मनाङका सरकारी कार्यालयमा आजदेखि सोलार जडान


  • फ्रन्टलाइन नेपाल
  • आइतवार, असार २०, २०७८

  • मनाङ, २० असार–  बाढीपहिरोको कारण विद्युत् सेवाबाट विच्छेद भएको मनाङको सदरमुकाम चामेका सरकारी कार्यालयमा आजदेखि सोलार जडान गरिने भएको छ । बयालीस किलोवाटको लघु जलविद्युत् आयोजना बाढीले बगाएपछि गत जेठ ३० गतेदेखि चामेका सरकारी कार्यालयमा विद्युत् सुविधा विच्छेद भएको थियो ।

    सरकारी कार्यालयमा विद्युतीय भुक्तानी सेवा, सूचना प्रविधि र कम्प्युटर प्रणालीमा आधारित सरकारी सेवा प्रवाह अवरुद्ध भएपछि गण्डकी प्रदेश सरकारले सोलार उपलब्ध गराएको हो ।

    सरकारले १६ वटा कार्यालयका लागि चार चरणमा सौर्य ऊर्जा प्रणालीका सामग्री शनिबार चामे पु¥याएको हो । पोखराबाट बेँसीशहर लगिएको भए पनि मौसम खराब भएका कारण सामान चामे पु¥याउन सकिएको थिएन । शनिबार मौसम खुलेसँगै ती सामग्री मनाङ पु¥याइएको र आजदेखि जडान शुरु गरिने ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयका सिडिई हरिदत्त पौडेलले जानकारी दिए ।

    करिब रु १९ लाखको सामान ढुवानीका लागि रु चार लाख ३१ हजार खर्च भएको छ । सबै खर्च गण्डकी सरकारले नै बेहोरेको छ । सार्वजनिक खरिद ऐनको दफा ४१ (१) (घ३) बमोजिम विशेष परिस्थितिमा सार्वजनिक खरिद प्रक्रिया अपनाई सामान पठाइएको हो । प्रत्येक कार्यालयका लागि १५० वाटका दुई वटा सोलार प्यानल, दुई वटा ब्याट्री र इन्भर्टर उपलब्ध गराइएको छ ।

    बाढी पहिरोका कारण जिल्लाका स्थानीयस्तरका लघुजलविद्युत् योजनामा क्षति पुगेको छ । राष्ट्रिय प्रसारण लाइनको पोल ढलेका कारण मनाङ सदरमुकाम चामेसहित गाउँहरूमा बिजुली बलेको छैन । असार मसान्तमा सम्पादन गर्ने कामसमेत बिजुली नभएकै कारण प्रभावित भएका छन् । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको अध्यक्षतामा यही असार ६ गते बसेको प्रदेश विपद् व्यवस्थापन समितिको बैठकले सोलार खरिद गरेर पठाउने निर्णय गरेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा अपडेट