सतिप्रथा अन्त्यका लागि योगमायाको ठूलो योगदान : प्रदेश प्रमुख अधिकारी


  • फ्रन्टलाइन नेपाल
  • मङ्लबार, चैत्र २४, २०७७

  • प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ ले योगमायाले राणा शासनकालमा सतिप्रथा अन्त्यका लागि गरेको योगदान स्मरणीय रहेको बताएका छन् । मोरङको ग्रामथान गाउँपालिकास्थित झोराहाट नाटकघरमा सोमबार ‘योगमाया’ नाटक अवलोकन गरेपछि उनले दुर्गम भोजपुरजस्तो पहाडी भूभागमा रहेर सतिप्रथा एवं जहानियाँ राणा शासन अन्त्यमा उहाँको ठूलो योगदान रहेको चर्चा गरे ।

    प्रमुख अधिकारीले ६८ महिलालाई आफूसहित अरुण नदीमा फाल हान्न लगाउने योगमायाको साहसिक कार्यबाट मुलुकमा महिला सङ्गठन निर्माण भएको स्मरण गरे । उनले आशीर्वाद थाप्ने त्यो समयमा विद्रोह गर्नु ठूलो साहस रहेको चर्चा गर्दै महिलाले परिवर्तनका लागि लड्नु भनेको ‘झुण्डाइने वा झुण्डिनु’ मात्र कार्य रहेको बताए ।

    उनले छुवाछूतलगायत समाजमा रहेको विभेद अन्त्यमा योगमायाको योगदान समाजले अहिलेसम्म स्मरण गरेको चर्चा गर्दै नाट्यघरको विकासका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । सो अवसरमा नाटकघर सञ्चालक एवं लेखक भरत गुरागाइ ‘बर्बरिक’ ले नाटकलाई ग्रामीण क्षेत्रका साथै भोजपुरमा समेत मञ्चन गरिने जानकारी दिए । सो नाटकको निर्देशन तराईका आदिवासी जनजाति प्रदीप सरदारले गरेकन थिए । ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार