निर्मलीकरणपछि विद्युतीय शवदाह गृह सञ्चालन गरिंदै


  • फ्रन्टलाइन नेपाल
  • शनिबार, जेष्ठ १७, २०७७

  • काठमाडौं, १७ जेठ । पशुपतिस्थित विद्युतीय शवदाह गृह आज दिउँसोदेखि सञ्चालनमा ल्याउने तयारी भएको छ । कोरोना भाइरसबाट सङ्क्रमित भई निधन भएका ललितपुर बुङ्मतीका पुरुषको गत बिहीबार शवदाह गरेपछि बन्द गरिएको शवदाह गृहलाई निर्मलीकरण गरी आज दिउँसोदेखि सञ्चालनमा ल्याउने तयारी गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

    कोरोना सङ्क्रमित भई निधन भएका पाँचौँ व्यक्ति बुङ्मतीका पुरुषको शवदाह गरिएपछि ३६ घण्टाभन्दा बढी निर्मलीकरण गरेर आज दिउँसो १ बजेदेखि सञ्चालनमा ल्याउने तयारी भएको पशुपति क्षेत्र विकास कोषका निर्देशक राजु रेग्मीले राससलाई जानकारी दिनुभयो । शवदाहमा संलग्न दुई कर्मचारीलाई शवदाह गृहमै क्वारेन्टिनमा राखी दुईपटक आरडिटी परीक्षण गर्दासमेत प्रतिवेदन नेगेटिभ आएको उहाँले बताउनुभयो । दुवै कर्मचारीलाई आज बिहान क्रियापुत्री घरको क्वारेन्टिनमा राखी विद्युतीय शवदाह गृहलाई पुनः निर्मलीकरण गरेपछि सञ्चालनमा ल्याइनेछ ।

    शवदाहमा संलग्न कर्मचारीको सातौँ दिन पिसीआर विधिबाट पुनः परीक्षण गरिने कोषले जनाएको छ । हाल पशुपति क्षेत्रस्थित क्रियापुत्री घर पनि सञ्चालनमा रहेको छ । क्रियापुत्री घरका पाँच कोठा भने क्वारेन्टिनका लागि राखिएको छ । पशुपतिमा क्रियापुत्री सेवाका लागि ४२ कोठा उपलब्ध छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार