गुर्जो अभियानकर्मी राजलवट सम्मानित


  • फ्रन्टलाइन नेपाल
  • बुधबार, असार १६, २०७८

  • काठमाडौँ, १६ असार । मानव शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि गर्ने वनस्पति गुर्जोबाट बनेको चिया र धुलो देशव्यापी रूपमा निःशुल्क वितरण गर्दै आउनुभएका अभियानकर्मी कमलबहादुर राजलवटलाई सम्मान गरिएको छ । पातञ्जल योग समिति भक्तपुरले असार १५ को अवसर पारेर मङ्गलबार आयोजना गरेको कार्यक्रममा विघटित प्रतिनिधिसभाका सांसद महेश बस्नेतले दोसल्ला, रुद्राक्ष र धानको बीउको मालाले सम्मान गरेका हुन् । कार्यक्रममा भक्तपुर नगरपालिका–२ का सार्वजनिक स्थानमा २०० गुर्जोका बिरुवासमेत रोपिएको थियो । धान दिवसका अवसरमा त्यस स्थानमा रोपाइँसमेत गरिएको छ ।

    सो अवसरमा पूर्वसांसद बस्नेत, वाग्मती प्रदेशसभा सदस्य प्रतिमा श्रेष्ठ, सूर्यविनायक नगरपालिकाका उपप्रमुख जुना बस्नेत, पूर्वसहसचिव एवं योग शिक्षक किशोरकुमार जोशीलगायतले गुर्जोको महत्वका विषयमा जानकारी गराएका थिए । उच्च रक्तचाप, मधुमेह, कब्जियतलगायत रोगका लागि फाइदा गर्ने गुर्जो गर्भवती र पाँच वर्ष मुनिका बालबालिकाले भने खान नहुने जनाइएको छ । न्यून रक्तचाप भएकाले भने बिरेनुन वा नुन मिलाएर खान सकिने अभियानकर्मी राजलवट बताउछन् ।

    नयाँ भेरियन्टसहितको कोरोना महामारी फैलिएपछि आन्तरिक राजश्व कार्यालय धुलिखेलको कार्यालयमा प्रमुख कर अधिकृतका रुपमा कार्यरत राजलवटले रोग प्रतिरोधी क्षमता वृद्धि गर्ने गुर्जोबाट बनेको चिया र धुलो ३६ जिल्लाका १२१ केन्द्रबाट निःशुल्क वितरणको व्यवस्था मिलाएका थिए ।

    विसं २०७६ चैतमा कोरोनाबाट बच्न बन्दाबन्दी जारी गरेदेखि नै उनले गुर्जोका बिरुवा र यसबाट बनेको चिया तथा धुलो निःशुल्क वितरण गर्दै आएका थिए । विसं २०७६ मा एक लाख ६० गुर्जोका बिरुवा निःशुल्क वितरण गरेका उनले यस वर्ष पनि करिब १० हजार बिरुवा निःशुल्क बाँडेका थिए ।

    एक घरमा एक गुर्जोको बिरुवा हुर्काएर विभिन्न रोगबाट बच्ने शक्तिका लागि औषधि बनाउन सकिने राजलवटको विश्वास छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा अपडेट