एक सय ७९ क्षेत्रमा कृषि गणना


  • फ्रन्टलाइन नेपाल
  • बिहिबार, चैत्र १०, २०७८

  • चितवन, १० चैत । सातौँ राष्ट्रिय कृषि गणनाअन्तर्गत जिल्लामा १७९ क्षेत्रमा कृषि गणना गरिने भएको छ । जिल्लामा रहेका सात पालिकालाई सो क्षेत्रमा विभाजन गरी गणना गर्न लागिएको हो । जिल्ला कृषिगणना कार्यालयका अनुसार भरतपुर महानगरपालिकामा ३७, रत्ननगर नगरपालिकामा २५, खैरहनी नगरपालिकामा २८, राप्ती नगरपालिकामा २५, कालिका नगरपालिकामा २२, माडी नगरपालिकामा २८ र इच्छाकामना गाउँपालिकामा १४ गणना क्षेत्र रहेका छन् ।

    कार्यालयका प्रमुख यज्ञमूर्ति भण्डारीका अनुसार हरेक १०/१० वर्षमा गरिने कृषि गणना सम्पन्न गर्नका लागि जिल्लामा ८० कर्मचारी परिचालन गरिने छ । सोह« सुपरिवेक्षक र ६४ गणक परिचालन गरिने उहाँले जानकारी दिनुभयो । उनीहरुले ४५ दिन काम गर्ने छन् । गणकलाई यही चैत २४ गतेसम्म करारमा नियुक्त गरेर काम लगाइने छ । गणक र सुपरिवेक्षकलाई चैत २५ गतेदेखि आगामी वैशाख ३ गतेसम्म तालिम दिइने छ । तालिमपछि वैशाख ६ गतेबाट ज्येष्ठ १९ गतेसम्म तथ्याङ्क सङ्कलनमा खटाइने भण्डारीले जानकारी दिनुभयो । गणकले एक गणना क्षेत्रमा २५ परिवारको तथ्याङ्क सङ्कलन गर्ने छन् । उनीहरुले विभिन्न १३ विधामा प्रश्नावली भर्ने छन् । यस्तै वडास्तरीय सामुदायीक प्रश्नावलीसमेत समेटिएका विषय रहने छन् । नेपालको पछिल्लो जनगणनाको प्रारम्भिक तथ्याङ्कअनुसार ४१ लाख घरपरिवार कृषक परिवार रहेको पाइन्छ । गणनाका क्रममा कृषकले भोगचलन गरेको जग्गाको आकार, जग्गाको उपभोग र उपयोग बाली लागेको जग्गाको क्षेत्रफल, मुख्य बालीको उत्पादन र सिँचाइको विवरण लिइने छ ।

    यस्तै कृषि सामग्री र औजारको उपयोग, पशुपन्छीको सङ्ख्या, आहारसम्बन्धी विवरण, कृषि कार्यमा संलग्न जनशक्ति, लिङ्गका आधारमा कृषि जग्गाको स्वामित्वको अवस्थाबारे गणकले तथ्याङ्क सङ्कलन गर्ने छन् । कृषि वन, कृषि ऋण, बीमा अनुदान, कृषि कार्यमा जलवायु परिवर्तनका प्रभाव, हरितगृह पद्धतिको प्रयोग माटो परीक्षण कृषि बजारसम्मको पहुँच, कृषि अवशेष र फोहोरको व्यवस्थापनजस्ता विषयमा तथ्याङ्क सङ्कलन गरिने उहाँले बताउनुभयो । जिल्लामा कृषि गणना कार्यालय चैत १ गते स्थापना गरी काम सुरु गरिएको उहाँले जानकारी दिनुभयो । कृषि गणनबाट प्राप्त तथ्याङ्कको प्रयोगले सरकारले परिकल्पना गरेको कृषि क्षेत्रको विकास एवं समृद्धिका लागि मद्दत पुग्ने जनाइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार