उदयपुरमा कोभिड अस्पतालको नयाँ भवन निर्माण


  • फ्रन्टलाइन नेपाल
  • बुधबार, कार्तिक १९, २०७७

  • गाईघाट, १९ कात्तिक । आगामी दिनमा कोभिड–१९ सङ्क्रमणको स्थायी रुपमा उपचार सेवा प्रदान गर्नका लागि उदयपुरमा पहिलोपटक रु दुई करोड ६८ लाख लागतमा नयाँ अस्पताल भवन निर्माण गरिएको छ । चौदण्डी नगरपालिकाको सातधारे बेल्टारमा पहिलोपटक उदयपुरका आठ स्थानीय तहको संयुक्त लगानीमा ४० श्यया क्षमता भएको नयाँ अस्पताल भवनको निर्माण गरिएको कोभिड अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तथा चौदण्डी नगरपालिकाका प्रमुख खगेन्द्र राईले बताउनुभयो ।

    उहाँका अनुसार बेल्टारस्थित सातधारे सशस्त्र प्रहरी क्याम्प जङ्गलको सरकारी जग्गाको चार बिघा क्षेत्रफल परिसरमा पहिलोपटक ४० श्ययाको नयाँ कोभिड उपचार अस्पताल भवनको निर्माण भएको हो । नयाँ भवनको निर्माण कार्य अन्तिम चरणमा पुगेको र अब ‘फिनिसिङ’ मात्र बाँकी रहेको तथा यही कात्तिकभित्र बाँकी काम सम्पन्न गरेर मङ्सिरको पहिलो हप्ता औपचारिक उद्घाटन गरेर नयाँ अस्पताल भवनमा कोभिड अस्पताल पुनः सञ्चालन गर्न लागिएको प्रमुख राईले बताउनुभयो ।

    उक्त कोभिड अस्पताल निर्माणका लागि उदयपुरका आठ स्थानीय तहमध्ये कटारी, त्रियुगा, चौदण्डी र बेलका नगरपालिकाले रु १५ लाखका दरले रु ६० लाख बजेट व्यवस्थापन गरेका थिए भने रौतामाई, उदयपुरगढी ताप्ली, लिम्चुङबुङ गाउँपालिकाले रु १० लाखका दरले रु ४० लाख गरेर आठ स्थानीय तहहरुले रु एक करोड बजेट व्यवस्थापन गरेको हो ।

    यस्तै स्वीस सरकारबाट रु एक करोड ५० लाख र उदयपुर क्षेत्र नं १ प्रतिनिधिसभा सदस्य डा नारायण खड्काबाट रु २५ लाख बजेटसहित रु दुई करोड ६८ लाखको बजेटमा नयाँ कोभिड अस्पताल भवनको निर्माण गरिएको कोभिड अस्पताल व्यवस्थापन समितिका अर्का सदस्य तथा त्रियुगा नगरपालिकाका प्रमुख बलदेव चौधरीले बताउनुभयो । नयाँ भवन पुनः सञ्चलान भएपछि एक भेन्टिलेटरसहितको आइसियु सेवासमेत पुनः सञ्चालन गर्ने योजनाका साथ अहिले अस्पताल व्यवस्थापन समितिले काम गरिरहेको पनि चौधरीले बताउनुभयो ।

    आगामी दिनमा जिल्लावासीलगायत नागरिकलाई कोभिडसम्बन्धी जस्तोसुकै सेवा भए पनि नयाँ अस्पताल भवनबाट नै सेवा प्रदान गर्ने लक्ष्यका साथ नयाँ भवन निर्माण गरेर पुनः सञ्चालन गर्न लागिएको व्यवस्थापन समितिका संयोजक राईले बताउनुभयो । नयाँ अस्पताल भवन सञ्चालनका लागि सङ्घीय सरकारबाट समेत जनशक्ति व्यवस्थापनमा सहयोग हुने भएका कारण स्थानीय सरकार र सङ्घीय सरकार मिलेर उच्च स्तरको प्राविधिक जनशक्ति व्यवस्थापनसहित नयाँ कोभिड अस्पताल सञ्चालन गर्न लागिएको सम्बद्ध पदाधिकारी बताउँछन् ।

    अन्यत्र विराटनगर तथा सुनसरीको धरानमा प्राप्त हुने सेवाहरु अब उदयपुरवासीले चौदण्डीको कोभिड अस्पतालबाट नै प्राप्त गर्न सक्नेगरी भौतिक तथा जनशक्ति व्यवस्थापनसहित नयाँ कोभिड अस्पताल भवनको पुनः सञ्चालन गर्न लागिएको पनि सम्बद्ध पदाधिकारीहरुले बताउनुभयो । अहिलेसम्म अस्थायी कोभिड सेवा चौदण्डीको बेल्टारस्थित सशस्त्र प्रहरीको परिसर क्षेत्रमा सञ्चालन गरिरहेको भए पनि अब मङ्सिरदेखि स्थायी रुपमा नयाँ कोभिड भवनबाट उपचार सेवा पुनः सञ्चालन गर्न लागिएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार