शव परीक्षण गर्न समस्या


  • फ्रन्टलाइन नेपाल
  • सोमवार, पुस २७, २०७७

  • म्याग्दी, २७ पुस । बेनी अस्पतालले म्याग्दीको सदरमुकाम बेनीसँगै सिमाना जोडिएको पर्वतको जलजला गाउँपालिकामा पर्ने मल्लाज क्षेत्रको शव परीक्षण गर्न छाडेपछि चिन्ता थपिएको छ । दुर्घटना, विपद् र आत्महत्याका कारण ज्यान गुमाएकोको शव नजिकैको बेनी अस्प्तालले परीक्षण गर्न नमानेपछि कुश्मा लैजाँदा सास्ती, झन्झट र दुःख भएको छ । गत बिहीबार म्याग्दी बेनीसँगैको पर्वत बेनीमा बस्ने २३ वर्षीया युवतीले आत्महत्या गरिन् । साँझ करिब ८ बजे पर्वत बेनीबाट बेनी अस्पताल ल्याइएको शव परीक्षणका लागि दुई घण्टासम्म गाडीमै राखियो ।

    अस्पतालका चिकित्सकले बेजिल्लाको शव परीक्षण नगर्ने अडान लिएपछि अन्ततः राति १० बजे गाडी खोजेर कुश्मास्थित पर्वत अस्पतालमा पठाइएको थियो । आर्थिकरूपमा बिपन्न ती युवतीका आफन्तहरुले कुश्मामा परीक्षण गराएपछि शुक्रबार वारि बेनीस्थित कालीगण्डकी किनारको घाटमा दाहसंस्कार गरेका थिए । पछिल्लो समय सिमाना जोडिएको बेनी अस्पतालले जलजलाको शव परीक्षण गर्न नमानेपछि मृतकका परिवार र आफन्तलाई पीडामाथि पीडा भएको वारि बेनीका दिलीप बरुवालले बताउनुभयो । “बेनीमै शव परीक्षण गर्दा नजिकै भएकाले सबैलाई सजिलो भएको थियो”, उहाँले भन्नुभयो, “शव बोकेर कुश्मा पुर्याउँदा धेरै सास्ती र दुःख भएको छ ।” शव बोक्ने गाडी नपाउने र बढी भाडा तिर्नुपर्ने समस्या छ ।

    जलजला गाउँपालिकाको १, २, ३, ४, ५ नम्बर वडामा पर्ने बाँसखर्क, मल्लाज र लेकफाँटका बासिन्दालाई कुश्मास्थित पर्वत अस्पतालभन्दा म्याग्दीको बेनी अस्पताल नजिक पर्छ । फरक जिल्ला भए पनि मल्लाज र बेनीको व्यापारिक, आर्थिक, सामाजिक सम्बन्ध एकै जिल्ला सरहको छ । वार्षिक १० वटाको हाराहारीमा मल्लाज क्षेत्रका शव परीक्षणका लागि बेनी अस्पतालमा ल्याउने गरेका छन् । दुर्घटना, विपद् र आत्महत्याका कारण ज्यान गएकाको कानूनी प्रक्रिया पूरा गर्नका लागि शवको परीक्षण गर्नुपर्ने नियम छ । शवको परीक्षण जस्तो मानवीय संवेदना जोडिएको विषयमा बेनी अस्पतालले बेजिल्लाको बहानामा विभेद गर्न थालेको जलजलाका बासिन्दाहरुले गुनासो गरेका छन् । बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले अव्यावहारिक कानूनी प्रक्रियाका कारण बेजिल्लाको शव परीक्षण गर्न चिकित्सक पछि हटेको बताउनुभयो ।

    “सजिलो र छिटो सुविधा होस् भनेर बेजिल्ला भए पनि मल्लाज क्षेत्रको शव बेनी अस्पतालमै परीक्षण हुन्थ्यो”, उहाँले भन्नुभयो, “बेजिल्लाको अदालतमा वयान दिन जान झन्झट हुने र भ्रमण खर्च नपाउने भएकाले पछि हटेका हुन् ।” जलजला गाउँकार्यपालिकाका प्रवक्तासमेत रहनुभएका वडा नं ३ का अध्यक्ष देविन्द्र भण्डारी (रवि)ले बेनी अस्पतालले शव परीक्षण गर्न नमानेपछि नागरिकले दुःख र सास्ती पाएको गुनासो बढेको बताउनुभयो । जिल्ला प्रशासन कार्यालयमार्फत समस्या समाधान गर्न पहल गरिएको उहाँले बताउनुभयो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा अपडेट