनि चिन्तन मनन गर्ने एउटा अवसर हुन्छ । दसैँ, तिहार, दीपावली, छठसम्म आफ्नै जिल्लाको क्षेत्रमा बस्छु । क्षेत्रमा अली बढी समय दिन्छु । जिल्लाको अन्य क्षेत्रका कार्यक्रममा पनि सहभागिता जनाउँछु । मधेसमा टीका लगाउने प्रथा छैन । यहाँ जात्राको दिन बडादसैँमा जयन्ती लाउने चलन छ ।
सिरहाको मिर्चैयास्थित घरमै पिताजी, आमा, काकाहरूबाट जयन्ती धारण गर्छु । दसैँलाई मधेसमा दान, योगदान गर्ने, मठमन्दिरको मर्मत गर्ने, सामाजिक थलोहरू पार्टीपौवा, बाटोघाटो सरसफाइ गरेर योगदान पर्वका रूपमा पनि लिइन्छ । दसैँमा हुने १० दिनको नवरात्रामा सबै जातजाति, भेषभूषा सबै आवश्यकता पर्ने भएको हुनाले झाकी बनाउनेदेखि मार हान्ने जातसम्म सबैको सहभागिता हुन्छ । जसले जातभातको जुन विभेद छ त्यसलाई पनि अन्त्य गर्न भूमिका खेलेको देखिन्छ ।