खाद्य कम्पनीबाट अनलाइनमार्फत ग्राहकलाई सेवा


  • फ्रन्टलाइन नेपाल
  • बुधबार, बैशाख २४, २०७७

  • काठमाडौं, २४ वैशाख । सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले अनलाइनमार्फत चक्रपथभित्रका २१२ ग्राहकलाई सेवा प्रदान गरेको छ । लकडाउनका कारण समस्यामा परेका उपभोक्तालाई ध्यानमा राख्दै कम्पनीले गत चैत २६ देखि यही वैशाख २२ गतेसम्म अनलाइनमार्फत उपभोक्तालाई होम हेलिभरीमार्फत सेवा प्रदान गरेको हो ।

    कम्पनीले दैनिक तीन भ्यानमार्फत खाद्य पदार्थको अनलाइन बिक्रीवितरण गर्दै आएको छ । सोअनुसार १०६ क्विन्टल चामल, ७५५ किलो कर्णालीको सिमी र ३३ किलो दाल बिक्री गरिएको छ ।

     

    कम्पनीका प्रमुख कार्यकारी अधिकृत नेत्रप्रसाद सुवेदीका अनुसार हाल रञ्जित स्टिम, सोना र जापानी चामल, कर्णाली सिमी, केराउ दाना, मुसुरो र रहरको दाल अनलाइनमार्फत बिक्रीवितरण गरिएको छ । अब छिट्टै दुग्ध विकास संस्थानबाट उत्पादित घिउलगायत खाद्य सामग्री पनि बिक्री सूचीमा राखिने जानकारी उहाँले दिए ।

     

    लकडाउन अवधिमा काठमाडौँ उपत्यकाका बिक्री काउन्टर थापाथली, रामशाहपथ, नख्खु, लगनखेल र सूर्यविनायकबाट चार हजार ९२० क्विन्टल चामल, दुई हजार ९५३ किलो सिमी, २३८ किलो फापर र ९६ किलो दाल बिक्री भएको छ ।

     

    सामाजिक तथा व्यापारिक दुवै उद्देश्यका साथ सञ्चालनमा ल्याइएको कम्पनीले आगामी दिनमा आवश्यकतानुसार किसानका उत्पादन खरीद तथा भण्डारण गर्ने तथा दुर्गम जिल्ला र बजारको सम्भावनालाई समेत अध्ययन गरी विभिन्न उपभोग्य सामग्रीका साथै अन्य व्यापारिक वस्तु खरिदबिक्री गर्ने जनाइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार