राष्ट्रिय महिला कप्तानलाई प्रदेश सरकारको सम्मान


  • फ्रन्टलाइन नेपाल
  • शनिबार, माघ ३, २०७७

  • कास्की, ३ माघ : नेपाली राष्ट्रिय महिला भलिबल टोलीका कप्तान अरुणा शाही आज पोखरामा सम्मानित हुनुभएको छ । नेपाल खेलकूद पत्रकार मञ्चद्वारा गत २८ गते सम्पन्न ‘एनएसजेएफ स्पोर्टस अवार्ड’मा ‘पिपल्स च्वाइस विधा’मा विजयी हुनुभएका उहाँलाई गण्डकी प्रदेश सरकारले प्रोत्साहन स्वरुप नगद रु एक लाखसहित सम्मान गरेको हो । पश्मिाञ्चल क्षेत्रीय भलिबल सङ्घले पोखरा रङ्गशालामा आयोजना गरेको सम्मान कार्यक्रममा सामाजिक विकासमन्त्री नरदेवी पुनले सो रकम प्रदान गर्नुभयो ।

    अवार्ड विजेता तथा नेपाली महिला भलिबल टोलीलाई वर्ष २०७६ को उत्कृष्ट टोली बनाउन सफल भएकामा उहाँलाई सो सम्मान अर्पण गरिएको हो । कार्यक्रममा राष्ट्रिय खेलकूद परिषद् (राखेप) सदस्य राजेशकुमार गुरुङले व्यक्तिगतरुपमा अरुणालाई नगद रु ११ हजार सहयोग गर्नुभयो । सो अवसरमा मन्त्री पुनले प्रदेश सरकार खेलकूद विकासका लागि प्रतिवद्ध भएको बताउँदै आर्थिक क्षमताले भ्याएसम्म विकासको कार्यलाई अघि बढाएको बताउनुभयो ।

    नवौं राष्ट्रिय खेलकूद प्रतियोगिताको तयारीका लागि पोखरा रङ्गशालाको संरक्षण गर्न मन्त्रालयले सक्दो सहयोग गर्ने बताउँदै मन्त्री पुनले नवौं खेलकूदको तयारीका लागि जुट्न आग्रह गर्नुभयो । यसैबीच पोखरामा सञ्चालन भएको ‘अरुणा शाही जिताउ अभियान’ बचत रकम कप्तान अरुणालाई हस्तान्तरण गरिएको छ ।

    अभियानबाट बचत रकम रु तीन लाख ७३ हजार ७०५ हस्तान्तरण गरिएको हो । सङ्कलित रकमको आय–व्यय प्रस्तुत गर्दै नेपाल भलिबल सङ्घका सल्लाहकार नारायण प्रसाद शर्माले कूल १६ लाख ७३ हजार ७०५ सङ्कलन भएकामा भोटिङ, भलिबल खेल व्यवस्थापनलगायतमा रु १३ लाख खर्च जानकारी दिनुभयो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार