रितु थापा, गुन्जन
यतिखेर चीनको चिउचियांग विश्वविद्यालयको प्रांगणभित्रैबाट मैले यो लेख लेखिरहेकी छु । हुन त म कुनै लेखिका होइन । यसअघि कहिल्यै लेखेकी पनि छैन । तर कोरोना भाइरसको महामारी फैलिरहँदा र नेपालतिर नेपालीहरुको तौरतरीका हेर्दा केही नलेखि रहन सकिन ।
म गत वर्ष अर्थात् सन् २०१९ को अक्टोबर २४ का दिन एमबिबिएस अध्ययनको लागि भनेर चीन आएको नया विद्यार्थी हुँ । म यसअघि कहिल्यै चीन आएकी थिइन । न त मलाई चिनियाँ भाषा, संस्कृति र रहन नै थाहा थियो । यतिखेर यस्तो लाग्दै छ, हाम्रो देश चीनको छिमेकी भएर पनि विद्यालय तथा विश्वविद्यालय शिक्षामा आफ्नै छिमेकीको बारेमा हामीलाई केही पनि सिक्ने अवसर नदिएर राज्यले तमाम युवाहरुलाई ठगिरहेको छ । त्यसैले जुन दिन म चीनको भूमि टेकें, त्यसदिन मलाई लाग्यो म नजिकैको एउटा विरानो संसारमा आफ्नो जीवनको परिभाषा खोजिरहेछु ।
यहाँ भाषा, संस्कृति, लवाइखवाइ, मानिसको काम गर्ने शैली, बोल्ने शैली, विदेशीहरुलाई हेर्ने शैली, राजनीति, भौतिक संरचनाहरु, प्रविधि आदि इत्यादि अत्यन्त नयाँ मात्र छैनन्, नेपालको तुलनामा अति फरक तर विकसित लाग्छन् । त्यसैले जुन दिन म ग्वाङजाउको विमानस्थलमा अवतरण गरें, अनगिन्ति सपनाहरु बुन्न थालें । यहाँबाट धेरै कुरा सिकेर मेरो देश नेपाललाई पनि यस्तै विकसित र झिलीमिली बनाउने, मेरा नेपाली जनसमुदायलाई गर्वका साथ विश्वमा छाति फुलाएर हिंड्न सक्ने बनाउने, म आफु पनि आफ्नो सपना पूरा गरेर देशमा प्रतिष्ठित पेशामा सहभागी हुने आदि आदि । आखिर के छैन मेरो देशमा ? कुनै कुराको कमी छ भने त्यो हो हाम्रो काम गर्ने इच्छाशक्ति र इमान्दारिता । समयक्रममा हामी त्यसलाई सुधार गर्न कसो नसकिएला ? यस्तै सोच्दै म विश्वविद्यालयको होस्टेल पुगें ।
नया ठाउमा नयाँनयाँ नियमहरुको पालना गर्नुपर्ने । फेरि मैले पहिलो पल्ट घरपरिवार र देश छोडेकी थिएँ । कुनै पनि नियमको उल्लंघन गल्तीले भयो भने सजायको भागिदार बन्नुपर्ला भन्ने डर एकातिर, अनि घरको यादले सताउने अर्कोतिर । त्यसमाथि मसला खुर्सानीसहित टन्न भात खानुपर्ने, दिउसो म:म चट्पटे, पानीपुरी खानुपर्ने बानीमा नुन र चिनीको मिश्रणमा बनेको चाइनिज तरकारीसँग भात, अनि नुडल जस्ता खानाले मलाई कहिले नेपाल फर्किजाउँ जस्तो भइरहेको थियो । चाइनिज भाषा कक्षा शुरु भइसकेको थियो । अलि अलि आफ्नो नाम सम्म भन्न सक्ने हुँदै थिएँ । हामी क, ख, ग, र अ, आ, इ जस्ता अल्फाबेट सिकेर भाषा सिकेका मान्छेको लागि एउटै शब्दलाई गीत गाउँदा जस्तै कहिले माथितिर तानेर अनि कहिले तलतिर तानेर अर्थ दिनुपर्ने । अति मुस्किल भईरहेको थियो । तर, मेरा चाइनिज भाषाका गुरुले मलाई दिने हौसला, अनि दक्षिण अफ्रिकी राष्ट्र सुडानकी मेरी साथीको सान्त्वनाले मलाई ती सबै खाले मुश्किलहरु पार गर्छु भन्ने आँट दिइरहन्थे ।
एकदिनको कुरा हो । मेरा चाइनिज भाषाका गुरुले मलाई एसएमएस गरेर सोध्नुभयो, ‘तिमी कहां छौ ?’
‘म होस्टेलमा छु सर’, मैले जवाफ दिएँ ।
‘अहिले बाहिर कतै नजानु, गाह्रो हुँदैछ ।’ उहाले फेरि मेसेज गर्नुभयो ।
‘किन सर ?’, मैले सोधें ।
‘कोरोनाभाइरस’, उहाँले भन्नुभयो ।
तर, मलाई कत्ति पनि डर लागेको थिएन । किनभने मैले नेपालमै काम गर्दा पनि भाइरस भन्ने शब्द सुन्दै आएकी थिएँ । तर, समय बित्दै जाँदा विश्वविद्यालयका अधिकारीहरुले हाम्रो बारे अलि धेरै नै चासो दिन थाले । हामीलाई के कस्तो छ, अनि हामीलाई कुनै कुराको आवश्यकता छ कि भनेर प्राय:जसो दिनहुँ कोही न कोहीले सोधिरहन्थे । यस्तो लाग्दैथियो, उनीहरु हाम्रो बारेमा धेरै नै चिन्तित छन् । त्यतिखेरसम्म चीनको हुबेइ प्रान्तमा कोरोना भाइरसको महामारीले विकराल रुप लिईरहेको समाचारहरु आइरहेका थिए । संसारभरका मिडियाहरु चीन सरकारको, चिनियाँ कम्यूनिष्ट पार्टीको र चीनको स्वास्थ्य प्रणालीको खिल्ली उडाइरहेका थिए । नेपालीहरु पनि चीनको खिल्ली उडाएर अनेक प्रकारका भिडियोहरु, टिकटक र गीतहरु बनाएर सामाजिक सन्जालमा फैलाइरहेका थिए ।
नेपालको एउटा राष्ट्रिय पत्रिकाले नै आधुनिक चीनका संस्थापक माओत्सेतुंगको फोटो चाइनिज पैसाबाट क्लिप गरेर चिनको खिल्ली उडाउने गरी लेख्न समेत भ्याइसकेको थियो । मलाई त्यसबेला अति दु:ख लागिरहेको थियो । किनकि म त्यसबेला चीनमै थिएँ । मैले आफ्नो सपना पूरा गर्न आएको देशबारे, अनि जसले मेरो दैनिकीमा त्यति धेरै ख्याल गरिरहेका छन्, उनीहरुकै मजाक उडाएर फेरि मेरै देशको मिडियाले लेखिरहेकोमा । म चिनियाँ कम्यूनिष्ट पार्टीको समर्थक वा विरोधी केही होइन । एक साधारण नेपाली विद्यार्थी हुँ । तर, मलाई मेरो देशको जति माया छ, चाइनिजहरुलाई पनि आफ्नो देशको उत्तिकै माया छ भन्ने लाग्छ । सानो टिप्पणीको कारण ऋतिक रोशन काण्ड भएर सयौं घाइते हुने हाम्रै देश होइन र ? अनि जसरी हामीलाई हाम्रो देश, हाम्रो नेपाली जाति र हाम्रो संस्कृतिबारे कुनै अर्को देशले टिका, टिप्पणी गरेको मन पर्दैन, त्यस्तै चाइनिजहरुलाई पनि उनीहरुको देशबारे अरुले गरेको नकारात्मक टिकाटिप्पणीले पीडा हुन्छ भन्ने हामीले बुझ्न नसकेको हो कि बुझ्न नचाहेको ? वास्तवमा त्यतिखेर चीन प्रसव पीडामा थियो । हाम्रो सान्त्वनाले पनि उनीहरुलाई कति साहस र हिम्मत दिन्थ्यो होला । तर, हामीले त्यो मौका गुमायौं ।
झन् एकदिन कसैले मेरो मेसेन्जरमा पठाएएको एउटा भिडियो हेरें । हाम्रा चीनमा भएका केही विद्यार्थी साथीहरु रोइरहेका थिए । ‘हामी बाँच्न चाहन्छौं, हामी अफ्ठ्यारोमा छौं, हामी कोठाभित्र बसेको यति दिन भयो, हामीले खान पाएका छैनौं’ यस्तै–यस्तै भनिरहेका थिए । पछि नेपाल सरकारले प्लेन चार्टर नै गरेर उनीहरुलाई नेपाल फर्कायो । म भने त्यस्तो रोइ कराइ गर्नुपर्ने केही देखिनँ । र, म नेपाल फर्किन पनि चाहिनँ । तर, मलाई मनमनै एकदमै चिन्ता लाग्यो । साँच्चि त्यस्तै थियो होला र ? कम्तिमा मैले अध्ययन गर्ने विश्वविद्यालयमा त्यस्तो केही समस्या थिएन । हामीलाई क्याम्पस हाताबाट बाहिर ननिस्कन भनिएको थियो । अहिले पनि हामी बाहिर जान पाउदैनौं । तर, खाने बस्ने सवालमा कुनै समस्या छैन । क्याम्पसका अधिकारीहरु निरन्तर सम्पर्कमा आउँछन् । हाम्रो सन्चो विसन्चो, खानपिन र अन्य समस्याहरु बारे सोधिरहन्छन् । विच्याट्बाट आफुलाई चाहिएको कुनै पनि सामान हामीले अर्डर गर्यो भने क्याम्पस हाताभित्रै आइपुग्छ । तर, त्यस प्रकारको भिडियोले मलाई पनि कता–कता तनाव भयो । मलाई चाहिं किन खाना दिएर राखिरहेको होला भनेर झन् धेरै कुराहरु पनि खेलाएँ मन मनै । तनाव र चिन्ताका कारण म अलि अलि विरामी जस्तो नि भएँ ।
समय बित्दै गयो । चाइनिज सरकार र चिनियाँ जनताको काम गर्ने उत्कट् इच्छा शक्ति, अनुशासन, सरकारप्रतिको जनताको विश्वास र एकअर्कालाई गर्ने सहयोगको भावनाका कारण हुनुपर्छ । अहिले चीनले कोरोना भाइरसको संक्रमणलाई प्राय: पूर्ण रुपमा नियन्त्रण गरिसकेको छ । अहिले चीनमा भन्दा धेरै अन्य देशमा उक्त संक्रमणले विकराल रुप लिदै गइरहेको छ । शुरुका दिनमा चीनको खिल्ली उडाउने अमेरीकामै पचासौं हजारको संख्यामा संक्रमितहरुको पहिचान भएको छ । चीनमा कोरोनाभाइरस संक्रमणबाट ज्यान गुमाउने भन्दा ठूलो संख्यामा इटालीमा धेरैले ज्यान गुमाईसकेका छन् । त्यसैले चीन सरकारले इटाली, स्पेन, इरान, सर्विया लगायतका देशहरुमा आफ्ना अनुभवी चिकित्सकहरु, उपकरणहरु र औषधीमुल पठाउन थालेको छ । नेपाल, भारत, मलेशिया लगायतका देशहरुले लकडाउन गरेका छन् ।
म अहिले पनि चीनमै छु । र, म अहिले चीनमा जति सुरक्षित महसुस गरिरहेकी छु, शायद यतिखेर म नेपालमा भएको भए यो भन्दा बढी चिन्तित र भयभित हुने थिएँ होला ।
कारण स्पष्ट छ । म चीन सरकार र चिनियाँ जनताको काम गर्ने तौरतरीका र अनुशासनबाट अति नै प्रभावित छु । कोरोनाभाइरस संक्रमण रोकथामको मामलामा चीनको अभ्यासबाट हामीले सिक्न सक्ने धेरै कुराहरु छन् । चीनमा लकडाउन जति व्यवस्थित, संयमित र अनुशासित थियो, त्यो नेपाल र भारतमा देखिएको छैन । चीनमा लकडाउन भए पनि मानिसहरुको अत्यावश्यकीय वस्तुहरु ओसार–पसार गर्न कफ्र्यू नै लगाइएको थिएन । अत्यावश्यकीय वस्तुहरुको परिपूर्तिमा कुनै अभाव सृजना हुन दिईएको थिएन । अस्पतालहरुमा संक्रमितहरुको जाँच गर्दा र उपचार गर्दा आवश्यक पर्ने सामानको कुनै अभाव थिएन । सरकारले शंका लागेका मानिसहरुमा व्यापक रुपमा जाँच गरेर कोरोनाभाइरस संक्रमितहरु र तिनका परिवारलाई छुट्टै राखेर उपचार गरिरहेको थियो । जुन नेपाल र भारतमा देखिएको छैन ।
कोरोनाभाइरसको लक्षण देखिन महिना दिनसम्म लाग्न सक्ने वैज्ञानिकहरुले बताएका छन् । यसर्थ अहिले लकडाउनमा बसेकाहरु मध्ये यदि कोहीलाई यसअघि नै संक्रमण भएको रहेछ भने एक महिनापछि खुल्ला हुँदा फेरि अन्यमा संक्रमण हुने खतरा कायमै छ । त्यसमाथि नेपालमा त अस्पतालहरुले संक्रमणको शंका लागेर आउने विरामीहरुको जाँच नै गरेका छैनन् भन्ने समाचारहरु आइरहेका छन् । यसर्थ लकडाउन मात्र होइन, चेकजाँचलाई व्यापक र प्रभावकारी बनाउने, अनि संक्रमितहरुलाई छुट्टै राखेर उपचार गर्ने काममा सरकार लागेन भने लकडाउन हुँदै गरेको समयमा नै हजारौं लाखौं मानिसले नेपालमा ज्यान गुमाउने खतरा हुन सक्छ । त्यसकारण अरुको मजाकमा समय खर्चनु भन्दा उनीहरुबाट सिक्न सक्यौं भने हामी आफैलाई सुरक्षित राख्न सक्नेछौं ।
चिउचियांग विश्वविद्यालय, जियांगसु