
काठमाडौं, १७ चैत । ग्रिनहुड नेपालले सुनाखरी संरक्षणमा काम थालेको छ । आकर्षक फुल फुल्ने र औषधीय गुण भएको सुनाखरी सबैभन्दा धेरै विक्री वितरण हुने वनस्पतिमा पर्दछ । आज विभिन्न सरोकारवालाहरुबीच काठमाण्डौंको बानेश्वरस्थित एभरेष्ट होटलमा एक कार्यशाला सम्पन्न भएको छ । ग्रिनहुड नेपालले ल्यान्क्यास्टर विश्वविद्यालय, अक्स्फोर्ड विश्वविद्यालय, हवाई विश्वविद्यालय, आइयुसियन अर्किड स्पेसलिस्ट ग्रुपसँगको सहकार्यमा संरक्षणको काम थालेको हो ।
यस अध्ययन कार्यमा बेलायत सरकारले आर्थिक सहयोग प्रदान गर्ने ग्रिनहुड नेपालले बताएको छ । सुनाखरीको नेपालबाट हुने कानुनि र गैह्रकानुनि व्यापार आँकलन र दिगो संकलन सम्भाव्यताबारे अध्ययन सुरु गरेको छ । यस अध्ययनमा ल्यान्क्यास्टर विश्वविद्यालयबाट डाक्टर ज्याकोब फ्लेब्स, अक्स्फोर्ड विश्वविद्यालयबाट डाक्टर यमी हिन्सले, हवाई विश्वविद्यालयबाट प्रोफेसर तामरा टिकटिनले प्राविधिक सहयोग गर्नेछन् ।
सुनाखरी संरक्षण र यसका चुनौती र सम्भावनाबारे वृहत छलफल गरि यस प्रजातिलाई प्राथमिकतामा राखेर अगाडी बढ्नुपर्ने कुरामा सरोकारवालाले जोड दिएका थिए ।
उक्त कार्यशालामा अनुसन्धानकर्मी, जडिबुटी व्यापारी, सरकारी अधिकारिको उपस्थिति रहेको थियो ।