महावाणिज्यदूत पौडेलबाट डाण्डिया नृत्य उद्घाटन


  • फ्रन्टलाइन नेपाल
  • शुक्रबार, अशोज २२, २०७८

  • काठमाडौँ, २२ असोज । बडादशैँका अवसरमा हावडा, कोलकातास्थित दिलीप थापा डान्स एकेडेमीले आज साँझ प्रतियोगितात्मक अनलाइन डाण्डिया नृत्य प्रतियोगिता सम्पन्न गरेको छ । प्रतियोगितामा दार्जिलिङका नेपालीभाषी आयुष्मान् कुशवाह, हाउडाका शुभम् थापालगायत ३० सहभागीले युगल तथा सामूहिक नृत्य प्रस्तुत गरेका थिए । अभिभावक ब्युटी जोशीको गणेश वन्दनाबाट शुरु भएको कार्यक्रममा भारतका राजस्थान, बिशाखापट्टनम, पटना, मजफ्फरपुर, कोलकाता आदि स्थानका बालबालिकाले नृत्य प्रस्तुत गरेका थिए ।

    प्रतियोगिताअघि एकेडेमीका संस्थापक थापाले उनीहरूलाई अनलाइन प्रशिक्षण दिनुभएको थियो । विशेषगरी भारतको गुजरात राज्यमा गरिने यो नृत्य नवरात्रका अवसरमा तीनचार दिन प्रस्तुत गरिन्छ । यसमा नर्तकले हातमा सिँगारिएका दुई डण्डी लिएर नाच्ने गर्छन् । कोलकातास्थित महावाणिज्यदूत ईश्वरराज पौडेलले महावाणिज्यदूतावास, एकबालपुर, नेशनल लाइब्रेरी रोडमा दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गर्दै एकेडेमीले नेपाल भारत सम्बन्ध अघि बढाउन निकै योगदान गरेको बताउनुभयो । उहाँले अनलाइनमा पनि नृत्य सिकेर राम्रो प्रस्तुति दिएकामा सहभागीलाई धन्यवाद दिनुभयो ।

    राष्ट्रिय समाचार समितिका नायब महाप्रबन्धक श्यामप्रसाद रिमालले नेपाल भारत सम्बन्ध सांस्कृतिक रुपले पनि अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । ‘दैनिक विश्वामित्र’का सम्पादक डा आनन्द पाण्डे र ट्रि हाउस स्कूलका प्रमुख कुनाल बसुले नेपाल र भारतका सबै नागरिकलाई नवरात्रको शुभकामना दिनुभयो । एकेडेमीका संस्थापक थापाले विद्यार्थीको प्रस्तुति निकै राम्रो भएकामा सन्तोष व्यक्त गर्नुभयो । प्रतियोगितापछि नृत्य, वेशभूषा र डाण्डिया सजावट विधामा १० जनालाई पुरस्कार घोषणा गरिएको छ ।

    समूह एमा नृत्यमा लक्ष्य बिहानी प्रथम, पहेल जोशी द्वितीय र रैनब चौरसिया तृतीय, वेशभूषामा आद्रिका र कृतिश लाहेरी उत्कृष्ट र डाण्डिया सजावटमा राधिका जोशी उत्कृष्ट तथा ग्रुप बीमा नृत्यमा स्वर्णरूप चौधरी प्रथम, निशित साउ द्वितीय र मयूरी बसु तृतीय, वेशभूषामा रिहाना तथा डाण्डिया सजावटमा अर्पिता सिंह र रिक्तिमा सिंह उत्कृष्ट भएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा अपडेट