कोरोनासँगै गर्मीयामका रोगको रोकथाममा तयारी रहन सुझाव


  • फ्रन्टलाइन नेपाल
  • शनिबार, चैत्र २९, २०७६

  • काठमाडौं, २९ चैत । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको रोकथाम र नियन्त्रणसँगै नेपालले गर्मी याममा वर्षेनी फैलिने रोगको रोकथाम र नियन्त्रणमा पनि उत्तिकै तयारी गर्नुपर्ने विज्ञले सुझाव दिनुभएको छ । नेपालमा पनि कोरोना भाइरसको सङ्क्रमण देखिएको सन्दर्भमा खानेपानी तथा सरसफाइको क्षेत्रले गर्नुपर्ने कामका सम्बन्धमा स्मार्ट वास सोलुसन्स प्रालिले सरोकारवाला विज्ञसँग आज भिडियो कन्फरेन्स गरेको थियो ।

     

    भिडियो कन्फरेन्समा सहभागी विज्ञले कोरोना भाइरसको सङ्क्रमणबाट बच्नका लागि सामाजिक दूरीसँगै हात धुने काम पनि उत्तिकै महत्वपूर्ण भएको र यसका लागि पर्याप्त सुरक्षित पानीको उपलब्धता सुनिश्चित हुनुपर्नेमा जोड दिनुभएको थियो । सहभागी नेपाल सरकारका पूर्वसचिव इञ्जिनीयर सुमन शर्माले विश्वमा महमारीका रुपमा फैलिरहेको कोरोना भाइरसको रोकथाम र उपचारका लागि युद्धस्तरमा लाग्नुपर्ने बताउँदै गर्मी याममा हरेक वर्ष देखिने विभिन्न सङ्क्रात्मक रोगको नियन्त्रण र उपचारमा पनि उत्तिकै तयारी गर्न सुझाव दिनुभयो ।

     

    काठमाडौँ विश्वविद्यालयका प्राध्यापक सुवोध शर्माले हाल बनाइका क्वारेन्टाइनमा बस्नेहरुका लागि आधारभूत पूर्वाधार र सुविधा नदेखिएको भन्दै सफा शौचालय, साबुन, पर्याप्त गुणस्तरीय खानेपानी उपलब्ध गराउनुपर्ने बताउनुभयो । साथै उहाँले बजारमा गुणस्तर नभएका स्यानिटाइजर पनि देखिएकाले यसबारेमा अनुगमन गर्नुपर्ने सुझाव दिनुभयो । खानेपानी तथा ढल निकास विभागका महानिर्देशक सुनिलकुमार दासले कोरोना भाइरसलाई साबुन वा स्यानिटाइजरले हात धोएर निस्क्रिय पार्न सकिने भएकाले यसको नियन्त्रणमा खानेपानी र सरसफाइका क्षेत्रमा कार्यरत जनशक्तिको पनि महत्वपूर्ण भूमिका देखिएको बताउनुभयो ।

     

    उहाँले आम जनतालाई गुणस्तरीय पानी उपलब्ध गराउन काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, खानेपानी व्यवस्थापन बोर्ड, खानेपानी तथा ढल निकास विभागले आयोजना हस्तान्तरण गरेका उपभोक्ता समितिको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । स्मार्ट वास सोलुसन्स प्रालिका अध्यक्ष रामदीप साहले स्वास्थ्य र सरसफाइका लागि स्वच्छ र सुरक्षित पानी आवश्यक भएको बताउदै खानेपानी आपूर्तिका लागि धारा काटिएको भए जोड्न पर्ने, विपन्न परिवारका लागि पर्याप्त पानी आउने सार्वजनिक धाराको बन्दोबस्त हुनुपर्ने, पानीको महसुल घटाउनुपर्नेलगायत सुझाव दिनुभयो ।

    वाटर एडका अनिल थमनले कोरोना भाइरसको सङ्क्रमणबाट बच्नका लागि सामाजिक दूरी कायम गर्नुपर्ने भएकाले आफूहरुले स्वचालित हात धुने केन्द्र सञ्चालनमा ल्याउन लागेको जानकारी दिनुभयो ।

     

    पूर्वमन्त्री दीपक ज्ञवालीले मानिसको जीवनसँग प्रत्यक्ष जोडिएको खानेपानीको उपलब्धता र आपूर्तिका सम्बन्धमा नीति निर्माता र सरोकारवालाका बीचमा सार्वजनिक बहस गर्ने मञ्चको अभाव खड्किएको बताउनुभयो । अर्का पूर्वमन्त्री इञ्जिनीयर गणेश साहले सञ्चालन गर्नुभएको सो कार्यक्रममा खानेपानी तथा सरसफाइको क्षेत्रका प्राध्यापक, अनुसन्धान कर्ता र नीति निर्माता, सञ्चारकर्मी, सरकारी तथा गैरसरकारी क्षेत्रमा कार्यरत व्यक्तिहरुको सहभागिता थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार