हिमाली जिल्लामा चिसो बढ्यो


  • फ्रन्टलाइन नेपाल
  • शनिबार, कार्तिक २२, २०७७

  • खलङ्गा, २२ कात्तिक । जुम्लालगायत हिमाली जिल्लामा चिसो बढेपछि जनवीवन प्रभावित हुन थालेको छ । मौसम फेरिएसँगै एक्कासी तापक्रम घटेको हो । जल तथा मौसम विज्ञान कार्यालय जुम्लाका अनुसार तापक्रम माइनस १ डिग्री झरेको छ । कार्यालयका अनुसार यहाँको अधिकतम तापक्रम भने २० दशमलप १ रहेको छ । चिसो बढेपछि मानिस बाक्लो कपडा लगाउने, न्यानो बनाएर बस्ने तथा तातोपानीको प्रयोग गर्न थालेका छन् । बाक्लो ज्याकेट, बाक्लो कोट, टोपी, तातो जुत्ता र मोजाका साथै घरमा आवश्यक बाक्लो कपडाहरु खरिद गर्नेहरु पनि बढेका छन् ।

    विशेषगरी यहाँका बलबालिका र ज्येष्ठनागरिकमा रुघाखोकी बढ्न थालेको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, शिक्षण अस्पतालका अस्पतालका निर्देशक डा. मङ्गल रावलले रुघाखोकी र श्वास प्रश्वासका बिरामी केही बढेका बताउनुभयो । उहाँका अनुसार अहिले कोरोना पनि भएकाले कोरोना वा रुघाखोकी छुट्टाउन सर्वसाधारणलाई अन्योल भएको छ ।

    मौसम परिर्वतनको समय र कोरोना महामारीसमेत भएकाले यहाँका सर्वसाधारणलाई सचेत रहन आग्रह गरिएको उहाँले बताउनुभयो । न्यानो कपडा लगाउन, तातोपानी खान, भीडभाड नगर्ने तथा व्यक्तिले आफैँ जनस्वास्थ्यको मापदण्ड पालना गरी सुरक्षित हुन दिइएको डा रावलले जानकारी दिनुभयो । एक सातादेखि नै बादल लागि रहेकाले उच्च हिमाली क्षेत्रमा हिउँ पर्न सक्ने अनुमान गरिएको छ ।

    मेशीनरी सामान तथा सवारी साधन पनि चिसोले जाम हुन थालेका छन् । सोलार प्यानलमा तुषारो जम्ने भएपछि टेलिफोन तथा इन्टरनेटमा समेत समस्या शुरु हुन थालेको छ । चिसोले पत्रिका छाप्ने छापाखानामा पनि प्रभावित हुन थालेको कर्णाली सरोकार दैनिकका व्यवस्थापक धर्मसिंह कठायतले बताउनुभयो । यसैगरी चिसो बढेपछि तातोपानीमा नहाउनेको भीडसमेत बढेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार