रोशन दाहाल लामो समयदेखि लेखन र अनुबाद कर्ममा संलग्न छन् । उनका झण्डै एक दर्जन पुस्तकहरु बजारमा आईसकेका छन् । बुद्ध दर्शन, गौतम बुद्ध, दलाई लामा, चाणक्य जस्ता उनले अनुबाद गरेका पुस्तकहरु रुचाइएका पुस्तकभित्र पर्छन् । दाहालसँग गरिएको लेखक वार्ता :
तपाईंले प्राय: चर्चित व्यक्तिहरुका जीवनी लेख्नुभएको छ । जीवनी लेख्नमा किन रुचि राख्नुहुन्छ ?
मेरा उपन्यास, दर्शनलगायतका पुस्तकहरु पनि छन् तर धेरैजसो जीवनी छन् । यसको कारण छ, पहिला-पहिला म उपन्यासहरु निकै पढ्थें । यसबाट मेरो पढ्ने बानी बन्यो । पढ्ने बानी परिसकेपछि उपन्यासले मात्रै चित्त नबुझ्दो रहेछ । त्यसैले पढ्नका लागि अन्य पुस्तकहरु खोजें । जस्तै– सफल मानिसहरुका जीवनी । ती मलाई अति प्रेरणात्मक लागे । ती पुस्तकमा सिक्ने र सिकाउने कुरा धेरै हुन्छन् । मैले नेपाली भाषामा लेखिएका जीवनीहरु पनि खोजें । खासै भेटिनं । भेटिएका पनि चित्त बुझेन । आम मानिसलाई यस्ता पुस्तकहरु पढाउन सकियो भने ममा जस्तै उनीहरुमा पनि सकारात्मक परिवर्तन आउला भन्ने लाग्यो । त्यसैको फलस्वरुप मैले जीवनी लेख्न थालेको हुँ । झण्डै १० वर्ष भयो लेख्न थालेको ।
जीवनी पढ्नुको फाइदा के रहेछ ?
जीवनी पढ्दा मानिसको पूरै जीवन बुझ्न सकिन्छ । उनीहरुले सामान्य अवस्था पार गरेर कसरी संसारमा उदाहरणीय कार्य गर्न सके भनेर प्रेरणा लिन सकिन्छ । यस्ता कुराहरुले अवचेतन मनमा नजानिदो तरिकाले प्रभाव पारिरहेका हुन्छन् । जसले गर्दा जीवनमा कुनै गाह्रो अवस्था आइपर्दा सम्हालिन सजिलो हुन्छ ।
संसारमा प्रख्यात व्यक्तिका जीवनीलाई पुस्तकको रुप त दिनुभयो । तपाईं आफू भने कसको जीवनीबाट बढी प्रभावित हुनुभएको छ ?
हुन त भौतिक सफलता प्राप्त गरेका व्यक्तिहरुबाट पनि एक हदसम्म प्रभावित छु । जस्तै – स्टेफिन हकिङ, हेनरी फोर्ड, स्टिब जब्स । तर उनीहरुलाई पढिसक्दा पनि मनमा सन्तुष्टि नै मिल्दैन । उनीहरु पनि सधैं अपूर्ण नै थिएजस्तो लाग्छ । जब म श्रीकृष्ण, गौतम बुद्ध, कबीर, लाओत्से, जलालुद्दीन रुमीजस्ता व्यक्तिहरुलाई पढ्छु, अत्यन्तै आत्मसन्तुष्टि प्राप्त हुन्छ । नजानिदो तरिकाले उनीहरुतर्फै खिचिइरहेको छु जस्तो लाग्छ । अहिले त म उनीहरुको दर्शनले भन्न खोजेको कुरामा भिन्नतै देख्दिन । शाब्दिक भिन्नता होला, भन्न खोजेको कुरा भने एउटै हो ।
एउटै हो भनेर कसरी भन्न सक्नुहुन्छ ?
जस्तै गौतम बुद्धले भनेका छन्– जीवनमा जे अवस्था चलिरहेको छ, त्यसलाई सहज रुपमा लिंदै होशपूर्वक निरन्तर ध्यान दिइरहने । होश कहिल्यै पनि नटुटोस् । यस्तो गर्न सके भित्र दबिएको संस्कार निस्केर जान्छ र मानव आफ्नो उच्चत्तम विकसित अवस्थासम्म पुग्न सक्छ । अन्य सबै सही आध्यात्मिक गुरुहरुको कुरै यही हो । कसैले यही अवस्थालाई वर्तमानमा टिकिरहनु भन्छन्, कसैले साक्षीभाव भन्छन्, कसैले जागरुकता भन्छन्, जे भने पनि कुरो एउटै हो । श्रीकृष्णले भनेको निचोड पनि यही नै हो । उनीहरु सबै मानिसलाई आफूजस्तै बनाउन चाहन्छन् ।
बुद्ध, श्रीकृष्ण आदिलाई त भगवान् नै मानिन्छ होइन र ? मानिस भगवान् कसरी बन्न सक्छ ?
हो, हामीले यस्ता कतिपय गुरुहरुलाई भगवान् मानेर पूजा गर्छौं । उनीहरुलाई भगवान् मान्नमा कुनै आपति छैन यदि पूरै विश्वास गर्न सकिन्छ भने । भक्तिभावबाट बढ्दा पनि त्यही होशको अवस्थामा निरन्तर टिक्ने अवस्थामा पुगिन्छ । तर भगवानको अवधारणाले विशेषगरी युवाहरुलाई अध्यात्ममा बाधा उत्पन्न गरेको छ । युवाहरु तर्कशील हुन्छन् । जबकि भगवान्मा तर्क हुँदैन, विश्वास हुन्छ । विश्वास जबर्जस्ती गर्न सकिदैन । त्यसैले मलाई लाग्छ, श्रीकृष्ण, बुद्धजस्ता गुरुहरुलाई भगवान होइन, मनोचिकित्सक मान्नुपर्छ ।
त्यही भएर आध्यात्मिक व्यक्तिहरुका जीवनी धेरै लेख्नुभएको हो ?
हजुर, हो । मलाई लाग्छ, अध्यात्म नेपालको मौलिक विद्या हो । यदि यसैमा टेकेर अगाडि बढ्ने हो भने नेपालले धेरै प्रगति गर्न सक्छ । हामी नेपालीहरुभित्र अध्यात्मले गहिरोसँग स्थान जमाएर बसेको छ ।
अध्यात्ममा लागेका मानिसले भौतिक प्रगति गर्न सक्दैन भनिन्छ नि त ? अनि कसरी नेपालले प्रगति गर्न सक्छ ?
यही कुरा मैले बारम्बार बुझाउने प्रयास गर्ने गरेको छु । यदि कसैले अध्यात्म भौतिक विकासमा बाधा भन्छ भने उसले अध्यात्म बुझेकै छैन । बरु अध्यात्मको विकास भयो भने सहज भौतिक विकास हुन्छ । सामान्य उदाहरणबाट यसलाई बुझ्न सकिन्छ– अध्यात्ममा लागेका मानिसको मन एकाग्र हुन्छ । हरेक काम उसले डुबेर गर्न सक्छ । डुबेर गरेको काममा त्यत्तिकै पनि सफलता प्राप्त भइहाल्छ नि । अर्को कुरा मन कम चलेको बेलामा सिर्जनशील विचारहरु आउछन् । संसारमा सफल भएका मानिसहरुले पनि उनीहरुलाई नुहाउने बेलामा, दौडिरहेको बेलामा, सुतिरहदा या यस्तै कुनै अवस्थामा सीर्जनशील विचार फुरेको बताउने गरेका छन् । त्यही विचारलाई टेकेर उनीहरुले काम गरे र चर्चामा आए । ध्यानको अभ्यास गर्ने मानिसमा यस्ता सिर्जनशील विचार आउने मौका बढी हुन्छ ।
अझै पनि धेरै मानिसलाई बिहान खाएपछि बेलुका के खाउँ भन्ने अवस्था छ । पढेकाहरुले आर्थिक सुरक्षा बाटो पाइरहेका छैनन् । यस्तो अवस्थामा आफ्नो गुजारा गर्नतिर लाग्न छाडेर अध्यात्ममा ध्यान दिन कसरी सकिन्छ ?
यही बुझाइलाई त फेर्नुपर्ने अवस्था छ । जीवन र जीवनमा आइपर्ने परिस्थिति फरक कुरा हुन् । परिस्थिति जस्तो पनि हुन सक्छ । हाम्रो जस्तो देशमा भौतिक सफलताका लागि धेरै सङ्घर्ष गरिरहनु पर्ने बाध्यता छ । धेरैले बूढेसकालसम्म काम गरिरहदा पनि आर्थिक स्वतन्त्रता प्राप्त गर्न सकेका हुदैनन् । तर यी सबै परिस्थितिमा पनि अध्यात्मको अभ्यास निरन्तर गरिरहन सकिन्छ । जीवन र परिस्थितिको बीचमा फरक छुट्याउन सकिएन भने जीवन सधैं अन्धकार रहन्छ ।
जस्तोसुकै परिस्थिति आइपर्दा पनि जीवनलाई बुझ्ने कुनै उपाय छ भने बताइदिनुहोस् न ?
छ, हरेक अवस्थालाई तटस्थ भएर हेरिरहने । कुनै भावले दु:ख दिइरहेको छ या सुख दिइरहेको छ भने पनि त्यसलाई चुपचाप हेरिरहने । कुनै प्रतिक्रिया नदिने । प्रतिक्रिया दियो भने त्यो भाव झनै बढ्छ र अन्तिममा मानसिक हुंदै शारीरिक दु:खमा परिणत हुन्छ । यदि यसरी शारीरिक समस्या उत्पन्न भएको छ भने कुनै डाक्टरले पनि समस्याको कारण पत्ता लगाउन सक्दैन किनभने समस्या शरीरबाट सबै गुरुहरुले सिकाएकै यही कुरा हो ।
अब अलिकति प्रसंग बदलौं, तपाईं आफूलाई के भनेर चिनाउन चाहनुहुन्छ ? अनुवादक कि लेखक ?
दुबै । तर लेख्नभन्दा अनुवाद गर्न गार्हो हुन्छ । मलाई अनुभव छ, मैले ‘मेरो कांचुली’ उपन्यास लेख्दा स्वतन्त्र भएर लेखेको थिएं । चित्त नबुझेका कुरा हटाउन सकिन्थ्यो । तर अनुवादमा त्यस्तो हुंदैन । अनुवाद गरिरहेको किताबको भाव मर्न दिनु भएन । त्यसमा आफ्ना कुरा थप्न पनि पाइएन । त्यसैले मलाई अरुले अनुवादक भने भने गर्व लाग्छ ।
अनुवाद गरिएका कृतिको बजार कस्तो छ ?
राम्रो छ । सुरुसुरुमा अनुवाद गर्ने होड चलेको थियो । जसले जस्तो पनि अनुवाद गर्थे । कतिपय अनुवाद त पढ्न लायकै हुंदैन थियो । यही कारणले अनुवादप्रति केही पाठकको धारणा अझै राम्रो बनिनसकेको हो कि जस्तो लाग्छ । तर अहिले अवस्था सुध्रिंदै छ । अलिकति छानेर किन्ने हो भने अनुवाद कृतिहरु राम्रा पनि भेटिन थालेका छन् । अनुवाद प्राय: चर्चित र राम्रा पुस्तकहरुको गरिने भएकाले यसको बजार राम्रो हुनु स्वभाविकै हो ।
अनि जीवनीको बजार नि ?
जीवनीको बजार पनि राम्रो छ । यस्ता पुस्तकहरु सधैं खोजी भइरहन्छन् । उपन्यास, कविता, कथाका पुस्तकहरुजस्तो एकपटक आएर सेलाइहाल्दैनन् । अथवा भनौं, यस्ता पुस्तक बासी हुंदैनन् । विज्ञापनबिना पनि एकनासले चलिरहन्छन् । जस्तै मेरा हरेक पुस्तक दोस्रो संस्करण छापिइसकेका छन् । कतिपय त पांचौं संस्करण आइसकेका छन् ।
एउटा पुस्तक अनुवाद गर्न र जीवनी लेख्न कति समय लगाउनुहुन्छ ?
त्यो त पुस्तक हेरेर हुन्छ । एउटा राम्रो पुस्तक सरासर काम गर्ने हो भने त्यस्तै दुई महिनामा सकिन्छ । जीवनी पनि त्यही हो । तर जीवनी लेख्नका लागि बढी अध्ययन गर्नुपर्छ । जसको जीवनी लेख्ने हो, ऊसँग सम्बन्धित सबै पुस्तकहरु पढ्नुपर्छ ।
अरुलाई कुन पुस्तक पढ्न सिफारिस गर्नुहुन्छ ?
सुरुमा त ‘गीता’ जस्तो राम्रो पुस्तक अरु छन् जस्तो लाग्दैन । यदि शास्त्रहरुसँग सम्बन्धित भन्दा बाहिरका पुस्तक भन्ने हो भने मैले एक्हार्ट टोलको ‘द पावर अफ नाउ’ लाई सधैं एक नम्बरमा राख्ने गरेको छु । यसबाहेक टी हार्ब एकरको ‘द सेक्रेट अफ द मिलिनेयर माइण्ड’ लगायत मन पर्ने थुप्रै पुस्तकहरु छन् । सरुभक्तको पागल बस्ती पनि मनलाई मन पर्ने पुस्तक हो ।
तपाईका प्रिय लेखकहरु ?
ठ्याक्कै यही प्रिय लेखक भन्ने त छैन । एउटै लेखकका पनि कुनै पुस्तक मन पर्छन् कुनै मन पर्दैनन् । लेखनका हिसाबले अमर न्यौपाने मन पर्छ । अरुण कुमार शर्माका प्राय: पुस्तकहरु मन पर्ने भएकाले उनी पनि मन पर्छ । पछिल्लो समय म अनुपम पोखरेलको लेखाइबाट पनि प्रभावित छु । उनको सन्तत्वको सुगन्ध नामक पुस्तक मलाई मन परेको छ ।
अब तपाईंको कुन पुस्तक आउँदैछ ?
अहिले दुई वटा उपन्यास ल्याउने तयारी गर्दैछु । एउटा पूरा गरिसकें । अर्को पनि अलिकति लेखेको छु ।
कस्तो विषयमा लेख्दै हुनुहुन्छ ?
मैले लेख्न अध्यात्मकै विषयमा त हो नि । अरु त मलाई लेख्दै आउँदैन । भौतिक र आध्यात्मिक जीवनलाई जोडेर लेखेको छु ।
अन्त्यमा, के भन्न चाहनुहुन्छ ?
जेहोस्, पाठकहरुले मेरा पुस्तकहरु रुचिपूर्वक पढिदिनुभएको छ । पछिल्लो समय चार वेदको सार निकै राम्रोसँग बिक्री भइरहेको छ । खुशी लाग्छ । यो माया कम नहोस् । मेरा कुराहरु फ्रन्टलाइन नेपालमा राख्ने मौका दिनुभयो, हजुरलाई पनि धन्यवाद ।