मनकामना स्मार्ट लघुवित्तको आईपिओमा आज बिहानसम्ममा ३६ गुणा बढीको आवेदन


  • फ्रन्टलाइन नेपाल
  • शुक्रबार, असार १८, २०७८

  • मनकामना स्मार्ट लघुवित्तले निष्काशन गरेको आईपिओमा शुक्रबार बिहान सम्म ३६ गुणा बढीको आवेदन परेको छ । कम्पनीको आईपिओमा आज शुक्रबार बिहान १०:३० बजेसम्म ९ लाख ९६ हजार ३ सय ३८ जना आवेदकबाट १ करोड ३३ लाख ४७ हजार २ सय २० कित्ताको लागि आवेदन परेको हो । यो माग भन्दा ३६.७१ गुणा बढी हो ।

    कम्पनीले असार १७ गतेदेखि आईपिओ बिक्रि खुला गरेको हो । कम्पनीले ३ करोड ८९ लाख बराबरको ३ लाख ८९ हजार कित्ता शेयर निष्काशन गरेको हो । जस मध्ये ६ हजार ५८ कित्ता कम्पनीका कर्मचारीलाई र १९ हजार ४ सय ५० कित्ता शेयर सामुहिक लगानी कोषलाई छुट्याईएको छ । बाँकि रहेको ३ लाख ६३ हजार ४ सय ९२ कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १००० कित्ताको लागि आवेदन दिन सकिने छ ।

    शेयर कम्पनीको बिक्रि प्रबन्धक एनएमबि क्यापिटल रहेको छ । कम्पनीको आईपिओमा असार २१ गतेसम्म आवेदन दिन सकिने छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई असार ६ गते आइतवार आईपिओ निष्काशनको लागि अनुमति दिएको हो । कम्पनीले फागुन १४ मा शेयर निष्काशन अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो । मनकामना स्मार्ट लघुवित्तले डबल बि माइनस (BB-) को इस्युअर रेटिङ पाएको छ । इक्रा नेपालले कम्पनीलाई डबल बि माइनसको इस्युअर रेटिङ प्रदान गरेको हो । यसले पनि मध्यम जोखिम जनाउछ ।

    इक्राले कम्पनीहरुलाई ८ तहमा इस्युअर रेटिङ प्रदान गर्छ । जसमा AAA सबैभन्दा उत्तम रेटिङ हो भने D सबैभन्दा कमजोर रेटिङ हो । जसमा ट्रिपल बि चौथो उत्तम रेटिङ हो । यस्तै डबल बि पाचौ उत्तम रेटिङ हो । रेटिङमा प्रयोग हुने प्लस र माइनसले रेटिङको तुलनात्मक स्थिति अथवा मजबुतीलाई संकेत गर्छ । इस्युअर रेटिङ आईपिओ , हकप्रद वा एफपिओको नभई समग्र कम्पनी कै रेटिङ हो । यसले कम्पनीको समग्र अवस्था बताउछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा अपडेट