नेपालकै पहिलो लक्ष्मी हयग्रीव नारायण मन्दिर क्षेत्रमा गुर्जो रोपण


  • फ्रन्टलाइन नेपाल
  • आइतवार, असार २०, २०७८

  • काठमाडौँ, २० असार: कागेश्वरी मनोहरा नगरपालिका–४ कोलमतेश्वरस्थित नेपालकै पहिलो लक्ष्मी हयग्रीव नारायण मन्दिर क्षेत्रमा गुर्जो रोपण गरिएको छ । गुर्जो अभियानकर्मी कमलबहादुर राजलवटको पहलमा मन्दिर क्षेत्रको २० रोपनी क्षेत्रफलमा करिब १०० बिरुवा रोपिएको हो । मानव शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि गर्ने गुर्जो कोरोना सङ्क्रमण हुन नदिन उपयोगी मानिएको छ ।

    कार्यक्रमको शुभारम्भ गर्दै मन्दिरका संरक्षक रुरु पीठाधीश स्वामी जगदीश प्रपन्नाचार्यले मानिसलाई निरोगी बनाउने गुण हाम्रो वरपर रहेका जडीबुटीमा भए पनि त्यसलाई बिर्सँदै गएका बेला गुर्जो रोपण अभियानले पुनर्जागरण गरेको बताए ।

    योग शिक्षक अच्युत अर्यालले समुन्द्र मन्थन हुँदा निस्किएको अमृत देवता र राक्षसबीच खोसाखोस हुँदा गुर्जोमा परेकाले यसलाई संस्कृतमा वनस्पति भनिएको उल्लेख गर्नुहुँदै त्यसैकारण यसले रोग प्रतिरोधी क्षमता बढाउनसक्ने बताए । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष ध्रुवप्रसाद सिम्खडाले गत वर्षसम्म यस क्षेत्रको जङ्गलमा गुर्जो भए पनि विसं २०७६ चैतमा कोरोनाबाट बच्न बन्दाबन्दी जारी गरिएपछि उजाडिएको बताए । उनले गुर्जो उजाडिएको क्षेत्रमा अभिायनकर्मी राजलवटको सहयोगमा पनि फेरि फस्टाउने अवसर प्राप्त भएकामा खुसी व्यक्त गरे । कार्यक्रममा अभियानकर्मी राजलवटले मानव शरीरबाट विभिन्न किसिमका टक्सिन निकाल्न गुर्जोबाट बनेको धुलो र चिया उपयोगी हुने बताए ।

    आन्तरिक राजश्व कार्यालय धुलिखेलको कार्यालय प्रमुख रहेका राजलवटले कोरोना महामारी शुरु भएपछि विसं २०७६ देखि नै निःशुल्क गुर्जो रोपण अभियान चलाउँदै आएका छन् । आन्तरिक राजश्व कार्यालय लहानको कार्यालय प्रमुख हुँदा त्यहाँको सरकारी आवास गृह परिसरमा उत्पादन गरिएको गुर्जोका बिरुवा उनले गत वर्ष देशभर निःशुल्क बाडेका थिए ।

    गुर्जो मानव शरीरमा रोग प्रतिरोधी क्षमता विकास गर्ने वनस्पति भएकाले यसबाट बनेको चिया र धुलो उपयोगी मानिन्छ । यसको डाँठ र रस पनि सेवन गरेर आरोग्यता प्राप्त गर्न सकिने जनाइएको छ । गुर्जोका विषयमा ५०० भन्दा बढी अनुसन्धान गरिएकामा यो बहुउपयोगी वनस्पति पुष्टि भएको जनाइएको छ ।

    उच्च रक्तचाप, मधुमेह, कब्जियतलगायत रोगका लागि फाइदा गर्ने गुर्जो गर्भवती र पाँच वर्षमुनिका बालबालिकाले भने खान नहुने जनाइएको छ । न्यून रक्तचाप भएकाले भने बिरेनुन वा नुन मिलाएर खान सकिने अभियानकर्मी राजलवटले बताए । नयाँ भेरियन्टसहितको कोरोना महामारी फैलिएपछि राजलवटले रोग प्रतिरोधी क्षमता वृद्धि गर्ने गुर्जोबाट बनेको चिया र धुलो ३६ जिल्लाका १२१ केन्द्रबाट निःशुल्क वितरणको व्यवस्था मिलाएका छन् ।

    विसं २०७६ चैतमा कोरोनाबाट बच्न बन्दाबन्दी जारी गरेदेखि नै उहाँले गुर्जोका बिरुवा र यसबाट बनेको चिया र धुलो निःशुल्क वितरण गर्दै आएका थिए । विसं २०७६ मा एक लाख ६० गुर्जोका बिरुवा निःशुल्क वितरण गरेका उनले यस वर्ष पनि करिब ११ हजार बिरुवा निःशुल्क बाडेका छन् । एक घरमा एक गुर्जोको बिरुवा हुर्काएर विभिन्न रोगबाट बच्ने शक्तिका लागि औषधि बनाउन सकिने राजलवटको विश्वास छ ।

    आयुर्वेद शास्त्रको ‘यस्य देशस्य यो जन्तो : तस्य तद् औषधं हितम्’ अर्थात् मानिस जुन स्थानमा जन्मन्छ उसलाई औषधिको काम गर्ने वनस्पति त्यहीँ हुन्छ भन्ने वचनका आधारमा प्रत्येक घरमा एउटा गुर्जोको बिरुवा रोपाउने अभियानमा आफू लागेको उनले बताए । घरसँगै सार्वजनिक स्थलमा पनि गुर्जो रोपेर मानवलाई आवश्यक परेका बेला औषधिका रुपमा उपयोग गर्न सकिने विश्वास लिइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार