काठमाडौं, चैत २४ । बलिउड अभिनेता वरुण धवन आफ्ना प्रशंसकहरूसँग मेलजोल गरिरहेका हुन्छन् । मौका पाउनेबित्तिकै उनी प्रशंसकहरूसँग भेटघाट गर्छन् । तर शुक्रवार वरुणकी एक महिला प्रशंसकले उनलाई भेट्न नपाएपछि बेस्सरी हंगामा मच्चाइन् ।
यस विषयमा वरुणका सुरक्षा टोलीले बताए, ‘वरुण सर जहिले पनि प्रशंसकहरूलाई भेट्छन् । तर केही दिनयता उनी फिल्मको प्रमोसनमा व्यस्त छन् । त्यसैले उनले भेट्न नमानेका हुन् । हामीले ती फ्यानलाई यही कुरा भन्दा उनले मानिनन् । पहिला त उनले आफैंलाई घात गर्ने बताइन् । त्यसमा कुनै मतलब नगर्दा उनले नताशा म्यामलाई मार्ने धम्की दिइन् ।’
सुरक्षा टोलीले उनलाई हटाएपछि पनि उनले लगातार नताशालाई मार्ने धम्की दिइरहिन् ।
घटनाको गम्भीरतालाई हेरेर सान्ताक्रूज प्रहरी चौकीमा महिलाविरुद्ध उजुरी दर्ता गराइएको छ । तर वरुणका तर्फबाट बयान नआउन्जेलसम्म एफआईआर दर्ता हुँदैन ।
एजेन्सी