भक्तपुर । १८ चैत । भक्तपुरका ६२ वटा इँटाभट्टामा काम गर्ने १९ हजार मजदूरलाई घर फर्काइएको छ । कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन सरकारले जारी गरेको लकडाउनको अवज्ञा गर्दै भक्तपुरका इँटाभट्टामा हजारौँ मजदूर काममा भन्ने समाचार गत १३ गते राससले सम्प्रेषण गरेपछि जिल्ला प्रशासन कार्यालय भक्तपुरको ताकेतामा इँटा व्यवसायीले कामदारलाई घर फर्काएका हुन् ।
कोभिड–१९ को सङ्क्रमण नेपालमा भेटिएपछि सरकारले विगत २५ गतेसम्मका लागि देशभर लकडाउन गरेको छ । लकडाउनमा पनि इँटाभट्टामा कामदार रहँदा बजार जाने, दिनभरि पसल सञ्चालन हुने र सधैँ बाक्लो जमघट भएकाले कोरोनामा जोखिममा मजदूर रहेका थिए ।
भक्तपुरका प्रजिअ होमकला पाण्डेले मजदूर घर फर्कन चाहेपछि व्यवसायीले उनीहरुलाई घर फर्काउने व्यवस्था गरेको जानकारी दिनुभयो । उहाँले घरजान चाहने मजदूरका लागि ५२ वटा सवारी पास जारी गरेको र त्यही सवारी साधनमा व्यवसायीले उनीहरुलाई घर फर्काएको जानकारी दिनुभयो । बाँकी केही मजदूरलाई पनि व्यवसायीले केही दिनमा फर्काउने जानकारी दिनुभयो ।
भक्तपुर इँटा व्यवसायी सङ्घका अध्यक्ष नातीभाइ ह्याम्बाले विगत १३ दिनदेखि काचो इँटा बनाउने काम बन्द गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “भक्तपुरको इँटाभट्टामा काम गर्र्न १९ हजार मजदूरलाई घर पु¥याएका छौँ, इँटा बोक्ने केही मजदूर बाँकी छन् उनीहरुलाई पनि पठाउने व्यवस्था गर्दैछौँ, भारतका केही मजदूर छन्, उनीहरुलाई कसरी पठाउने भनेर छलफल भइरहेको छ, केही भक्तपुरमै भाडामा बस्ने, बच्चा यहीँ पढाउनेहरु बाँकी छन्, उनीहरु यतै बस्छु भनेका छन् ।”
जेठको तेस्रो साता घर फर्कंदा हातभरि पैसा बोकेर खुशी हँुदै फर्कने मजदूर अहिले भने रित्तै हात घर फर्किएका छन् । “विगतका वर्षमा घर फर्कंदा मजदूर सबै हिसाब सकेर हातमा लाखौँ बोकेर खुशी हँुदै जान्थे, यस वर्ष कोरोनाका कारण सिडिओ साहेबले छिटो पठाऊ भन्नुभयो, लकडाउनले बैंक पनि खुलेनन्,” अध्यक्ष ह्याम्बाले भन्नुभयो, “गाउँ फर्कने मजदूरलाई रित्तै हात फर्काउँदा हामीलाई नमज्जा लागेको छ, शुरुमै घर पुगेका मजदूरले गाउँमा भोकै भयौँ पैसा पठाइदेऊ भन्छन्, बैंक नखुल्दा पैसा पनि पठाउन पाएनाँै ।”
लक डाउनले भारतबाट आयात हुने कोइला आउन छाडेको र मजदूर पनि गएपछि इँटाभट्टा बन्द हुन थालेका छन् । मजदूर घर फर्किएपछि खलभरि लाखौँ काँचो इँटा असरल्ल छ, यसलाई चाङ लगाएर व्यवस्थित गरे अर्को साल शुरुमै इँटा पोल्न सकिने भएपछि मजदूर नहँुदा खेतमा इँटा बिग्रिने अवस्थामा पुगेको छ ।
अध्यक्ष ह्याम्बा भन्नुहुन्छ, “हजारौँ रोपनी खेतमा काँचो इँटा छन्, त्यसलाई व्यवस्थापन गरेर जग्गा खाली गरी किसानलाई धान रोप्न दिनुपर्छ, नत्र किसानलाई क्षतिपूर्ति दिनुपर्छ, हामीले एकातिर इँटा उत्पादन कम भएर, अर्कोतर्फ काँचो इँटा बिग्रिएर र फेरि किसानलाई क्षतिपूर्ति दिनुप¥यो भने यो तेहोरो नोक्सान कसरी व्यहोर्नु ?” व्यवसायीको मर्का कसैले नबुझेको गुनासो गर्दै उहाँले हरेक वर्ष काम गर्न आउने मजदूरको चिन्ता व्यवसायीलाई बढी नै हुने बताउनुहुन्छ ।